असार ५ गते प्रधानमन्त्री चीन जाँदै : भ्रमणमा बढी रणनीतिक कुरा मात्र

प्रकाशित मिति : २०७५ जेष्ठ ३०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि चनि जाने भएका छन् । चिनियाँ विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री ओली असार ५ गते देखि १० गतेसम्म चीन भ्रमण आउने बताएपछि उक्त कुरा सार्वजनिक भएको हो ।

चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको भ्रमणबारेको उक्त सूचना नेपालको परराष्ट्र मन्त्रलायले पनि पुष्टि गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ स्वाङले चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा नेपालका प्रम ओली भ्रमणमा त्यहाँ आउन लागेको बताएका हुन् ।

नेपालका तर्फबाट हालसम्म भएको गृहकार्यअनुसार प्रम ओलीको भ्रमणको ठूलो उपादेयता काठमाडौं, रसुवागढीहुँदै केरुङ रेलमार्ग हुने बताइएको छ । सम्बन्धित सरकारी निकायका अधिकारीहरुको भनाइ छ– यो रेलको सम्भाव्यता अध्ययनका विषयमा टुङ्गो लगाइने छ । यसका साथै प्रम ओलीको अघिल्लो भ्रमणको क्रममा निकै चर्चामा आएको र संभतः भारत बेखुशी हुनुको मुख्य कारण पनि बनेको नेपाल–चीन पारवाहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर गरी कार्यान्वयनमा पनि लगिने बताइएको छ ।

चीनको विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्य तालिकाअनुसार भ्रमणमा गएका प्रम ओली र भ्रमण दल स्वशासित क्षेत्र तिब्बतको ल्हासा भ्रमणमा पनि पुग्ने छन् । नेपालको परराष्ट्र मन्त्रालयका अनुसार चीन भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उर्जा मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसहित सङ्घीय संसदका सांसदहरू तथा उच्च सरकारी अधिकारीहरु सम्मिलित हुने छन् ।

चीनको विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयको सार्वजनिक सूचना एवम् जानकारीलाई हेर्दा यो पालाको भ्रमण केवल रणनीतिक मात्र हुने र तत्काल जनताका आवश्यकताहरुसँग सम्बन्धित संझौताहरु हुने देखिदैन ।