माकेको एमालेमा विलय : इतिहासले गरेको मजाक

प्रकाशित मिति : २०७५ जेष्ठ ४

- इन्द्रमोहन सिग्देल 'बसन्त'

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा ३ जेठ २०७५ गते इतिहासले एउटा मजाक गरेको छ । ३ जेठमै प्रधानमन्त्री निवास बालुवटारमा बसेको नेकपा (एमाले) र नेकपा (माके)को संयुक्त बैठकबाट केपी ओली र पीके दाहालले आ–आफ्ना नेतृत्वका पार्टी विघटन गरेर एउटै पार्टी निर्माण गरेका छन् । यसको घोषणा राष्ट्रिय सभा गृहमा आयोजित एकता घोषणा शभाबाट गरिएको छ । पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राखिएको छ । पार्टीको मूल नेतृत्वमा दुई जना अध्यक्ष, ९ जनाको सचिवालय, ४५ जनाको स्थायी समिति र ४४१ सदस्य रहेको केन्द्रीय समितिको निर्माण गरिएको कुरा पत्रपत्रिकामा प्रकाशित भएका छन् । ‘नेपाली क्रान्ति जिन्दावाद’ भन्ने नारा सहित तयार पारिएको सपथ ग्रहण पत्रमा ‘माक्र्सवाद–लेनिनवाद’लाई पार्टीको पथप्रदर्शक सिद्धान्त भनिएको छ । ६–बूंदे घोषणापत्रमा उनीहरुले समाजवाद उन्मुख जनताको जनवादलाई पार्टीको आगामी कार्यक्रम हुनेछ भनेका छन् ।

यस परिघटनाले नेपालको समग्र राजनीतिक क्षेत्र र विशेषतः नेपालको वाम राजनीतिक बृत्तमा एउटा तरङ्ग पैदा गरेको छ । प्रतिस्पर्धी राजनीतिक पार्टी नेपाली काँग्रेसले यो एकतालाई टाउकोमा खसेको बज्रपात ठानेको छ र तिनीहरुले नयाँ पार्टीमा हेपाहा प्रवृत्ति विकास हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । नेताको दौराको फेरो समातेर भ्रष्टाचार गर्न पल्केका कतिपय दलाल तथा ठेकेदारहरुले यसलाई एउटा बरदान सावित हुने अपेक्षा गरेका छन् । कतिपयले यो एकतालाई आफ्नो उज्ज्वल राजनीतिक भविष्यको बाहक मानेका छन् । कम्युनिस्ट समर्थक जनताहरुको तहमा भने त्यति उत्साह देखिंदैन । प्रायः सबै पार्र्टीका सरकार देखेका जनता पर्ख र हेरको मनस्थितिमा छन् । तैपनि एकताले देशमा स्थायित्व र समृद्धि दिने जुन एकोहोरो प्रचारबाजी गरिएको छ, त्यसबाट सामान्य जनतामा अब केही भैहाल्छ कि भन्ने भ्रम पनि परेको छ । यो एकताबाट माकेका कार्यकर्ताहरु अलि बढी उत्साहित र एमालेका कार्यकर्ताहरु अलि सशंकित भएको देखिन्छ ।

इतिहासतिर फर्केर हेर्दा नेकपा (माओवादी) र नेकपा (एमाले) विपरीत ध्रुवमा उभिएका दुई अलग–अलग कम्युनिस्ट पार्टीहरु हुन् । एमालेले ०४६को जनआन्दोलनको लगत्तै संवैधानिक राजतन्त्र र संसदीय बहुदलीय व्यवस्था अन्तर्गत शान्तिपूर्ण प्रतिस्पर्धा गर्न जनताको बहुदलीय जनवाद जस्तो घोर दक्षिणपन्थी संशोधनवादी कार्यदिशा अवलम्बन गरिसकेको थियो । त्यसको लगत्तै तात्कालिन माओवादी संसदीय व्यवस्थाका विरुद्ध नयाँ जनवादी गणतन्त्र स्थापना गर्न संसदीय व्यवस्थाका विरुद्ध युद्धको शंखघोष गर्ने क्रान्तिकारी पार्टीका रुपमा स्थापित भएको थियो । हिजो यी पार्टीहरु विपरीत ध्रुवमा उभिएका थिए । ०५२ पछि, नेकपा (माओवादी)ले प्रतिक्रियावादी संसदीय व्यवस्थालाई ध्वंश गरेर नयाँ जनवादी सत्ता स्थापना गर्न क्रान्तिकारी युद्धमा जनसेनाको नेतृत्व गरेको थियो भने नेकपा एमालेले संसदीय व्यवस्थाको रक्षा गर्न प्रतिक्रियावादी सत्ताको सेनाको बलमा माओवादीमाथि भीषण दमन अभियान चलाएको थियो । माओवादी नेताहरुको टाउकाको मूल्य तोक्न कांग्रेसको सरकारले गरेको प्रस्तावमा एमालेका नेताहरुले आँखा चिम्लेर सही धस्काएका थिए । नेपालमा यो धेरैलाई थाह छ ।

