राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म बाणिज्य बैंकहरु २४३ ठाउँमा जाने भनेपनि ११६ ठाउँमा मात्रै

प्रकाशित मिति : २०७५ जेष्ठ ४

काठमाडौं, जेठ ४ । आफूले प्रतिबद्धता गरे अनुसार नेपाल राष्ट्र बैंकले बैशाख मसान्तसम्म २४३ स्थानीय तहमा बाणिज्य बैंकलाई शाखा खोल्न निर्देशन दिएता पनि १२७ स्थानीय तहमा अझै बैंकले शाखा खोल्न सकेका छैनन् ।

राष्ट्र बैंकको निर्देशन अनुसार ११६ स्थानीय तहमा बैंक गएको छ । योसँगै बाणिज्य बैंकको शाखा भएको स्थानीय तहको संख्या ५ सय १० पुगेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ७५३ वटा स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने लक्ष्य लिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अद्र्धवार्षिक समिक्षामार्फत पनि बाणिज्य बैंकको शाखा विस्तारमा कडाईको नीति लिएको छ ।

सोही नीति मार्फत बैंकले कम्तीमा २ स्थानीय तहमा शाखा विस्तार गरेपछि मात्र काठमाडौं र ललितपुरमा शाखा खोल्न पाउने प्रावधान ल्याएको हो ।

त्यसपछि फेरी केन्द्रीय बैंकले सबै स्थानीय तहमा बैंक जान आनाकानी गरेपछि बैशाख मसान्तसम्म आफूले प्रतिबद्धता जनाएको २४३ स्थानीय तहमा बैंकको शाखा खोल्न कडाइका साथ निर्देशन दिएको थियो ।

यो समयमा ११६ वटा स्थानीय तहमा मात्र बैंक पुगेका छन् । योसहित अहिले बाणिज्य बैंक भएको स्थानीय तहको शाखा ५ सय १० पुगेको हो । अझै २४३ स्थानीय तह बैंकविहीन छ ।

राष्ट्र बैंकले हरेक वाणिज्य बैंकलाई कम्तिमा १६ स्थानीय तहमा जान निर्देशन दिएको थियो । चालु आवको बजेटले पनि प्रत्येक स्थानीय तहमा बाणिज्य बैंकको शाखा खोल्ने व्यवस्था गरेको छ ।

बजेट कार्यान्वयनकै लागि भएपनि प्रत्येक स्थानीय तहमा बाणिज्य बैंकको एउटा शाखा चाहिन्छ । बाणिज्य बैंकमा मात्र सरकारले सञ्चित खाता खोल्न पाउने व्यवस्था छ ।