काठमाडौं । ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङमा बिहीवार सम्पन्न देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको दोस्रो जिल्ला भेलाले वीरहाङ चोङवाङको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । देशैभर चलाइएको पाँच महिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको अन्तिम संश्लेषणका रुपमा मोर्चाको जिल्लास्तरीय भेला सम्पन्न भएको बताइएको छ ।
निर्वाचित जिल्ला समितिको सचिवमा विपना सुब्बा र सदस्यहरुमा भक्त याङदेन, मणि राई, अग्नि, मिलन, प्रकाश, मनिष थेबे, ललित सेरेङ, सुरेश सेरेङ र सुशीला राई रहनु भएको छ ।
एक मिनेट मौन धारणपछि सुरु भएको मोर्चा जिल्ला भेला कार्यक्रमका प्रमुख अतिथि केबी फुदोङले मोर्चा क्रान्तिका तीन जादुगरी हतियारहरुमध्ये एउटा महत्वपूर्ण हतियार भएकाले यसमा आवद्ध साथीहरु जनताका नेताका रुपमा स्थापित भई उनीहरुको अगुवाइ गर्नुपर्छ भन्नुभयो ।
त्यसैगरी यूरोप पार्टी इन्चार्ज तथा बिगेसो अध्यक्ष पदम लिम्बूले विदेशमा गएर अरुको सेवामा इमान्दारिताका साथ काम गर्ने नेपालीहरु आफ्नो देशमा राजनीतिक परिवर्तन ल्याउन र देशभित्रका आफ्नै बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरुको सेवा गर्न कुनै कसर बाँकी नराख्ने कुरामा जोड दिनु भएको थियो ।
लिम्बूवान मुक्तिमोर्चाका जिल्ला अध्यक्ष यात्रायाङदेनले पनि मोर्चा भेलामा शुभकामना मन्तव्य दिनु भएको थियो । भेला कार्यक्रममा विपन सुब्बाले स्वागत भाषण गर्नु भएको थियो र भने कार्यक्रम सञ्चालन सुरेश सेरेङले गर्नु भएको थियो । भेलाको अध्यक्षता बिरहाङ सेरेङ चोङवाङले गर्नुभएको थियो ।