निगमको २८० सिटे वाइड बडी जहाज बिहीबार आइपुग्दै

निगमको २८० सिटे वाइड बडी जहाज बिहीबार आइपुग्दै

काठमाडौं, असार १२ । नेपाल वायु सेवा निगमले एयर बस कम्पनीको २८० सिट क्षमताको वाइड बडी ए ३३० जहाज बिहीबार काठमाडौँ ल्याइर्पुयाउने भएको छ । मंगलबार निगमका महाप्रबन्धक सुगतरत्न कंसकारसहितको तीन सदस्यीय टोली मंगलबार ३३०–२०० सिरिजको वाइड बडी जहाज लिन युरोपतर्फ प्रस्थान गरेको छ ।

कंस्कारसहित एकजना इन्जिनियर र अर्का कानुन विज्ञ मंगलबार फ्रान्सका लागि उडेका हुन् । यो वाइड बडी नेपालको आफ्नै सबैभन्दा ठुलो जहाज हुनेछ । जहाज ल्याउने प्रक्रियाका लागि यसअघि नै नागरिक उड्ययन प्राधिकरणका तीनजना प्राविधिक फ्रान्सको टुसुल सहरस्थित एयरबस कम्पनीमा पुगिसकेका छन् ।

बिहीबार बिहान ८ बजेर २० मिनेटमा काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गराउने भएको छ । यो वाइड बडी जहाजमा ८ वटा बिजनेस क्लास र २७२ इकोनोमी क्लास सिट रहेका छन् । पहिलो वाइड बडी ल्याएको एक महिनापछि अर्को वाइड बडी पनि काठमाडौँ आइपुग्ने नेपाल वायु सेवा निगमले जानकारी दिएको छ ।

बिहीबार काठमाडौँमा अवतरण भएको एक महिनापछि यो जहाजले दुबईमा पहिलो व्यवसायिक उडान थाल्नेछ । नेपाल वायु सेवा निगमले यी दुई वाइड बडी जहाज किन्नका लागि करिब २२ अर्ब रुपैयाँ खर्च गरेको छ ।

त्यसका लागि निगमले साढे १२ अर्ब रुपैयाँ कर्मचारी सञ्चयक कोष र अर्को साढे १२ अर्ब रुपैयाँ नागरिक लगानी कोषबाट ऋण लिएको छ । वायु सेवा निगमको यो वाइड बडी आएपछि चारवटा चारवटा ठुला जहाज हुनेछन् । निगमसँग अहिले एयर बस दुईवटा र बोइङ ७५७ एउटा जहाज रहेको छ ।

दुइटै वाइड बडी आइसकेपछि निगमले बोइङलाई बेच्ने तयारी गरेको छ । निगमले अर्को बोइङ यसअघि नै बेचिसकेको छ । निगमले अरु दुईवटा एयरबस खरिदका नेपाल वायु सेवा निगम सञ्चालक समितिबाट निर्णय गराइसकेको छ । निगमले आन्तरिक उडानका लागि ६ वटा ट्विनअट्टर जहाज खरिद प्रक्रिया सुरु गरिसकेको छ ।