वर्तमान व्यवस्था र क्रान्तिको भूमिका

वर्तमान व्यवस्था र क्रान्तिको भूमिका

१. विषय प्रवेश

यतिबेला नेपालमा सर्वहारा वर्गीय आन्दोलन कमजोर व्यवस्थाबाट गुज्रिरहेको छ । खासगरी माओवादी पार्टीको नेतृत्वमा सञ्चालित दश वर्षको भीषण वर्ग सङ्घर्ष स्थगन गरेर जब शान्ति प्रक्रियाका नाममा पार्टी भूमिगत अवस्थाबाट खुल्ला अवस्थामा ल्याए तबदेखि नै एकातिर वर्ग सङ्घर्ष कमजोर बन्न पुग्यो र प्रतिक्रियावादी वर्ग तथा यथास्थितिवादी शक्ति सबल र समृद्ध बन्दै गए । त्यतिमात्रै होइन, दश वर्षको वर्ग सङ्घर्षको प्रमुख नेतृत्व गर्दै आएका प्रचण्ड र बाबुराम भट्टराई जस्ता व्यक्तिहरु माक्र्सवाद–लेनिनवाद–माओवादको आधारभूत सिद्धान्तविरुद्ध खडा भए । प्रतिक्रियावादी शक्तिका अगाडि घुँडा टेके र अन्त्यमा वैचारिक रुपमा मात्र होइन, व्यवहारिक रुपमा नै समाप्त भए । सर्वहारा वर्गीय क्रान्तिका निमित्त यो अत्यन्तै ठूलो धोखा र गद्दारी थियो । वैचारिक रुपमा टाट पल्टेका र न्यून ज्ञान र चेतना भएका अन्य कतिपय व्यक्तिहरुको पिछलग्गुपनाले झनै नेपाली कम्युनिस्ट आन्दोलनभित्रको समस्याको थप उजगार गरिदियो ।

यसका कारण प्रतिक्रियावादी वर्ग तथा अवसरवादीहरुको एउटा हिस्सालाई जनतामाथि शोषण, दमन र उत्पीडन थोपर्न बाटो खुल्ला जस्तो भएको छ भने न्यून चेतना भएका इमान्दार तप्का त्यसबाट निराश बन्न पुगेको छ । जनतामात्र होइन, कार्यकर्ता र कतिपय नेतृत्वको तहमासमेत् त्यसको प्रभाव जबर्जस्त रुपमा परेको छ । वैचारिक रुपमा खरिएका व्यक्तिहरुमा समेत् त्यस प्रकारको वस्तुगत प्रभावले पटकपटक मानस पटलमा आक्रमण गर्ने गरेको पाइन्छ । त्यसैले, यतिबेला प्रतिक्रियावादी वर्ग तथा प्रतिक्रियावादी वर्गमा छिटो भन्दा छिटो परिणत हुँदै गएको संशोधनवादी गद्दारहरुको एउटा झुण्ड जो सत्तामा बसेर राज्यको दुरुपयोग गर्न पाइराखेको छन्, तिनीहरु बढी नै उत्साहित देखिन पुगेका छन् । सत्तामा हालिमुहाली गर्न नपाएको एउटा ठूलो हिस्सा उत्साहित होइन, बरु निराश नै छ । तर वैचारिक शुन्यता भएकाहरु पद नपाएका कारण असन्तुष्टी जाहेर गर्दछन्, त्यो पनि रुन्चे स्वरमा । यसलाई ट्रयाकमा ल्याउन अथवा वर्ग सङ्घर्षमा होम्न सबैभन्दा पहिला क्रान्तिकारी शक्तिले आफ्नो पङ्क्तिलाई समृद्ध, एकतावद्ध गर्नुपर्छ । साथै, सरकार तथा संसदीय पार्टीका जनविरोधी हर्कतहरुको व्यापक मात्रामा भण्डाफोर गर्दै वर्ग सङ्घर्ष उठानका निमित्त आधारभूमि तयार पार्नु पर्छ । अवसरवादी हावाहुरीका सबैखाले झोक्काहरुलाई तोड्दै आफैभित्रको अवसरवादी फोहोरमैला पखाल्दै उदारता, उदासिनता तथा अकर्मण्यताविरुद्ध सङ्घर्ष गर्न आवश्यक छ । तब मात्र क्रान्तिकारीहरुले वर्ग सङ्घर्षको उठान मात्र होइन, सबै प्रकारका जनविरोधी विचार, प्रतिक्रियावाद र अवसरवादलाई परास्त गर्दै ढुलमुले तप्कालाई क्रान्तिको मार्गमा ल्याउन सकिन्छ । यसमा सचेतपूर्वक भूमिका निर्वाहको आवश्यकता छ ।

