अतिरञ्जित प्रचारमा किन ओर्लिए मोदी

प्रकाशित मिति : २०७५ जेष्ठ २६

काठमाडौं, जेठ २६ । भारतीय राजनीतिक रङ्गमञ्चमा भर्खरै उदाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो हत्या योजना बनेको भन्ने सनसनीपूर्ण खबरहरु सञ्चारमाध्यमहरुमा पठाएर किन चर्चामा आउन खोजे भन्ने कुराभित्र गम्भीर रहस्य लुकेको चर्चा राजनीतिक विश्लेषकहरुले गर्न थालेका छन् । उनको हत्या गर्ने योजना भारतमा करिब ४ दशकदेखि सशस्त्र सङ्घर्षको नेतृत्व गरिरहेको भारतीय माओवादीले बनाएको भनी प्रचार गरिएको छ । यसको आधिकारिक स्रोत भनेको भारतीय माओवादी पार्टीका कार्यकर्ताहरुको गिरफ्तारी पछि उनीहरुबाट बरामद गरिएको भनिएको चिट्ठीलाई बनाइएको छ ।

भारतीय प्रहरीद्वारा गिरफ्तार गरिएका नक्सालवादी कार्यकर्ताहरुबाट भूमिगत रुपमै लेखिएको एउटा महत्वपूर्ण चिट्ठी समेत बरामद भएको भनिएको सो चिट्ठीमा भारतीय प्रधानमन्त्री मोदीको हत्या गर्ने योजना बनाइएको तथ्य फेला परेको दाबी पनि गरिएको छ ।

सनसनीपूर्ण खबरका रुपमा प्रसार प्रचारमा ल्याइएको उक्त चिट्ठीमा पूर्वप्रधानमन्त्री राजिव गान्धीकै शैलीमा प्रधानमन्त्री मोदीको हत्या गर्ने योजना भारतीय माओवादीले बनाएको भनी दाबी समेत् गरिएको छ । स्वतन्त्र रुपमा पुस्टि हुन नसकेको उक्त कुराको दाबीको स्रोत एकमात्र भारतीय प्रहरी रहेको छ । एक नक्सालवादी कार्यकर्ताको कम्युटर बरामद गरिएपछि नै सो कुराको खुलासा भएको भनिए पनि भरपर्दो अन्य स्रोत भारतीय सरकारसँग नरहेको जानकारहरु बताउन थालेका छन् । सञ्चार माध्यमहरुले स्रोतका रुपमा भारतको पुणेस्थित प्रहरीलाई उद्धृत गर्ने गरिरहेका छन् ।

प्रचारको आवरणभित्र मोदी सरकार ?

भारतका विपक्षी लगायतका अन्य राजनीतिक दलहरु, मानवअधिकारकर्मीहरु, विषय विज्ञहरु, वौद्धिक सर्कल तथा सर्वसाधरणहरु सञ्चार माध्यमहरुमा प्रचारित यो खबरबाट त्रस्त बनेका छन् । यसको मूल कारण भनेको यही कुरालाई निहुँ बनाएर मोदीको पार्टी भाजपाको वर्तमान सरकार निरङ्कुश बन्ने दिशामा अघि बढ्न सक्ने छ । यो खबरको प्रचार प्रसारपछि मोदीलाई राज्यको अथाह शक्ति प्रयोग गर्ने अधिकार प्रदान गर्ने वातावरण बन्ने छ । सिंङ्गो भारतमा सुरक्षाकर्मीहरुको परिचालन निर्वाध रुपमा गरिने छ । विना रोकटोक शान्ति सुरक्षा र भीभीआईपीको सुरक्षा सतर्कताका नाममा राज्यको सुरक्षा संयन्त्र मोदीको हातमा आउने छ । केही राजनीति कर्मी भन्छन्– ‘उनले केन्द्र मात्र होइन, हरेक प्रदेशका सुरक्षा संयन्त्रमा आफ्ना मान्छेहरुको कमजोर उपस्थिति रहेकाले प्रदेशहरुको निर्वाचनमा अपेक्षाकृत निर्वाचन नतिजा आउन नसकेको अवस्थालाई अब मजबूत बनाउने छन् ।’

प्रतिपक्षमाथि ठूलो दबाब

भारतीय मोदी सरकारको प्रतिपक्षमा रहेको काङ्ग्रेस आई यो खबरबाट ठूलो दबाबमा परेको बताइएको छ । उसलाई मोदीमाथि लक्षित भनी प्रचार गरिएको त्यो योजना सही हो वा होइन भनी पुष्टि हुने स्रोतहरुको खोजीगर्न असंभव जस्तै लागेको छ । सरकार प्रचारित यो समाचारले सत्ताधारी दल र प्रम मोदीलाई अथाह शक्तिमा पुर्याउनेमा उनीहरुको आशंका रहेको छ । सतहबाट हेर्दा सरकारको संभावित निरङ्कुशता तर्फको यात्रालाई यो प्रचारले बल नै पुर्याउने देखिएको पनि छ । प्रचारित समाचार सही हो वा होइन सोको खोजी गरिने छ भन्नु भन्दा पनि सरकार गम्भीर रहेको भनी गृहमन्त्री राजनाथ सिंहले दिएको अभिव्यक्तिले पनि प्रतिपक्षलाई निकै नै झस्काएको देखिन्छ ।
भारतीय गृहमन्त्री राजनाथसिंहले भनेका छन्– प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि सरकार गम्भीर रहेको बताएका छन् । पत्रकारहरुसँगको कुराकानीको बेला सिंह शुक्रबार जम्मुकाश्मिरको एकदिने भ्रमणमा निस्किएका थिए ।

असङ्गतिपूर्ण प्रचार

गृहमन्त्री राजनाथ सिंहले भारतीय माओवादी (नक्सालवादी) हरु सकिएको दाबी पनि गरेका छन् । केही प्रदेशहरुमा आफ्नो सशक्त उपस्थिति देखाएका भारतीय माओवादीहरु अब केवल १० वटा जिल्लाहरुमा मात्र सीमित हुँदै गएको बताएका छन् । आतङकवाद नियन्त्रणका लागि सरकारले उचित कदमहरु चालिरहेको र थप निर्णय लिने तयारी गरिरहेको समेत बताएका उनले अबको माओवादी दमन चर्को हुने सङ्केत गरेका छन् ।

भारतीय माओवादी विरुद्ध अपरेशन ग्रिनहन्ट जस्तो अत्यन्तै अमानवीय तथा नृशंस दमन अभियानले नपुगेर भारतीय आदिवासी तथा मुक्तिकामी जनताविरुद्ध दमनका नयाँ योजनाहरु पनि कार्यान्वयनमा लगिन लागेको यो अनर्गल प्रचारले खुलस्त गरेको भारतीय वुद्धिजीवीहरुले नै बताउने गरेका छन् ।