‘सरकारले जग्गा नदिए ज्यान गएपनि छोडिन्न सुकुम्बासी बस्ती’ : मीनकुमार रानामगर

‘सरकारले जग्गा नदिए ज्यान गएपनि छोडिन्न सुकुम्बासी बस्ती’ : मीनकुमार रानामगर

काठमाडौंको सुकुम्बासीहरुको दैनिकी कसरी चलिरहेको छ ?
सुकुम्बासीको जीवन साह्रै दयनीय छ । सबै सुकुम्बासीहरु खोलाको छेउछाउँमा बसिरहेका छन् । बिहान, दिउँसो र साँझ पनि ज्याला मजदुरी गरेर बस्ने ठाउँ हो यो । हुरीबतास चल्दा, ठूलो पानी पर्दा रातभर निन्द्रा लाग्दैन । सुकुम्बासी टोलमा बूढाबूढी, केटाकेटी नाङ्गो भुईँमा अलपत्र परेर बसिराखेका हुन्छन् । अर्कोतिर सरकारले विनाविकल्प सुकुम्बासी बस्ती उठाउने हल्ला गरिराखेको छ । यो हामी सुकुम्बासीका लागि निकै दुःखको कुरा हो ।

सहरमा सबै सुकुम्बासीले रोजगारी पाएका छन् त ?
रोजगारीकै लागि विभिन्न जिल्लाहरुबाट राजधानी शहर आएका छन् । २÷४ पैसा धन कमाई हुन्छ भन्ने ठाउँ यही नै हो । शिक्षा, स्वास्थ्य, गाँस, बाँस, कपास तथा अन्य आवश्यकताहरुको परिपूर्ति हुने ठाउँ यही नै हो । विशेषगरी बच्चाबच्चीहरुको शिक्षालाई सुकुम्बासीहरुले बढी ध्यान दिने गरेका छन् । देशैभरका विभिन्न जिल्लाका मान्छेहरु खोलाका छेउछाउँमा बसिराखेको छन् ।

तपाईहरुको बसाई एकल छ वा संयुक्त परिवारको ?
सबै सुकुम्बासीहरु संयुक्त परिवारमा बसिराखेका छन् । परिवारमा बृद्ध बुवाआमा, बालबालिकाहरु, अपाङ्ग तथा काम गर्न नसक्नेहरु सबै बसिरहेको छन् । प्रायजसो सुकुम्बासीहरु शारीरिक मेहनत बढी गर्दछन् । प्रायः उनीहरु ढुङ्गा माटोको काम नै गर्छन् । सुकुम्बासी बस्तीहरुमा जागीरेहरु, उद्योगधन्दा सञ्चालकहरु बसेका छैनन् । बिहान बेलुका छाक टार्न मुस्किल हुने कामदार, भरिया तथा घरजमिन केही पनि नभएका बसोबास गरेका छन् । यो काम गरी खानेहरुको बस्ती हो ।

नदीको दुर्गन्धले कतिको असर पारिराखेको छ ?
हाम्रो स्वास्थ्यमा नदीबाट आउने दुर्घन्धले निकै असर पु¥याएको छ । अहिले सरकारी अधिकारीहरुसहित मुख्य सचिव र नेताहरुले हप्ताहप्तामा नदी सरसफाई अभियान चलाइरहनु भएको छ । नदीको किनारामा हामी बसेको हुनाले सुकुम्बासीले नदीमा फोहोर गरे भनी आरोप लगाउने पनि गर्नुहुन्छ । तर हामी सुकुम्बासीले आफ्नै ट्वाइलेटमा दिशापिसाब गर्छौ र फोहोरहरु संकलन गरेर फ्याक्छौं । हामीले हाम्रो सुकुम्बासी टोल खुल्ला दिशामुक्त क्षेत्र नै बनाएका छौं । नेपाल सरकारको तर्फबाट सरसफाई अभियान चलिरहेको त छ, तर टुकुचा खोलामा अहिलेसम्म दृष्टि नै पुगेको छैन । टुकुचा खोलाका वरपर ठूलठूला भवन निर्माण गरेर बसेकाहरुले त्यो खोला कति फोहोर र प्रदुषित पारेका छन्, सरकारले ध्यान दिएको छैन ।

वर्षा धेरै भएमा तपाईहरुको सुकुम्बासी बस्तीहरु डुबानमा पर्छन् कि पर्दैनन् ?
अधिक वर्षा भएमा सुकुम्बासी बस्तीहरु डुबानमा पर्ने गर्छन्, पानी घरभित्र आउने गर्छ । जमिनमा राखिएका थाल, कचौरा, सिरक, बिछ्यौना तथा अन्य सरसामानहरु बगाएर छैजाने गर्छ । हामी सुकुम्बासीहरुलाई कसैको पनि सहयोग छैन । एक त गरीबको बसाई, त्यो पनि अव्यवस्थित रहेको छ ।

