काठमाडौं, असार ५ । प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरु मकवानपुरको हेटौडामा जम्मा भएका छन् । लामो बहस र विवाद पार्टीमा रहिराखेको अवस्थामा यो भेलाले पार्टी आन्तरिक जीवनमा पुनर्ताजकीकरण ल्याउने विश्वास गरिएको छ । यो भेलाले पार्टीको आन्तरिक विधान संशोधन, आगामी महाधिवेशनको तय, पार्टी सङ्गठन निर्माणबारे छलफल र आगामी कामको बारेमा पार्टी केन्द्रलाई सुझाव दिने अपेक्षा गरिएको छ ।
मंगलवारदेखि तीनदिनसम्म चल्ने यो भेलाले पार्टीभित्र रहेका गुटउपगुटबीच व्यापक विचारविमर्श चलाई नयाँ एकतामा ल्याउने अपेक्षा पनि गरिएको बताइन्छ । पार्टीभित्रको आन्तरिक किचलोका कारण काङ्ग्रेसले प्रतिपक्षको भूमिका पनि राम्रोसँग निर्वाह गर्न नसकेको जनगुनासो आइरहँदा जिल्ला सभापतिहरुको यो भेला भइरहेको छ । भनिन्छ, यो भेलालाई अवसरका रुपमा प्रयोग गरेर कांग्रेसले सही निर्णय गरी सापेक्ष पार्टी एकता कायम गर्न सकेमा उसका आगामी दिनहरु जनअपेक्षित हुन जाने छन् ।
यो भेलामा सार्वजनिक रुपमा नै उठेका र उठाइएका पार्टी सभापति देउवाका आलोचना तथा टीकाटिप्पणी उठाइने पनि छन् । तर त्यसलाई टुङ्गो लगाउनतिर काङ्ग्रेस लाग्छ वा गुट समाउन र एकले अर्कालाई पछार्न उपयोग गर्नतिर । यो उक्त पार्टीको आन्तरिक जीवन र उसका आगामी कामकार्वाहीसँग प्रत्यक्ष रुपमा जोडिएर आएका छन् ।
पार्टीभित्र रहेको देउवा र पौडेलपक्षबीच विवाद देखिने र उक्त विवाद समाधान गर्न मुस्किल पर्ने भएपछि पार्टी केन्द्रले सवै सभापतिहरुलाई गृहकार्यका सबै विषयवस्तुहरु तोकेर भेलामा आउनुपूर्व नै सर्कुलर पठाइ सकेको बताइएको छ । उक्त सर्कुलरमा विधान संशोधन, संगठन सुदृढीकरण, स्थानीय, प्रदेश र सङ्घीय तहमा पार्टीको भूमिका, प्रतिपक्षको काम आदि आदि विषयहरु तोकिएका छन् ।
भेलामा ७७ वटै जिल्लाका सभापति र केन्द्रीय कार्यसमितिका सदस्य गरी ३ सय जनाको सहभागिता रहने जनाइएको छ ।