काठमाडौं, जेठ ३० । नेपाल गुणस्तर तथा नापतौल विभागले कम्प्युटर विलिङ प्रणाली (प्रिन्टर मेशिन) जडान नगरेका २१० ट्याक्सीमाथि कारबाही गरेको छ ।
विभागमा अहिले १० हजार ६४४ ट्याक्सी दर्ता छन् ती मध्ये ८ हजार ३५४ ले मात्र प्रिन्टर मिटर जडान गरेको छन् । भने अन्य दुई हजार २९० ट्याक्सीले हालसम्म पनि प्रिन्टर मिटर जडान नगरेको विभागले जनाएको छ ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पछिल्लो समय प्रिन्टर मेशिन जडान नगर्ने सवारीसाधनलाई विशेष अभियान मार्फत कारबाही चलाउदै आएको जानकारी दिए । उनले भने, ‘प्रिन्टर मेशिन जडान नगरेका ट्याक्सीलाई ट्राफिक प्रहरीको सहयोगमा विभागको टोलीले अनुगमन गरेको र रु एक हजार जरिवाना तिराउँदै आएका छौँ ।’
अहिले पक्राउ परेका ट्याक्सीमध्ये १८० ट्याक्सीले मिटर जडान गगिरसकेको र बाँकी ३० ट्याक्सी पनि मिटर जडान प्रक्रियामा रहेको विभागले जनाएको छ ।
विभागले २०७३ पुस १७ देखि उपत्यकाका ट्याक्सीमा प्रिन्टर मेशिन जडान गर्ने काम शुरुवात भएको थियो । २०७४ साउनसम्म प्रिन्टर मेशिन जडान गर्ने भने पनि दुई हजार ट्याक्सीमा अहिलेसम्म पनि प्रिन्टर मेशिन जडान नभएको पाइयो ।
महाशाखाका प्रमुख पन्तले पछिल्लो समयमा मिटरमा जान नमान्ने तथा बिल नदिने ट्याक्सी चालकमाथि विशेष कारबाही अभियान चलाएको बताएता पनि उपत्यकाका अधिकाशं ट्याक्सीले प्रिन्टर मेशिनकोे बिल नदिने गरेको गुनासो छ । यसो हुँदा अधिकाशं यात्रु ठगिने गरेका छन् ।