तपाईहरुले सरकारसमक्ष केही मागहरु राख्नु भएको छ ?
विगतमा हाम्रा जनजीविकाका समस्याहरुलाई लिएर धेरै मागहरु राख्यौ । सम्बन्धित सरकारी निकायहरुमा पनि पुग्यौं । नसुनेपछि संघर्ष पनि चलायौं । हामी भन्न चाहन्छौं पहिलो कुरा त सुकुम्बासी बस्तीहरु नउठाइयोस् । यदि उठाउन चाहन्छ भने वैकल्पिक व्यवस्थासहित अन्यत्र सारोस् । हामीले सरकारलाई स्मरण गराउन चाहन्छौं कि वर्तमान संविधानमा व्यवस्था भएअनुरुप हली, गोठाला, भरिया, हरुवा, चरुवा र सुकुम्बासीलाई बस्ने घर र जोतीखाने जमिनको व्यवस्था गरोस् । बिना विकल्प सुकुम्बासी बस्ती नहटाओस् ।

के सरकारसँग सुकुम्बासीहरु त्रसित हुनुहुन्छ ?
हामी दुर्घन्धित खोलाकिनारामा पालमुनि बसिराखेका छौं । सानो हावाहुरीले पनि हाम्रा प्लाष्टिकका पालहरु उडाइदिन्छ । रात परेपछि बालबच्चा, वृद्धवृद्धाहरु त्रसित हुने र कराउने गर्न थाल्छन् । हामीहरु साँच्चै नै प्राकृतिक प्रकोप तथा सरकारी गलत सोचको आक्रमणमा परिरहेका छौं ।

इचङ्गु भन्ने ठाउँमा सुकुम्बासीहरु बस्नका लागि ठूलो अपार्टमेन्टको व्यवस्था गरिएको छ रे । तर त्यहाँ सुकुम्बासी जान मानेनन् भन्ने सरकारको आरोप छ नि ?
बाबुराम भट्टराईको सरकारहुँदा थापाथली सुकुम्बसी बस्ती भत्काइयो । सुकुम्बासीका कुराहरुलाई सञ्चार माध्यमहरुले राम्रो गरी प्रचारमा ल्याए तर स्वयं प्रधानमन्त्री बाबुराम भट्टराईले मलाई थाहा छैन भन्नुभयो । तत्काल व्यवस्थापनको लागि सुन्दरीघाट, चोभार, सिमेन्ट फ्याक्ट्री, ब्याट्री कारखाना आदि विभिन्न ठाउँहरु हल्लामा आए । तर केही समयपछि सहरी विकासले इचन्गुमा एक ठूलो अपार्टमेन्ट निर्माण ग¥यो तर एक सुकुम्बासी परिवारलाई १६ बाई १६ को एउटा सानो कोठा त्यो पनि भाडामा उपलब्ध गराउने भनी सुकुम्बासीहरुलाई रोजाइयो । त्यो सानो कोठामा परिवार अट्न र बस्न सक्ने स्थिति रहेन । सानो परिवार पनि पाँचसात जनाको हुने भएकाले ती साना कोठामा बस्न सम्भवै भएन । त्यसैले हामी सुकुम्बासीले सरकारी प्रस्ताव अस्वीकार ग¥यौं । हामी नेपाल सरकारले तोकेको मापदण्डअनुसार थोरै पनि बस्नका लागि जग्गा उपलब्ध गराउँछ भने त्यहाँ जान र बस्न तयार छौं ।

इचङगुको अपार्टमेन्टमा सुकुम्बासी बसाल्दा भाडा लिने वा नलिने कस्तो प्रस्ताव गरेको छ सरकारले ?
त्यो अपार्टमेन्टबारे दुईवटा कुराहरु आएका छन् । एउटा भाडामा पनि बस्न सकिने, दोस्रो अपार्टमेन्टका कोठा आफ्नो नाममा बनाउन सकिने पनि भनिएको छ । भाडामा मासिक कति हो थाहा छैन, तर कोठा आफ्नो नाममा बनाउने हो भने मासिक ५ हजार किस्ता तिर्नु पर्ने भनिएको छ । त्यो पच्चीस वा तीस वर्षे कतिको हुने अझैं निक्र्योल गरिएको छैन । यो हिसाबले त त्यो सानो कोठाको मूल्य २२ देखि २५ लाख पर्न आउँछ । यो भनेको सुकुम्बासीहरुले तिर्न त परै जाओस् कल्पनासम्म पनि नगरेको धनराशी हो । राज्य सुकुम्बासीमात्र होइन, महासुकुम्बासी बनाउनेतिर गइराखेको छ ।

सबै सुकुम्बासीहरु भूमिसँगै जोडिन चाहनुहुन्छ त ?
हो, हामीहरु जहाँ सरकारले भूमि उपलब्ध गराउँछ, त्यही जान्छौं । यसो गरे मात्रै नेपालका सुकुम्बासीहरुको समस्याको समाधान हुन्छ । सरकारले जग्गा नदिए हामी बस्दै आएको सुकुम्बासी बस्ती ज्यान गए पनि छोड्दैनौं ।