एमाले–माकेको कथित एकतालाई कसरी हेर्ने ?

एमाले–माकेको कथित एकतालाई कसरी हेर्ने ?

यतिवेला देशको राजनीतिमा एमाले र माके बीचको एकताले प्राथामिकता पाएको छ । र, संचार क्षेत्र पनि त्यो एकताको पक्षमा बढीनै केन्द्रीत भएको देखिन्छ । जहाँसम्म एमाले र माकेको पार्टी एकताको कुरा छ, त्यसलाई कसरी हेर्ने ? एकताले देशको रानीतिमा कस्तो प्रभाव पार्ला ? र, कम्युनिष्टहरुले यो एकताप्रति कस्तो नीति अवलम्बन गर्ने भन्ने जस्ता विषयहरुमा छलफल गर्न जरुरी छ ।

सामान्यरुपमा हेर्दा दुई अलग अलग पार्टी एकै ठाँउमा आउनु आफैमा नराम्रो कुरा होईन, तात्कालिक दृष्टिकोणले मात्र हेर्दा विषय सकरात्मक देखिए पनि कम्युनिष्ट आन्दोलनको कोणबाट हेर्दा यो एकताले गम्भीर नकरात्मक परिणाम दिएको छ । संसदीय प्रतिक्रियावादी राज्यसत्ता विरुद्ध संघर्षको नेतृत्व गर्दै आएको माओवादी शक्तिको एउटा ठूलो हिस्सा संसदीय व्यवस्थामा समाहित हुने कुरा आफैमा राम्रोे विषय थिएन र होईन । तर भयो त्यही । सबै विषयको फैसला कार्यदिशाले गर्दछ भन्ने माओको भनाई फेरी एकपटक सबैको मानसपलटमा घुमीरहेको छ । कार्यदिशा सही छ भने नभएको चिज पनि प्राप्त हुन्छ । यदि कार्यदिशा गलत छ भने भएको चिजपनि गुम्नेछ भन्ने भनाई माकेको सन्दर्भमा राम्रो सँग उद्घाटित भएको छ । त्यो कुरा खाली माकेको सन्दर्भमा मात्र होईन सबैको सन्दर्भमा पनि सत्य हो । एमाले र माकेको पार्टी एकताको विषयलाई कतिपय बुद्धिजीवीहरुले कम्युनिष्ट एकताको रुपमा अथ्र्याइरहेका छन् । त्यो सरासर झुट र गलत प्रचार मात्र हो । यो एकता कम्युनिष्ट एकता होईन, मात्र तात्कालिक लाभका लागि गठजोड मात्र हो । जहाँसम्म कम्युनिष्ट पार्टीको एकताको कुरा छ त्यो वैचारिक, राजनैतिक तथा संगठनात्मक सिद्धान्तमा आधारित हुन्छ र त्यसले तात्कालिक लाभका आधारमा होइन समग्र कम्युनिष्ट आन्दोलन र अभियानलाई केन्द्रमा राखेर नै एकीकरण र ध्रुवीकरण गर्दछ र गर्नुपर्दछ । अवसरवादी उदेश्यद्धारा प्रेरेरित एमाले र माकेको एकताले कम्युनिष्ट आन्दोलनमा तत्कालमा केही भ्रम सृजना अवस्य गर्नेछ । र, ती भ्रमलाई चिर्न तथा कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्न क्रान्तिकारी शक्तिहरुले विशेष भूमिका खेल्नु पर्ने आवश्यकता छ । स्वयं एमाले र माकेमा रहेका क्रान्तिकारीहरुले पनि यो विषयलाई समय मै सोच्न जरुरी छ ।

