
काठमाडौं, वैशाख १९ । महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी साढे ३३ केजी सुनकाण्डमा मुछिएर पक्राउ परेका छन् ।
प्रकरणको अनुसन्धान गर्न गठित समितिले उनलाई बयानका लागि बोलाएको थियो । र, मंगलबार दिउँसो उनी जिल्ला प्रहरी कार्यालय, मोरङमा उपस्थित भएका थिए ।

उनलाई बयानपछि पक्राउ पूर्जी थमाइएको प्रहरी स्रोतले जनाएको छ । प्रकरणमा लोहनीसहित पक्राउ पर्नेको संख्या २९ पुगेको छ । मोरङ प्रहरीले बुधबारै अन्य फरार प्रतिवादीसहित ६२ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराउँदैछ ।
लोहनी प्रमुख रहेका वेला महाशाखाका डिएसपी प्रजित केसीको नेतृत्वमा पूर्व गएको टोलीको अनुसन्धानमाथि नै प्रश्न उठेपछि सुन प्रकरणले उग्र रूप लिएको थियो । टोलीमा रहेका डिएसपी केसी, सई बालकृष्ण सञ्जेल लगायत यसअघि नै पक्राउ परिसकेका छन् ।
सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ को सहयोगी उर्लाबारीका सनम शाक्यको शव बरामद गरेसँगै महाशाखाको टोलीले पक्राउ गरेको व्यक्तिहरूले आफैं पनि पीडित भएको जिल्ला प्रहरी कार्यालय, मोरङमा बयान दिएका थिए ।
घटनाको छानबिनका लागि सरकारले गृहमन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।