माथि जे भनियो त्यो यो पंक्तिकारको मनोगत लाञ्छना होइन । एमालेलाई हेर्ने माओवादीको दृष्टिकोण हिजो के थियो भन्ने कुरा माओवादीको दस्तावेजमा हेरे छर्लङ्ग हुन्छ । २०५४ मा पार्टीको प्रकाशन विभागद्वारा प्रकाशित ऐतिहासिक दस्तावेजहरु भन्ने पुस्तिकाको पृष्ठ ७१ को प्याराग्राफ २ मा नेकपा (माओवादी) लेख्दछ, “यहाँनेर विशेष ध्यान दिनुपर्ने कुरा के छ भने एकातिर दक्षिणपन्थी संशोधनवादी एमाले गुट प्रतिक्रियावादमा पतन भएको तर जनसमुदायमा त्यो रुपमा उदाँगो भइनसकेको र अर्कोतिर हाम्रो पार्टी क्रान्तिकारी विकल्पको रुपमा देखा परेको तर त्यो व्यवहारतः जनसमुदायमा स्थापित भइनसकेको आजको कम्युनिस्ट आन्दोलनको स्थितिले मसाल, विसर्जनवादी लगायतका गुट–उपगुटहरु मिली हिजो एमाले गुटको दक्षिणपन्थी संशोधनवादका स्तरमा बसेरै जनतालाई नयाँ ढङ्गले भ्रम दिने कोशिस भैरहेको छ । यो स्थितिमा दक्षिणपन्थी संशोधनवादको नयाँ घेरा तयार पार्ने यो प्रक्रियाका विरुद्ध सैद्धान्तिक, राजनैतिक भण्डाफोर तीब्र पार्दै मुख्यतः क्रान्तिकारी संघर्षको विकासमा गम्भीरतापूर्वक लागेर जनतालाई भ्रम दिने संशोधनवादको नयाँ षड्यन्त्रलाई चकनाचुर पार्न जरुरी भएको छ ।” यो आफै स्पष्ट छ, यसको थप व्याख्या गरिराख्नु आवश्यक छैन ।

अहिले के त्यस्तो नयाँ परिस्थिति तयार भयो, जसले गर्दा दुईवटै पार्टीहरु एकै ठाउँमा उभिन सके ? माके र एमालेका बीचमा पार्टी एकता हुनका लागि, निम्नुसारका दुईवटा मध्ये कुनै एउटा स्थितिको निर्माण हुनु पर्दथ्यो । एक, एमाले क्रान्तिकारी बनेर माओवादीको ठाउंमा आईपुगेको हुनु, दुई, माओवादी केन्द्र प्रतिक्रियावादी भएर एमालेको ठाउंमा पुगेको हुनुु । स्पष्ट छ, ठीक विपरीत दिशामा हिंडेका दुई यात्रुहरु कुनै एउटाले युटर्न नगरी कसरी एउटै ठाउंमा आउन सक्छन् ? तर्क गर्न सकिएला, राजतन्त्र गयो, नयाँं परिस्थिति बन्यो र पार्टीहरु एक ठाउंमा आईपुगे । तर के नेपाल साम्राज्यवादी तथा विस्तारवादी उत्पीडनबाट मुक्त भयोे ? के नेपाली मजदुर, किसान, जनजाति, दलित, महिला, मुश्लिम, मधेशी लगायतका उत्पीडित जनसमुदायले हिजोको सामन्ती उत्पीडनबाट मुक्ति पाए ? के देश अर्ध–सामन्ती तथा अर्ध–नव औपनिवेशिक अवस्थाबाट मुक्त भई नेपालमा जनगणतन्त्रको स्थापना भयो ? हाम्रो राष्ट्रिय स्वाधीनताको स्थितिलाई हालैको मोदीको भ्रमणले पनि देखाएन र ? यथार्थ त यो हो, आन्तरिक र वाह्य उत्पीडनको स्थिति अत्यन्त भयावह बन्दै गएको छ । आर्थिक पराधिनता दिन दुगुना रात चौ गुना भएको छ । जनताका समस्या झन विकराल बनेका छन् र राजनीतिक क्रान्ति अनिवार्य आवश्यकता बनेर गएको छ ।
यहाँ सबैले स्पष्ट बुझेको कुरा के हो भने, एमाले हिजो पनि संसदवादी प्रतिक्रियावादी पार्टी थियो र आज पनि त्यही छ । उसले हिजोको आनो वैचारिक तथा राजनीतिक अडानमा कुनै परिवर्तन गरेको छैन । तर अहिले यी दुई पार्टीका बीचमा पार्टी एकता भएको छ । यो कसरी संभव भयो ? यसको अर्थ स्पष्ट हुन्छ, यो पार्टी एकता माओवादी केन्द्रको एमालेकरण हुनुको परिणाम हो । अर्थात्, अर्को शव्दमा माओवादी केन्द्र एमालेको ठाउंमा आईपुगेर यो एकता संभव भएको हो । यो माओवादी केन्द्रको एमालेमा वैचारिक विलय हो । अरु केही पनि होइन । हिजो यही प्रतिक्रियावादी सत्ताका विरुद्ध हतियार उठाउने माओवादी अहिले त्यही सत्ताको आडमा क्रान्तिकारीहरुमाथि दमनको भाषा बोेल्न सुरु गरिसकेको छ । यसले पनि विषयलाई अझ स्पष्ट पार्दछ ।

