जुझारु युवा शक्ति तयार पार्दै क्रान्तिकारी माओवादी

प्रकाशित मिति : २०७५ जेष्ठ ७

काठमाडौं । नेपालमा नयाँ जनवादी क्रान्तिको तयारीमा जुटिरहेको नेकपा (क्रान्तिकारी माओवादी) अहिले देशव्यापी रुपमा जुझारु युवा शक्ति निर्माणमा जुटेको छ । पछिल्लोपटक पार्टीको युवा संगठन क्रान्तिकारी युवा लिगका देशव्यापी गतिविधिहरु बढेर गएका छन् भने युवाहरुको वैचारिक, राजनीतिक तथा शारीरिक प्रशिक्षणलाई तीव्रता दिइएको छ ।

पार्टीको निर्णय र लिगको आयोजनामा ३ नं. प्रदेशको मकवानपुरबाट सुरु भएको क्रान्तिकारी युवाहरुको शारीरिक प्रशिक्षण अहिले २ नं.को सिरहा, ५ नं. को कपिलवस्तु हुँदै १ नं. प्रदेशको ओखलढुंगामा भइरहेको छ । पार्टीको पाँच महिने संगठन विस्तार तथा जनपरिचालन अभियानकै बीचमा क्रान्तिकारी युवा लिगको ३ नं. प्रदेशको आयोजनामा १४ बैशाखमा सैयौं युवाहरुको सहभागितामा काठमाडौंमा युवा मार्चपास सम्पन्न गरियो । त्यस्तै २ जेठमा ५ नं. प्रदेशको बुटवलमा पनि युवा मार्चपास सम्पन्न गरिएको छ ।

चारवटै प्रदेशमा चलाइएको युवाहरुको वैचारिक, राजनीतिक तथा शारीरिक प्रशिक्षणको उद्घाटन पार्टी महासचिव मोहन वैद्य‘किरण’ले गर्नुभएको छ । र, युवा मार्चपासलाई पनि महासचिव किरणले नै सम्बोधन गर्नुभएको छ । युवाहरुलाई जुझारु बनाउने उद्देश्यले मार्सल आटर््स, लाठी चलाउने लगायत सामान्य परेड खेलाइएको छ । क्रान्तिकारी माओवादीले ७ वटै प्रदेशहुँदै जिल्ला जिल्लामा युवाहरुलाई प्रशिक्षित पार्दै जुझारु शक्तिको रुपमा विकास गर्ने तयारी गरिरहेको छ ।

३ नं. प्रदेशको पार्टी निर्णय तथा क्रान्तिकारी युवा लिग ३ नं. प्रदेशको आयोजनामा २०७४ साल फागुन २८–२ चैतसम्म ५ दिने वैचारिक, राजनीतिक, सांगठनिक तथा शारीरिक प्रशिक्षणको उद्घाटन मकवापनुर जिल्लाको हेटौडा उपमहानगरपालिका हर्नामादीको गुम्बा डाँडाँमा पार्टीका महासचिव किरणले उद्घाटन गर्नुभयो । युवाहरुको यो तालिम रोक्न राज्यले प्रहरी हस्तक्षेप गर्न खोज्यो । तर हर्नामादीका जनताको साथ सहयोग र उच्च मनोबलसहित प्रशिक्षणमा सहभागी युवाहरुले प्रतिकार गरेपछि प्रहरीहरु पछि हट्न बाध्य भए । प्रशिक्षण सान्दार रुपमा सफल भयो ।

युवा जागरण तथा प्रशिक्षण कार्यक्रम नाम दिइएको युवाहरुको प्रशिक्षणको २ नं. प्रदेशको उद्घाटन गर्न महासचिव किरण २३, २०७४ चैत्रमा सिरहाको धनगढी नगरपालिकामा पर्ने खुट्टीखोला पुग्नुभयो । यहाँ पनि पाँच दिनसम्म सैयौं युवाहरुले वैचारिक, राजनीतिकसँगै शारीरिक तालिम लिए ।