२. अवसरवादी झुण्डको एकता

नेपाली कम्युनिस्ट आन्दोलनका क्रममा २०२८ सालमा भएको झापा आन्दोलन त्यति व्यापक, भव्य र लामो समयसम्म नचलेको भएता पनि वर्ग सङ्घर्षको एउटा कडी थियो । उक्त सङ्घर्षबाट आएका झापालीहरु विभिन्न समुहसँगको एकता पश्चात् बनेको माले पार्टी र पछि एमालेहुँदै प्रतिक्रियावादमा पतन हुन कम्तिमा पनि १५–२० वर्ष लागेको छ । तर व्यवस्थित, भव्य र भीषण वर्ग सङ्घर्षका १० वर्ष पार गरेको प्रचण्ड र बाबुराम भट्टराईहरु प्रतिक्रियावादमा पतन हुन १० वर्ष पनि लागेन । छिटो छिटो वैचारिक घुम्टो उदाङ्गो बनाउँदै व्यवहारतः प्रतिक्रियावादमा पतन भएका दुईवटा नामधारी पार्टीहरु अन्ततः छुट्टा–छुट्टै अस्तित्वमा रहन सक्तैन थिए । जनयुद्धबाट भएका नेता कार्यकर्ताहरुको मानसिकता साफ गर्न प्रचण्डले पहिलो चरणमा एमालेसँग एकता गर्नुपर्छ भनेर बहस गराए । दोस्रो चरणमा निर्वाचनमा कथित वामको नाम दिएर एमालेसँग संयुक्त भए र उम्मेद्वार उठाए भने तेस्रो चरणमा गएर पार्टीको एकता गरे । नेपालमा कम्युनिस्टप्रति जनताको सद्भाव, सम्मान आशा र विश्वास अत्यन्तै धेरै भएका कारण जनताको त्यो विचार र भावना बुझेर भ्रम दिनका खातिर एउटा लोगोको रुपमा झुण्ड्याएर राख्न आफूलाई ‘कम्युनिस्ट पार्टी’ भनिरहेका छन् ।

यसरी हेर्दा नेपालको कम्युनिस्ट आन्दोलनमा के भै दियो भने झापा आन्दोलन होस् या दश वर्षको जनयुद्धबाट पैदा भएका नेता, कार्यकर्ताको एउटा हिस्सा अन्ततः यति सजिलै, सहजै प्रतिक्रियावादमा रुपान्तरण हुन पुग्यो । चाहे खड्ग ओलीका अगाडि होस् या प्रचण्डको अगाडि होस्, वैचारिक वहस गर्ने कुरा किरणको नेतृत्वमा हामीले अलग धार निर्माण गरेपश्चात् उनीहरुमा विचार शुन्यतामा परिणत भएका पाइयो । बरु उल्टै मालेमावादका पक्षधर वर्ग सङ्घर्षका पक्षधर, आमुल परिवर्तनका पक्षधरहरुलाई विविध प्रकारका प्रलोभन दिएर भ्रम पार्ने कोशिस गरिराखेका छन् । सामन्ती संस्कार र संस्कृतिबाट आक्रान्त नेपाली जनता दलाल पुँजीवादको संस्कार र संस्कृतिबाट थिलोथिलो बन्दै गएका छन् । जसले गर्दा सत्य के हो ? असत्य के हो ? भ्रम के हो ? वास्तविकता के हो ? भनेर छुट्याउनुको सट्टा आफैमा भ्रमित बनिरहेका छन् । जसको फाइदा तिनी प्रतिक्रियावादी वर्ग र अवसरवादीहरुलाई भै राखेको छ ।

