काठमाडौं, जेठ १७ । पार्टी भित्र र बाहिरबाट पार्टीको चरित्र झल्कने गरी कम्युनिस्ट शब्द नराखी अर्कै नाम फेर्न सुझाव र दबाब आईरहेको बेला नेकपा अन्डरलाइनले फेरि नाम फेर्दै कोष्ठ भित्रको नेकपा राखेको छ ।
तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण पछि गठन गरिएको नेकपालाई निर्वाचन आयोगले आयोगमा दल दर्ता गर्न अस्वीकार गरेपछि नाम परिवर्तन गर्दै कोष्ठ भित्रको नेकपा राखेको हो ।
पार्टीले आजै (बिहीबार) नाम परिवर्तनका लागि आवाश्यक कागजपत्रसहित निर्वाचन आयोगमा पुगेर नाम परिवर्तनको प्रकृया अघि बढाउने भएको छ । अव पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी ब्राकेटमा (नेकपा) र अङग्रेजीमा एनसीपी राखिनेछ ।
नाम परिवर्तनबारे बुधबारको संसदीय दलमा समेत छलफल भएको थियो । छलफलमा नेता सुवासचन्द्र नेम्वाङ र अर्का नेता देव गुरुङले नयाँ नाम प्रस्ताव गरेका थिए । त्यसक्रममा अध्यक्ष केपी ओली र प्रचण्डले कसैलाई असर नपर्नेगरी नाम तय गर्नुपर्ने धारणा राखेका थिए ।नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले आज आयोगमा पुगेर औपचारिक पत्राचार गरिने बताए । आयोगमा नेकपाले ४४१ केन्द्रीय सदस्यको हस्ताक्षरसहित दर्ताका लागि यसअघि नै निवेदन दिइसकेको छ । औपचारिक छानबिनपछि आयोगले अन्तिम निर्णय गर्न बाँकी छ ।






