त्यसैगरी २ जेठ २०७५ मा ५ नं. प्रदेशको कपिलवस्तुमा क्रान्तिकारी युवा लिगको प्रदेशको भेला तथा प्रशिक्षणको उद्घाटन गरी सोही दिन बुटवलमा आयोजना गरिएको युवा मार्चपासलाई पार्टी महासचिव किरणले सम्बोधन गर्नुभयो भने जेठ ५ गते शनिबार ओखलढुंगाको मोलुङ गाउँपालिकाको प्राप्चामा पुगेर १ नं. प्रदेशको युवाहरुको शारीरिक सहितको प्रशिक्षणको उद्घाटन गर्नुभयो । कपिलवस्तुको युवा प्रशिक्षणको समापन आइतबार भएको छ भने ओखलढुंगाको प्रशिक्षण ९ गतेसम्म चल्ने जनाइएको छ । ४, ६ र ७ नं. प्रदेशमा पनि युवाहरुको प्रशिक्षण आयोजनाको तयारी भइरहेको छ ।

नेपाली समाजको स्वरुप र पार्टीको आम कार्यदिशा, दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, नेपाली तथा विश्व कम्युनिष्ट आन्दोलनको इतिहास, भारतसँग गरिएका असमान सन्धिसम्झौता, सीमा समस्यालगायतका विषयमा वैचारिक तथा राजनीतिक प्रशिक्षण दिइएको छ । पार्टी महासचिव किरण, देजमो अध्यक्ष सीपी गजुरेल, स्थायी समिति सदस्य परि थापा, पिविएमहरु इन्द्रमोहन सिंग्देल, सीताराम तामाङ, केस हस्तबहादुर केसीलगायत नेताहरुले वैचारिक तथा राजनीतिक प्रशिक्षण दिनुभएको छ भने क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जनलगायत विभिन्न शारीरिक खेलका विज्ञहरुको सहयोगमा शारीरिक प्रशिक्षण दिइएको छ ।

क्रान्तिका लागि तीन जादुगरी हतियार क्रान्तिकारी पार्टी, क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी जनसेनाको आवश्यकता पर्ने भन्दै आएको क्रान्तिकारी माओवादीले पछिल्लो चरणमा युवा लक्षित कार्यक्रमलाई तीव्रता दिंदै आएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको समाधान अब जुझारु युवा शक्तिको प्रतिरोधपूर्ण गतिशिल परिचालनबाट मात्रै सम्भव हुने ठहर क्रान्तिकारी माओवादीले गरेको देखिन्छ ।

संसदीय व्यवस्थाको अन्त्य गरी मुलुकमा नयाँ जनवादी राज्यव्यवस्थाको स्थापना गर्ने मूल लक्ष्य राखेर दशवर्षसम्म चलाइएको महान जनयुद्धको अन्त्यको घोषणा गरी तत्कालीन नेतृत्व खासगरी प्रचण्डले संशोधनवादी बाटो अँगालेपछि अवरुद्ध हुन पुगेको नयाँ जनवादी क्रान्तिको प्रक्रियालाई अगाडि बढाउने उद्घोष गर्दै आएको क्रान्तिकारी माओवादीले आफ्नो आत्मगत अवस्थालाई सुदृढ बनाउँदै लगेको छ । प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) नवसंशोधनवादी बाटो हुँदै एमालेको प्रतिक्रियावादी पार्टीमा विलिन हुन पुगेपछि अब जनयुद्धको विरासत धान्ने र जनयुद्धको लक्ष्य हासिल गर्ने दिशामा माओवादी आन्दोलनलाई अगाडि बढाउने अभिभारा क्रान्तिकारी माओवादीको काँधमा आएको छ । क्रान्तिकारी माओवादी बाहेक अन्य कुनै पनि पार्टी वा शक्तिले क्रान्तिलाई वास्तविक अर्थमा अगाडि बढाउने देखिएको छैन । पछिल्लो पटक क्रान्तिकारी माओवादीले बढाउँदै लगेको गतिशिलता र सुदृढ पार्दै लगेको आत्मगत अवस्थाबाट आमूल परिवर्तनका पक्षधर जनतामा आशा एवम् विश्वास जागृत हुँदै गएको छ । र, छरिएर रहेका क्रान्तिकारीहरु पनि क्रान्तिकारी माओवादीकै नेतृत्वको वरिपरि ध्रुवीकृत हुँदै गएका छन् । आगामी दिनमा यो प्रक्रियाले अझ तीव्रता पाउने देखिएको छ ।