नागरिकमाथि महंगी थुपार्दै ओली सरकार, ३ महिनामा पाँचपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

नागरिकमाथि महंगी थुपार्दै ओली सरकार, ३ महिनामा पाँचपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौं । वाम तथा कम्युनिष्ट सरकार भनेर नथाक्ने केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन गुजार्दै गर्दा पाँचपटकसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ भने दैनिक उपभोग्य वस्तुको भाउ दिनदिनै आकाशिदै गएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएसँगै दैनिक उपभोग्यवस्तुको भाउ अकाशिदै आएको छ । पछिल्लो बजेट भाषणसँगै अकाशिएको महंगीलाई नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आगोमाथि घ्यूको काम गरेको छ । र, आम नागरिकमाथि महंगी थुपारिएको छ ।

जेठ ३ गते मात्र पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको नेपाल आयल निगमले १९ जेठमा फेरि मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा स्थानीय बजारमा समायोजन नै नगरी अटेरी गर्दै आएको निगमले मूल्य समायोजनको नाममा पछिल्लो ३ महिनामै ५ पटक मूल्यवृद्धि गरेको छ ।

आयल निगमको सञ्चालक समिति बैठकले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा ३÷३ रुपैयाँ मूल्य बढाएको हो । मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य भने ९५ रुपैयाँ पर्छ ।
नयाँ मूल्यअनुसार झापा, विराटनगर, महेन्द्रनगर (धनुषा), वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढीमा पेट्रोलको मूल्य प्रति लिटर एक सय ११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको मूल्य ९३ रुपैयाँ ५० पैसा कायम गरिएको छ। पोखरा र दाङमा भने पेट्रोलको प्रति लिटर एक सय १२ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य ९४ रुपैयाँ ५० पैसा कायम भएको छ ।