काठमाडौं, जेठ २१ । काभ्रेको पाँचखालमा इँटाभट्टा प्रदुषणबाट स्थानीय जनता निकै आक्रान्त हुन थालेका छन् । पटकपटक आन्दोलन र सरकारी निकाय तथा इँटाभट्टा साहुजीहरुसँग संझौता गरे पनिद प्रदुषणको मात्रा घट्नुको सट्टा उल्टै बढ्दै गएको छ ।
स्थानीय जनताका अनुसार कृषि सहरको रुपमा विकास गर्न खोजिएको यो स्थान अब मरुभूमिमा परिणत हुँदैछ । कृषिजन्य व्यवसायलाई प्राथमिकता राखिने परिकल्पना गरिएको भए पनि यो ठाउँ इटाभट्टाको सहर बन्न पुगेको छ ।
स्थानीय जनता प्रदुषणबाट निकै आक्रान्त छन् । पानीका मूलहरु सुक्दै गएका छन् । सागपात तरकारी धुँवाले कालैकालो भएर बिक्रि हुनसमेत छाडेको स्थानीय जनताले गुनासो गरेका छन् । घरका कौसी तथा झ्यालढाकाहरु बिहान उठ्दा कालैकालो हुने गरेको बताइएको छ । श्वासप्रश्वास तथा दमका विरामीहरु ओछ्यान परेका छन् । प्रत्येक सेकेण्ड लिइने श्वासमा यस्तो प्रदुषण भएपछि स्थानीयको जीवन वायुप्रदुषणको शिकार बनिरहेको छ ।
यति मात्र होइन, स्थानीय जनताको एकमात्र बाँच्ने आधार कृषिजन्य व्यवसायसमेत् जोखिममा परेको छ । सागपात सुक्ने गरेका छन् । जनताले प्रश्न गर्छन् के इटाभट्टा वातावरणमैत्री छन् ? स्थानीय जनतामैत्री छन् ? सरकारी मापदण्ड के त ? स्थानीय जनतामा यीबारे कुनै पनि जानकारी दिइएको छैन । पटक पटक सार्वजनिक सुनुवाइ गरे पनि सम्बन्धित निकायबाट यसको सुनुवाई हुन नसकेको प्रति स्थानीय जनताको खेद छ ।
धुवाँ प्रदुषणका कारण अहिले कृषि उब्जनीमा निकै कमी आएको छ । हाल यहाँ औपचारिक रुपमा दर्ता भएका आठवटा इँटा भट्टाहरु छन् । यस अतिरिक्त अन्य स्थानीय भट्टाहरु पनि छन् । तिनीहरु सबैले वातावरण मैत्री प्रविधिको प्रयोग गरेका छन् छैनन् भन्ने कुरामा स्थानीय जनता जानकार छैनन् । ती भट्टाका चिम्नीहरु कस्ता छन्, सोको पनि पत्तो छैन ।
कृषि पेसा व्यवसाय चौपट भएको भन्दै स्थानीय जनताले आपत्ति जनाएका छन् । पाँचखालमा रहेको यो घना बस्ती भएको एलाका न त स्वास्थ्यका लागि उपयुक्त छ, न त कृषियोग्य भूमिका लागि । रोपिएका धान, मकै, गहुँ जस्ता खाद्यान्न बाली तथा फलफूल सबै सुक्ने गरेका छन् । पातमा कालो धुवाँ र धूलोले ढाकेपछि विरुवाले सूर्यको उपस्थितिमा पातमा आफ्नो खाना बनाउने फोटोसिन्थेसिसको प्रक्रिया नै बन्द भएकाले खाद्यान्न बाली चौपट हुन पुगेको बाली विशेषज्ञहरुले बताएका छन् ।
विज्ञहरु भन्छन्– जलवायु परिवर्तनको असर विश्वभरि नै परिरहहेको छ, तर काभ्रेको पाँचखालमा भने त्यहाँको आफ्नै खाले प्रदुषणले बढि नै असर पारिरहेको छ । यस बाहेक छिट्टै लाभ लिन चाहने कृषकको लोभ, हाइब्रिड बीऊ बिजनको प्रयोग, विषादीकोे अत्यधिक प्रयोग पनि बालीनाली नहुनुमा सहायक कारणहरुमा परेका छन् ।
स्थानीय जनता भने इँटा भट्टाको दादागिरीलाई बिना ढिलाइ अन्त्य गरिनुपर्ने कुरालाई प्राथमिकताका साथ कार्यान्वयन लैजानुपर्ने जिकिर गर्दछन् ।