किन हिच्किचाएको छ कर्मचारी संयन्त्र सङ्घीय ढाँचामा ?

किन हिच्किचाएको छ कर्मचारी संयन्त्र सङ्घीय ढाँचामा ?

काठमाडौं, जेठ १७ । नेपालको कर्मचारी संयन्त्र हालको सङ्घीय संरचना र तदनुरुप बाँडफाँड गरिएको जिम्मेवारीलाई लिएर सन्तुष्ट छैन । सिङ्गो केन्द्रीय संचना अन्तर्गत पेशामा बहाल भएको, तर अहिले खण्डखण्डमा जिम्मेवारी दिएर पठाउँदा उनीहरुलाई खल्लो अनुभूत भएको छ । यसका केही तर्कपूर्ण र सोचनीय पक्षहरु पनि छन् ।

पहिलो, उनीहरुको केन्द्रसम्म पुग्ने र हुने पहुँचलाई सङ्घीयताले ब्रेक गरिदिएको छ । कुनै पनि कर्मचारीको उपल्लो ओहदासम्म पुग्ने लक्ष्यहुनु वा रहनु कसैका लागि घाटाको कुरा होइन । यो त अझ योग्यहरुको प्रतिस्पर्धाबाट देश र जनताले सुयोग्य कर्मचारी पाउनसक्ने सम्भावना पनि हो । तर स्थानीय, प्रदेश र सङघीय गरी तीनतहको सरकार हुने भएपछि स्थानीय स्थानीयमै सीमित, प्रदेश प्रदेशमै सीमित र केन्द्रको केन्द्रमै हालिमुहाली रहने परिपाटीलाई वर्तमान संरचनाले स्थापित गर्दै छ । यसबारे गम्भीरताका साथ सोचिनु पर्छ ।

दोस्रो कुरा, सङ्घीय संरचनाले ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन तहका कर्मचारी निर्माण गर्दै छ । समान शैक्षिक तथा अन्य योग्यता र काम कार्यान्वयनमा कुशलता भएपनि श्रेणीगत पद्धतिको प्रक्रियामा कर्मचारीलाई हालेको छ । यसले कर्मचारीको मनोबल गिराएको छ र भविष्यका संभावनाहरुमा अबरोध खडा गरिदिएको छ ।

तेस्रो कुरा, यो श्रेणी विभाजनले पक्कै पनि कर्मचारीले देश र जनताको सेवा गरेवापत् प्राप्त गर्ने सेवासुविधामा भिन्नता ल्याउने वा तलमाथि गराउने छ । यसले कर्मचारीको मनोभावना उत्साहित र प्रगतिउन्मुख गराउन बल पु¥याउँदैन ।

चौथो कुरा, कर्मचारीले आफूले सोचे वा विचार गरे अनुरुपको बजेट स्थानीय तथा प्रादेशिक सरकारसँग नहुने भएकाले घाम तापेर बस्ने वा ‘हुन त हो, तर बजेट छैन’ भनेर मुख निन्याउरो पारेर दिन बिताउनु पर्ने अवस्था आउने देखिन्छ । यसरी ‘काम पनि नहुने र फूर्सद पनि नहुने’ अवस्थामा उनीहरुले आफूहरु निकम्मा जागीरे हुनुपर्ला कि भनी सोच्न पनि थालेका छन् ।

पाँचौ कुरा, स्थानीय सरकार र प्रादेशिक सरकारमा कर्मचारीको शैक्षिक तथा अनुभवको योग्यता र निर्वाचित प्रतिनिधिहरुको शैक्षिक तथा अनुभवको योग्यता (सत्ता सञ्चालनका सन्दर्भमा) केही बेमेल हुने भएकाले पनि कर्मचारीहरु काममा जान उत्साहित छैनन् । नीति, योजना तथा काम कार्यान्वयनको सन्दर्भमा समान सोचको तह (लेबल अफ अन्डरस्ट्यान्डिङ) नभए सहकार्यमा जटिलता पैदा हुन्छ ।

अब लोकसेवा आयोगले पनि तीनतहको संरचनामा काम गर्ने निश्चित छ । यसले देशका लागि तीन तहका सरकारी कर्मचारी निर्माण गर्ने छ । उसै त पदसोपानको लालफित्ताशाही रहने कर्मचारी झन् राणकालीन ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा विभाजित हुन पुगेपछि कर्मचारीको मनोबल र कार्यसम्पादन कति गुणस्तरीय होला ? । यसबारे गम्भीरतापूर्वक सोचिनु पर्छ ।

स्वेच्छिक अवकासको कुरा उठ्दा धेरै कर्मचारीले अबकाशको बाटो रोज्नुका पछाडि मूलतः यिनै अप्ठ्रयाराहरुले काम गरेका छन् ।