प्रचण्डले हप्काएपछि गृहमन्त्री बादलले ठूला माछाको कुरा गर्नै छाडिसके : गजुरेल

प्रकाशित मिति : २०७५ जेष्ठ २६

ललितपुर । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेल गौरवले सुनकाण्ड र ठेकेदार काण्डका नाइकेहरुमाथिको अनुसन्धान र कारबाही प्रक्रिया ओझेलमा पर्दै गएको प्रसंग उल्लेख गर्दै प्रचण्डले हप्काएपछि गृहमन्त्री रामबहादुर थापा बादलले ठूला माछाको कुरा गर्नै छाडिसकेको टिप्पणी गर्नुभयो । संस्थागत रुपमा बढ्दो भ्रष्टाचार, सुन तस्करी, माफिया, महंगी, बेरोजगारी, ठेकेदारी प्रथाको अन्त्य ओली नेतृत्वको सरकारले गर्न नसक्ने ठोकुवा गर्दै अध्यक्ष गजुरेलले बादलले अटेर गरेर ठूला माछा समात्न खोजेभने उनी गृहमन्त्रीबाट च्यूत गरिने पनि दावी गर्नुभयो ।

क्रान्तिकारी माओवादी ललितपुरको शनिबार कुपण्डोल पार्टी कार्यालयमा आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष गजुरेलले कार्यक्रमको प्रमुख अतिथिको आसनबाट भन्नुभयो, “लामो समय अघिदेखि हामीले भन्दै आएको र गर्दै आएको विश्लेषण सही सावित हुँदै आएको छ । वर्तमान सरकार प्रतिक्रियावादी सरकार हो । यसले जनताका राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायतका कुनै पनि समस्याको समाधान गर्न सक्दैन । सरकारको सयदिन, नीति कार्यक्रम तथा बजेटले यो यसलाई पुष्टि नै गरिसक्यो कि शान्ति, समृद्धि, विकास सबै हावादारी कुरा हुन् । त्यसका लागि यो व्यवस्था परिवर्तन हुनु पर्दछ । नयाँ जनवादी क्रान्तिमार्फत् स्थापित हुने जनगणतान्त्रिक व्यवस्थामा मात्र वास्तविक शान्ति, स्थायित्व र समृद्धि सम्भव छ ।”

ओली सरकारले बजेट लगत्तै १० प्रतिशतसम्म दैनिक उपभोग्य वस्तुमा समेत मूल्यवृद्धि गरेको चर्चा गर्दै त्यसमाथि सरकार बनेयता आधा दर्जनपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर महंगीमा आगोमाथि घ्यू थप्ने काम गरेको उहाँले बताउनु भयो, “मूल्यवृद्धि फिर्ता गरेर महंगी नियन्त्रण नगरे ओली सरकारका विरुद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, पार्टी सम्बद्ध जवस÷मोर्चा सडकमा उत्रन बाध्य हुनेछन् ।”
अध्यक्ष गजुरेलले भन्नुभयो, “माओवादी केन्द्र एमालेमा विलय भएसँगै अब माओवादी हामी मात्रै बाँकी रहेका छौं । र, नयाँ जनवादी क्रान्तिको अभिभारा पूरा गर्ने दायित्व पनि हाम्रै्र काँधमा आएको छ । जनयुद्धमाथि भएको धोका र गद्दारीबाट निर्मम शिक्षा लिदै जनयुद्धको स्प्रिटमा अब अगाडि बढ्नु पर्दछ । हामीबाहेक अरु कसैले पनि नेपाली क्रान्तिको नेतृत्व गर्न सक्दैनन् ।”

अधिवेशनलाई विशेष अतिथिको आसनबाट सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका पिविएम तथा ३ नं. प्रदेश सचिव सागरले कम्युनिष्ट क्रान्तिकारीहरुलाई सिध्याउन र जनतामा अनेकन भ्रम सिर्जना गरेर जनतालाई दिग्भ्रमित पार्न प्रचण्डहरुले क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’सँग समेत वार्ता भएको भनेर हल्ला चलाइएको बताउनु भयो । एमालेमा माओवादी केन्द्रलाई विलय गराएपछि त्यहाँ रहेका इमान्दार नेता कार्यकर्ताहरु क्रान्तिकारी माओवादीमा ध्रुवीकृत हुने लहर बढ्न थालेपछि त्यसलाई रोक्न उनले यस्तो षड्यन्त्र गरिरहेको चर्चा गर्दै यस्ता अनर्गल प्रचारबाजीबाट क्रान्तिकारी नेता कार्यकर्ताहरु सचेत र सतर्क रहनुपर्ने विचार व्यक्त गर्नुभयो ।
अधिवेशनलाई पार्टी केस तथा काठमाडौं जिल्ला सचिव सरु, भक्तपुर इन्चार्ज प्रवीण, जबस÷मोर्चा डिओसी इन्चार्ज गुराँसलगायतका नेताहरुले शुभकामना मन्तव्य दिनुभएको थियो । ललितपुर इन्चार्ज जीवनको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रको सञ्चालन दीपक र स्वागत केशवले गर्नुभएको थियो ।

अधिवेशनको उद्घाटन सत्रमा पार्टी केसहरु रणजीत, कगेन्द्र, उदय, उज्वल र जिल्लाका पुराना कम्युनिष्ट नेता रत्न बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो । अधिवेशनको उद्घाटन सत्र समापन भएलगत्तै बन्द सत्र सुरु भएको छ ।