
काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले पछिल्लो विकसित घटनाक्रमसँगै पत्रकारसँगको भेटघाट र अन्तक्र्रियालाई तीव्रता दिनुभएको छ । अध्यक्ष गजुरेलले आइतबार मूलधारका भनिएका छापा, इलेक्ट्रोनिक तथा अनलाइन मिडियामा कार्यरत विट हेर्ने पत्रकारहरुसँग भेटघाट अन्तक्र्रिया गर्नुभयो ।
काठमाडौंको डिल्लीबजारस्थित होटल भोजनगृहमा आयोजित पत्रकार भेटघाटमा विभिन्न २५ वटा मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो । सदनको प्रतिपक्षी कांग्रेसको भूमिका कमजोर भएको भन्दै पत्रकारहरुले सडकको प्रतिपक्षको रुपमा रहेको क्रान्तिकारी माओवादी तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले राष्ट्रियता, जनतन्त्र र जनजीवीका मुद्दाहरुलाई सशक्त रुपमा उठाउनुपर्ने सुझाव दिएका थिए ।

ओली नेतृत्वको सरकारले वाम, कम्युनिष्ट भन्दै जनतामा समाजवादको भ्रम छरिरहेको र सदनमा प्रस्तुत बजेट तथा नीति कार्यक्रमले पनि सरकारले दावी गरेजस्तो स्थायित्व र समृद्धि सम्भव नदेखिएको भन्दै देजमोले आफूलाई वैकल्पिक शक्तिको रुपमा अगाडि आउन निरन्तर राजनीति जागरण ल्याउने खालका रचनात्मक काममा जोडदिनु पर्ने उनीहरुले सुझाव दिएका थिए ।
पत्रकारहरुले राखेको सुझावप्रति धन्यवाद ज्ञापन गर्दै देजमो अध्यक्ष सीपी गजुरेलले वर्तमान ओली सरकारले राष्ट्रियता, जनतन्त्र, जनजीवीका लगायतका विकराल समस्याहरु समाधान नगर्ने भन्दै यी समस्याहरुको वास्तविक समाधानका लागि मुलुकमा अर्को नयाँ क्रान्तिको आवश्यकता रहेको र त्यो अभियानमा मिडियाको महत्वपूर्ण साथको आवश्यकता रहेको कुरामाथि जोड दिनुभयो । सरकारको सयदिन, नीति तथा कार्यक्रमलगायतका घटनाक्रम र सरकारको शैली हेर्दा मुलुकमा सामाजिक फासिवादी कदमहरु बढेर जाने र त्यसको असर मिडियामा पनि पर्ने दावी अध्यक्ष गजुरेलले गर्नुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री ओली र उनी नेतृत्वको सरकारका मन्त्रीहरुको दम्भ, घमण्ड र नोकरशाही कार्यशैली हेर्दा यो सरकार सामाजिक फासिवादतर्फ अगाडि बढ्न थालेको देखिन्छ । आलोचना सहनै नसक्ने ओली सरकारको पहिलो निशानामा मिडियाहरु पर्ने देखिन्छ । मिडिया र मिडियाकर्मीहरु यस विषयमा सचेत रहन जरुरी छ ।”
उहाँले सरकारले प्रस्तुत गरेको बजेटले उनीहरुले जनतामा बाँडेको समाजवाद, स्थायित्व र समृद्धिको सपना कति झुठ र हावादारी रहेछ भन्ने पुष्टि गरेको भन्दै भन्नुभयो, “विकासका लागि २३ प्रतिशत र नियमित तथा साधारण खर्चका लागि ७७ प्रतिशत बजेट छुट्याएर सरकारले आफै समृद्धि र स्थायित्व सम्भव छैन भन्ने पुष्टि गरेको छ । यो बजेट समाजवादी त के पुँजीवादी चरित्रको पनि छैन ।”

पत्रकारहरुको प्रश्नमा अध्यक्ष गजुरेलले भन्नुभयो, “शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सत्तारुढ पार्टीका नेता कार्यकर्ताहरुकै लगानी रहेकोले बजेटले शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरण र व्यापारीकरणलाई प्रश्रय दिएको छ । शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रको दायित्व नलिने सरकारले समाजवादको कुरा गर्नु भनेको जनतालाई बेवकुफ बनाउनु मात्र हो ।”
पत्रकार भेटघाट कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा प्रकाशन विभाग प्रमुख रामसिंह श्रीस, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, देजमोका केन्द्रीय सचिवालय सदस्य तथा कार्यालय सचिव हरिकृष्ण गजुरेल, मोर्चाका केन्द्रीय सदस्य गोर्की श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
यसैबीच, शनिबार मोर्चा अध्यक्ष सीपी गजुरेलले पार्टी निकटका पत्रकारहरुसँग पार्टी कार्यालय बुद्धनगरमा भेटघाट तथा अन्तक्र्रिया गर्नुभएको थियो । पछिल्लो समय विकसित राजनीतिक परिस्थिति क्रान्तिकारीहरुको पक्षमा विस्तारै अनुकूल बन्दै गएको भन्दै राष्ट्रियता, जनतन्त्र र जनजीवीका पक्षमा पत्रकारहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भएको थियो । क्रान्तिकारी पत्रकार महासंघमा आवद्ध समेत रहेका पत्रकारहरुले पार्टी तथा मोर्चाले फरक शैलीमा आन्दोलन तथा संघर्षका कार्यक्रमहरुलाई संगठित गर्दै लैजानुपर्ने सुझाव दिएका थिए ।






