अवसरवादी गठजोड् पार्टी एकताबाट सबैभन्दा बढी लाभ उठाउन दौडधुप गरिरहेका छन् । यसबाट जनता सतर्क नहुने हो भने शोषण, दमन, उत्पीडन, महङ्गी, कालाबजारी, भ्रष्टचारीको जालोबाट आमागी दिनमा झनै आक्रान्त बन्नु पर्ने अवस्थाको सृजना भै सकेको छ । एमाले–माओवादी केन्द्रका बीचमा एकता भएर बनेको कथित नेकपा र उसको नेतृत्वमा बनेको सरकारका आजसम्मका गतिविधिले प्रतिक्रियावादी वर्गको सेवा गर्ने अन्य पार्टीहरुभन्दा छिट्टै नाङ्गिने कुराको सङ्केत पनि देखा परिसकेको छ ।

३. वर्तमान सरकारका कामकार्यवाही

वर्तमान सरकार कथित वामका नाममा विभिन्न तामझामका साथ बनेको सरकार हो । पहिलो कुरा यो सरकार वाम सरकार होइन । किनकि ओली र दाहालले नेतृत्व गरेको पार्टी कम्युनिस्ट त हुँदै होइन, यो सामान्य अर्थमा वामपन्थी पनि होइन । यो त जनतालाई झुक्याउन र छल्नका निमित्त राखिएको नाम मात्र हो । किनकि, वैचारिक रुपमा त यसले घोषित रुपमा नै मालेमावादका आधारभूत सिद्धान्त छाडिसकेको छ । मालेमावादका आधारभूत सिद्धान्त छाडेपछि उसले अङ्गाल्ने विचार र सिद्धान्त भनेको पुँजीवादी विचार हो । हाम्रो जस्तो देशमा स्वतन्त्र प्रकारको पुँजीवाद नभएर दलाल पुँजीवाद भएका कारण सबै संसदीय पार्टीहरु र त्यसका नेताहरु साम्राज्यवाद र विस्तारवादका दलाल मात्र हुन् । भएका कारण उनीहरु देश र जनताका निमित्त आफ्नैै बुद्धि र विवेकले सोच्नेभन्दा पनि विस्तारवादको सेवा गर्ने भन्दा उनीहरुको निमित्त अर्को विकल्प देखिदैन । उनीहरुका लागि राष्ट्रियता, जनतन्त्र र जनजीविका जस्ता जनताका महत्वपूर्ण सरोकारका विषयहरु आज समाप्त भएर गएका छन् । तर उनीहरुलाई त्यसप्रति न त चिन्ता छ, न त चासो नै । तर इमान्दार जनतामा अझै पनि भ्रम दिन छाडेका छैनन् ।

सबैभन्दा पहिलो चुरो कुरा भनेको विस्तारवादका दलालहरुले जनताको संविधान बनाउन चाहेनन् । अझ भन्नुपर्दा विदेशीको इशारामा लागेर बनाउन दिएनन् । यतिबेला हाम्रा अगाडि एकथान संविधान त छ, तर जनविरोधी छ । त्यसैलाई अक्षरशः पालन गर्ने भनेको जनताप्रति दमन, उत्पीडन र शोषण गर्ने कामलाई अझ बढाउँदै लैजाने भन्ने नै हो । त्यति मात्र होइन, राष्ट्रघाती ठूला–ठूला सन्धिसम्झौताहरु विस्तारवादसँग गरेर देशलाई कमजोर बनाउने भनेको हो । आज उनीहरु सरकारमा गएको छोटो समयमा नै राष्ट्रघातका ठूला–ठूला निर्णयहरु गरेर देशलाई असाध्यै कमजोर बनाउँदै लगेका छन् । मजदुर–किसानका विगतका सामान्य अधिकारसमेत एकपछि अर्को गरी खोस्दै लगिरहेका छन् । राज्य सत्तामा दलालहरुको ठूलो बिगबिगी छ । देशको अर्थतन्त्र कसरी व्यक्तिको नाउँमा बनाउने र राष्ट्रिय अस्मिता कसरी र कस्को नेतृत्वमा कमजोर बनाउने भन्नेमा सत्तामा रहेकाहरुको होडबाजी चलिरहेको छ । विगतमा विस्तारवादीहरुसँग गरिएको असमान सन्धि सम्झौता खारेज गरेर समानताका आधारमा नयाँ सन्धि सम्झौता गर्नु त कता हो कता, बरु त्यसैलाई कार्यन्वयनमा निरन्तरता दिने अठोट गर्दैछन् । साथै, अन्य थुप्रै असमान प्रकारका सन्धिसम्झौतामा हस्ताक्षर गर्दै विस्तारवादको अगाडि घँुडा टेक्दै गइरहेका छन् ।

