
बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) बर्दियाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले लोकेशलाई जिल्ला सेक्रेटरीमा निर्वाचित गरेको छ । शनिबार सम्पन्न अधिवेशनको उद्घाटन सत्रलगत्तै बसेको बन्द सत्रले ११ पूर्ण र ४ वैकल्पिकसहित १५ सदस्यीय प्रस्तावित कमिटि निर्वाचित गरेपछि बसेको पहिलो बैठकले सेक्रेटरीमा लोकेशलाई निर्वाचित गर्दै पाँच सदस्यीय जिल्ला सचिवालय समेत निर्माण गरेको छ । दुईजना पछि थप्ने गरी विष्णु र भुकम्पलाई सचिवालयमा राखिएको छ ।

नयाँ निर्वाचित कमिटिको पहिलो बैठकले पार्टीको प्रदेश अधिवेशनलाई लक्षित गर्दै पार्टी, देजमो, जवस÷मोर्चाका सांगठानिक अभियानलाई तीव्रता दिने, जिल्लाको बढैयाताल गाउँपालिकामा पर्ने सीमा क्षेत्रमा भारतीय पक्षबाट भएको सीमा अतिक्रमणका विरुद्धमा जेठ २६ गते सीमा स्थलमै कार्यक्रम गरी विरोध प्रदर्शन गर्ने, खेतीको मौसम सुरु भएकोले जिल्लाका पार्टी नेता कार्यकर्ताहरु जनताकोमा गएर सामूहिक श्रम गर्ने लगायतका निर्णय समेत गरेको सेक्रेटरी लोकेशले जानकारी दिनुभयो ।

पार्टी पिविएम भीषणको प्रमुख आतिथ्यता रहेको अधिवेशनमा पार्टी केसहरु शिशिर, संकुललगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन सत्र सभापतित्व लोकेशले गर्नुभएको थियो भने सञ्चलन युवा नेता भुकम्पले गर्नुभएको थियो । अधिवेशनमा महान जनयुद्धका सहिद तथा वेपत्ता परिवारका सदस्यहरु मोती कलिवली, पुष्पा भण्डारी, गंगाराम थारु, बाँके सेक्रेटरी अर्जुनलगायतको उपस्थिति रहेको थियो ।
करिब २ सय जना प्रतिनिधि पर्यवेक्षकको सहभागिता रहेको अधिवेशन गुलरियाको भृकुटी महिला सामुदायिक वनको प्राङ्गणमा आयोजना गरिएको थियो ।






