अर्को एउटा प्रश्न उठ्छ, के माओवादी केन्द्रको एमालेकरण अहिले मात्र भएको हो ? होईन, यो प्रक्रिया पहिल्यैदेखि नै सुरु भैसकेको थियो । अहिले आएर त यो बाहिर प्रकट भएको मात्र हो । जुन दिनदेखि तात्कालिन माओवादीले एक्काईसौ शताब्दीको जनवादको प्रस्ताव अगाडि सारेको थियो, त्यही प्रस्तावमा माओवादीको एमालेकरण हुने विचारले गर्भाधारण गरेको थियो । चुनवाङ्ग बैठकका बेलामा लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेर प्रचण्डले एमालेको पुच्छर समातिसकेका थिए । पछि, संविधानसभाको चुनाव, राज्यसत्ताको पुनर्संरचना र १२–बुंदे समझदारीले माओवादीको एमालेकरण हुने प्रक्रियामा एक–एकवटा ईटा थपिरहेका थिए । कथित बृहत शान्ति–संझौता, जनयुद्ध समाप्त भएको घोषणा, जनसत्ताको विघटन, जनसेनाको निशस्त्रीकरण, जनमुक्ति सेनाको नेपाली सेनामा विलय र अन्तमा दोस्रो संविधान सभाबाट प्रतिक्रियावादी संविधान निर्माण हुने विन्दुसम्म आईपुग्दा वैचारिक र राजनीतिक हिसाबले माओवादीको एमालेकरण हुने प्रक्रिया सारतः पुुरा भैसकेको थियो । केवल नाम र रुपमा मात्र माके र एमाले नामका दुई भिन्न पार्टी अस्तित्वमा रहेका थिए । अहिलेको यो एकता माओवादीमा संचित हुंदै गएको मात्राले गुणमा हानेको छलाङ्ग मात्र हो । अर्को शब्दमा अहिले त प्रचण्डले क्रमभङ्ग गरेका मात्र हुन् । यो प्रचण्डको प्रतिक्रियावादमा भएको पतनको खुला र घोषित अभिव्यक्ति हो । यो समग्र प्रक्रियाले संशोधनवाद भनेको अन्ततः प्रतिक्रियावाद हो भन्ने अध्यक्ष माओको भनाईलाई पुनः पुष्टि गरेको छ ।