पहिलेका राजाहरु, राणाहरु, पञ्चायती सरकार र विगतका संसदीय सरकारहरुले गरेका सन्धि सम्झौताहरु भन्दा अझै खतरनाक प्रकारका सन्धि सम्झौताहरु गरिरहेका छन् । अरुण तेस्रो, माथिल्लो कर्णालीको सम्झौतादेखि हालै मात्र मोदी भ्रमणमा आउँदा हतियारसहितका भारतीय सेनाको नाङ्गो नाच राष्ट्रिय अस्मिता माथिको ठाडो हस्तक्षेप हामीले देखेका छौं । यो अत्यन्तै खतरनाक हस्तक्षेप हो ।

निर्वाचन लगतैबाट बढ्दै गरेको महङ्गी, कालाबजारी, तस्करी, भ्रष्टचारको उत्कर्ष बजेट भाषण पश्चात् अत्यन्तै बढेर गएको छ । मजदुर किसानको त कुरै छाडौं, जागीरे, साना व्यापारी लगायत मध्यमवर्गीय तप्कालेसमेत आफ्नो दिनदैनिकी चलाउन नसक्ने हालतमा पुगेका छन् । त्यसैले, यस विषयमा समेत क्रान्तिकारीहरुले एकपटक सोच्नै पर्ने आवश्यकता छ ।

४ अन्तमा

अबका दिनमा प्रतिक्रियावादी वर्गको दलाल पार्टीहरु, त्यसका नेताहरु र उनीहरुको सत्ता वा सरकारले गर्दै जाने भनेको महंगी, तस्करी, कालाबजारी, घुसखोरी हो । उनीहरुको गर्दै जाने भनेको शोषण, दमन, उत्पीडन हो । उनीहरुले गर्दै जाने भनेका ठूला–ठूला राष्ट्रघात र जनघात हो । संशोधनवादीहरुले, संसदवादीहरुले विश्वमा आजसम्म जे गर्दै आएका छन् आज पनि र भोली पनि उनीहरुले गर्ने त्यहि हो । सत्ताको दुरुपयोग गरेर केवल जनतामा व्यापक भ्रम पार्ने काम भने उनीहरुले गर्न सक्छन् तर त्यो भ्रम पनि क्रमिक रुपमा नाङ्गिदै जानेछ ।

ठीक यो अवस्थामा क्रान्तिकारीहरुले खास गरी माओवादीहरुले सचेतता पूर्वक उनीहरुको भ्रमर्ला पर्दाफास गर्ने, मजदुर किसान माथि मुख्य भर पर्दै समाजमा रहेका सबै उत्पीडित समुदायलाई गोलबन्द गर्दै छरिएर रहेका अन्य शक्तिहरुलाई बृहत मोर्चामा सामेल गर्न पहल गर्नु आवश्यक छ । साथै आफू मित्र रहेका अपुगताहरुलाई पूर्णता दिनु र वर्ग संघर्षका निमित्त आधारभूमि तयार पार्दै जान पनि त्यत्तिकै आवश्यक छ । यो नै यतिवेलाको आवश्यकता हो ।