एमाले र माके बीचको एकता कम्युनिष्ट मूल्य मान्यता र आदर्शको जगमा होईन, संसदीय व्यवस्थामा कसरी बढी फाइदा लिने भन्ने उदेश्यद्वारा नै निर्देशित छ । सो कुरा स्वयं एमाले र माकेका नेताहरुले नै घोषणा गरीरहेका छन । पार्टी एकताको घोषणासभालाई सम्बोधन गर्दै सो पार्टीका नेता तथा प्रधानमन्त्री केपी शर्मा वलीले भनेका छन “हामी अब एउटा प्रदेश वाहेक सबै प्रदेश र संघीय संसदमा स्पष्ट वहुमतको पार्टी बनेका छौं र स्थानिय तहमा पनि हाम्रो स्पष्ट वहुमत छ, अब हामीलाई कसैले केही गर्न सक्दैन ।” उपरोक्त भनाईले नै स्पष्ट गर्दछ यो एकताको केन्द्रीय विषय वस्तु वर्तमान सरकारलाई निरन्तरता दिन र संसदमा वहुमत कायम राख्ने उदेश्यद्वारा प्रेरेरित छ । एक अर्को प्रसंगमा केपी शर्मा वलीले भनेका थिए “हामी विचारधारात्मक कम्युनिष्ट होईनौं, राजनैतिक कम्युनिष्ट हौं” यो भनाईले पनि उनीहरु कम्युनिष्ट नभएको कुरा स्पष्ट गर्दछ । तर नेपालको जनमत कम्युनिष्ट आन्दोलन प्रति दृढ रहेकोले उनीहरुले कम्युनिष्ट पार्टीको नाममा भ्रम सृजना गर्दै आइरहेका छन् । जबसम्म क्रान्तिकारीहरुले दक्षिणपन्थी संसोधनवादीहरुका भ्रमलाई चिर्न र शसक्त पार्टी निर्माण गर्न सक्दैन यतिवेला सम्म यसप्रकार भ्रमहरु कायमै रहन्छन । यही विषयलाई ध्यान दिंदै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले आफ्नो राष्ट्रिय सम्मेलनबाट स्पष्ट नीति, कार्यक्रम र योजना साथ क्रान्तिकारी शक्तिहरुलाई एकीकरण र ध्रुविकरण गर्ने उदेश्य सहित प्रस्तावहरु अगाडि सार्दै आइरहेको छ । ती प्रस्तावहरुको सान्दर्भीकता र महत्व अरु बढेर गएको छ । एमाले माकेको एकता संसोधनवादी र अवसरवादी गठजोड मात्र रहेकोले सबै क्रान्तिकारी शक्तिहरु गम्भीर हुन जरुरी छ । अवसरवाद तथा संसोधनवादका विरुद्धको वैचारिक संघर्ष शक्तिसाली क्रान्तिकारी पार्टी निर्माणद्वारा नै दिन सकिनेछ । र, त्यसका लागि मुख्यतः क्रान्तिकारी वर्ग, समुदायमा भर परेर नै पार्टी निर्माण गर्न जरुरी छ । त्यतिमात्र होइन अलग अलग ठाँउमा रहेका क्रान्तिकारी शक्तिहरु पनि पार्टी निर्माण कार्यमा एकजुट हुन आवश्यक छ । एकतालाई भावनात्मक भाव पैदा गर्ने उदेश्यद्वारा मात्र होईन, विचारधारात्मक आधारमा निर्माण गर्नू पर्दछ । वैचारिक, राजनैतिक तथा संगठनात्मक सिद्धान्तका जगमा सिद्धान्तनिष्ठ एकताले मात्र त्यो कार्यभार पुरा गर्न सक्दछ ।

कम्युनिष्ट पार्टीे निर्माणको सन्दर्भमा लेनिनको यो भनाइ समसामयिक छ । “पहिले हाम्रो पार्टी विधिवत रुपमा संगठित संस्था थिएन, बरु छुट्टा छुट्टै समूहहरुको योग मात्र थियो, त्यसैले ती समूहहरुको माझमा विचारधारात्मक प्रभावको सम्बन्ध वाहेक अन्य सम्बन्धहरु हुन सम्भव थिएन । अब हामी संगठित पार्टी बनिसकेका छौं ।” उपरोक्त भनाईले एमाले र माकेको पार्टी एकता र हाम्रो पार्टी निर्माणको संकल्प दुवै कुरालाई प्रतिनिधित्व गर्दछन् । जस्तो एमाले र माकेको पार्टी एकता विधिवत पार्टी होईन त्यो मात्र गुटहरुको योग हो । र, त्यसप्रकारका गुटले क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्न सक्दैन र त्यो आफ्नो अवसरवादी स्वार्थका लागि जोडिएको जमात मात्र हो भने हाम्रो पार्टी निर्माण र एकताको संकल्प देशको राष्ट्रिय स्वाधिनताको रक्षा तथा उत्पीडित वर्ग र समुदायको मुक्तिका साथै विश्व सर्वहारा वर्गको आन्दोलनलाई निरन्तर अगाडि बढाउने महान उदेश्यद्वारा प्रेरित छ ।