म्याच फिक्सिङमा परेका सागर थापासहित ६ जनाले पाए सफाइ

म्याच फिक्सिङमा परेका सागर थापासहित ६ जनाले पाए सफाइ

काठमाडौं, जेठ २२ । विशेष अदालतले बहुचर्चित म्याच फिक्सिङ प्रकरणमा परेका तत्कालीन नेपाली राष्ट्रिय फुटबल टिमका कप्तानका सागर थापासहित ६ जना फुटबलरलाई सफाइ दिएको छ ।

विशेषबाट सफाइ पाउनेहरुमा तत्कालीन कप्तान सागर थापा तथा अन्य खेलाडीहरु विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई रहेका छन् । त्यसैगरी सफाइ पाउने अन्यमा प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापा पनि रहेका छन् ।

प्रहरीले अफगानिस्तान र बांग्लादेशसँगको खेलमा ‘म्याच फिक्सिङ’ को आरोपमा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित ६ जना खेलाडीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

कप्तान थापा, विकाससिंह क्षेत्री, रितेश थापा र सन्दिप राई र अञ्जन केसीलाई ‘म्याच फिक्सिङ’ गरेको आरोपमा पक्राउ गरेर विशेष अदालतमा मुद्दा चलाइएको थियो । बहालवाला आईजीपी सर्वेन्द्र खनाल अपराध अनुसन्धान महाशाकाका प्रमुख हुँदा उनीहरु पक्राउ परेका थिए ।

उनीहरुमाथि अफगानिस्तान र बंगालदेशसँग भएका खेलहरुमा म्याच फिक्सिङ गरेको अनुसन्धानबाट पत्ता लागेको थियो । पक्राउ परेका सबैलाई विश्व फुटबल महासंघ (फिफा) ले आजीवन प्रतिबन्ध लगाइसकेको छ ।