काठमाण्डौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूले नेतृत्व गरेको महान् जनयुद्धलाई पाप कर्मको सङ्ज्ञा दिएका छन् । चितवन भरतपुरस्थित पार्टी कार्यालयमा बुधवार बिहान भएको पार्टी कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा दाहालले यस्तो अभिव्यक्ति दिएका हुन् ।
दाहालले जनयुद्धका बखत देश र जनताका नाममा केही काम गर्न नसकिएको र उल्टै पाप गरिएको कुरातर्फ घुमाउरो सङ्केत गर्दै हाल संसदीय एकमना सरकार भएका बेला देश र जनताको पक्षमा काम गर्न सके विगतमा गरिएका सबै पाप पखालिने बताएका छन् ।
हाल आफू पार्टी एकतापछि नेकपा नाम गरेको महासागरमा रहेको र त्यहाँ नुहाएपछि आफ्ना सबै पाप पखालिने कुरामा उनी ढुक्क देखिन्छन् । त्यो महासागरमा विगतका आफ्ना भएजतिका सबै गल्ती र पाप पखालिएपछि उनको मोक्ष प्राप्तिको बाटो खुल्नेमा उनी विश्वस्त छन् । कार्यकर्ता भेटघाटका क्रममा उनले ‘पार्टी एकताको महासागर भनेको मोक्ष प्राप्त गर्ने महत्वपूर्ण अवसर हो, एकताको यो महासागरले हिजोका सबै पाप पखालिने छ’ भनी बारम्बार दोहर्याइरहे ।
पार्टी एकीकरणको महासागरमा आफ्नो गल्ती र पाप पखालिने बेलामा कार्यकर्ताका हिजोका धूलोमैलो पनि पखालिने भएकाले यो अवसरको नचुकेर उपयोग गर्न दाहालले उपस्थित सबै कार्यकर्तालाई सुझाएका पनि छन् । यसरी महासागरमा नुहाएपछि गुबन्दी र अन्तरघात पनि कम हुँदै जाने आशासमेत् प्रकट गर्न उनले छुटाएका छैनन् ।
भखैरै ललितपुरको मा निर्मित एउटा भव्यमहल छोरीहरुलाई साइत जुराएर यही महिना स्वामित्व सुम्पिएका दिएका दाहालले उपस्थित कार्यकर्ताहरुलाई भने– ‘व्यक्तिगत स्वार्थका लागि मरिमेट्ने चिन्तन पनि हामीसँग छ, यसले न पार्टीको भलो गर्छ, न देश र जनताको ।’
एकताको महासागरमा पाप पखालिए पछि अब ‘राष्ट्रलाई समाजवादतर्फ लैजान एकतावद्ध भएर काम गर्नुको विकल्प नभएको र जनताले दुई कम्युनिस्ट पार्टी एक भयो भन्दैमा छुट पनि नदिने भन्दै राम्रो काम गरे मात्रै जनताको साथ पाउने’ कुरा पनि दाहालले दोहोर्याए ।
शान्तिकालको पछिल्लो खण्डमा आएर दाहाल पूजाआजा गर्ने, साइत जुराउने, चीना टिपाउने, ग्रहशान्ति गर्ने आदि गर्दै आएका छन् । पछिल्लो चरणमा सामाजीकरणको अमूर्त व्याख्या गर्दै आएका दाहालले अहिले भने आफू पूरै ‘रिहाबिलिटेशन’मा गएको स्पष्ट सङ्केत गरेका छन् ।
दाहाल एमाले बनेका, बहुदलीय जनवादलाई स्वीकार गरेका, जनयुद्ध गल्ती र पाप थियो भनेका, अब धर्मकर्ममा लाग्छु भनेका, व्यक्तिगत सुखशान्ति भन्दा ठूलो अरु केही छैन भन्ने गरेका दाहाल अब अध्यात्मवादी र पश्चगामी सामाजीकरणको कुरालाई भेटघाट र प्रशिक्षणको मूल विषयवस्तु बनाउन थालेका छन् ।
भौतिकवादी संस्कारका हिसाबले एकताका दशैंमा टीका नलगाएर चर्चामा आएका, बुबाको मृत्युमा छालाका जुत्तासहित दागबत्ति दिएका र एकताका त्यो भन्दा पनि बढी युद्ध सुप्रिमो बनेका दाहाल अहिले आफ्ना विगतलाई पाप करार गर्दै पश्चात्तापका दिन गन्दै समय व्यतित गरिरहेकोमा कुनै पनि शङ्का छैन ।