माके एमाले एकता प्रक्रिया मार्फत् एउटा क्रान्तिकारी इतिहास बोकेको नेतृत्व प्रतिक्रियावादी पार्टीमा विलय भएको छ । यस्तो होस् भन्ने शायद कसैको पनि चाहना थिएन । तर, यो निर्णयबाट आउने दिनमा प्रचण्डहरुले हिजो गरेको त्याग र वलिदानलाई देखाएर इमान्दार कार्यकर्ता र जनतालाई भ्रम दिने स्थितिकोे भने विधिवत अन्त भएको छ । प्रचण्डले आफ्नो कित्ता स्पष्ट गरेका छन् । अब माओवादीको नामबाट उनले पुरानो त्यागको ब्याज खान र जनतामा भ्रम छर्न पाउने छैनन् । माओवाद, जनयुद्ध, क्रान्ति, नयाँ जनवाद आदि अब उनका मुखबाट कसैले पनि सुन्नु पर्ने छैन । यो एकताबाट उनले प्रतिक्रियावादी सार अनुसारको रुपमा छलाङ्ग मारेका छन् । यस अर्थमा भने प्रचण्ड धन्यवादका पात्र छन् र यही नै माके–एमालेको नकारात्मक एकताभित्रको सकारात्मक पक्ष हो ।

हाम्रो देश नेपाल कम्युनिस्टहरुका लागि एउटा अत्यन्त उर्वर भूमि हो । इतिहास साँक्षी छ नेपाली जनताले सँधै क्रान्ति र परिवर्तनको पक्षमा साथ दिंदै आएका छन् । तर नयाँ बनेको पार्टीको मार्गदर्शक विचारमा माओवाद भन्ने पदावली कहीं कतै रहेको छैन । समाजवाद उन्मुख जनताको जनवाद भन्ने अमूर्त कुरा मात्र अगाडि सारिएको छ । शान्तिपूर्ण संसदीय संघर्षलाई आगामी बाटो बनाइएको हुनाले क्रान्तिकारी कार्यकर्ता र सचेत जनताले यसमा साथ दिने छैनन् । बरु हिजोसम्म भ्रमपूर्वक माकेमा अल्झिएर बसेका क्रान्तिकारी नेता तथा कार्यकर्ता र सचेत जनता सच्चा क्रान्तिकारी कम्युनिस्टहरुको बृहत् एकता र ध्रुवीकरणको प्रक्रियामा सामेल हुने कुरा अनिवार्य छ । यसले क्रान्तिकारीहरुका बीचमा हुने एकता र ध्ुवीकरणको नयाँ संभावनातर्फ र्इंगित गर्दछ । यो सच्चा कम्युनिष्ट पार्टी र क्रान्तिका लागि निकै सकारात्मक कुरा हो । यसलाई कम्युनिस्ट क्रान्तिकारीहरुले गंभीरतापूर्वक आत्मसात गर्नु पर्दछ र सच्चा माओवादीहरुका बीचको एकता प्रक्रियालाई भोलीको होइन आजको कार्यसूचि बनाउनु पर्दछ ।

यहाँ जोड दिनुपर्ने कुरा के छ भने आउने दिनमा हिजो कै जस्तो तरिकाले मात्र नेपालमा क्रान्तिकारी आन्दोलनको विकास संभव छैन । हामीले नवसंशोधनवाद तथा नयाँ प्रतिक्रियावादी गठजोडको राजनीतिक र वैचारिक भण्डाफोर जति बढी गर्न सक्छौं, त्यति नै छिटो क्रान्तिकारी रुपान्तरणको प्रक्रिया अगाडि बढ्छ । हामी पनि प्रचण्डहरुको प्रदुषित हावाबाट धेरथोर प्रभावित छौ । क्रान्तिकारी रुपान्तरण, वैचारिक तथा राजनीतिक कार्यदिशाको समृद्धि, स्पष्ट सामरिक कार्यदिशाको निर्माण र मुख्यतः युवाहरुमा संगठन विस्तार नेपाली कम्युनिस्ट आन्दोलनको पछिल्लो चरणमा खड्किंदै आएका विषय हुन् । साँच्चै हामीले हिम्मत गर्छौ भने कम्युनिस्ट ध्रुवीकरणको नाममा प्रतिक्रियावादीहरुले गरेको यो सांगठनिक घेराबन्दी तोड्न र वैचारिक तथा राजनीतिक विकासका आधारमा नेपालमा क्रान्तिकारी आन्दोलनको विकास गर्न हाम्रा लागि यो एउटा उपयुक्त अवसर पनि हो । विकासको संभावना सामान्य स्थितिमा होइन, संकट र दुश्मनहरुले गरेको घेराबन्दीको बीचमा बढी हुन्छ । प्रतिक्रियावादीहरुले छरेको भ्रम धेरै दिन टिक्न सक्दैन । यसलाई आत्मसात गरौं र चुनौतीलाई संभावनामा बदल्न आ–आफ्नो ठाउंबाट उठौं, क्रान्ति अवश्यंभावी छ ।
जेठ ३, २०७५