काठमाडौं, वैशाख १९ । च्याम्पियन्स लिग फुटबलमा सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग २–२ को बराबरी भए पनि समग्रमा ४–३ को जित निकाल्दै लगातार तेस्रो पटक रियल मड्रिड च्याम्पिन्यस लिगको उपाधिको नजिक पुगेको हो । पहिलो लेगमा रियल २–१ ले विजयी भएको थियो ।
मंगलबार भएको दोस्रो लेगमा सुरुआती अग्रता भने वायर्नले लिएको थियो । जोशुआ किमचले तीन मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । तर, ११ मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काए ।
दोस्रो हाफमा पनि दुवैले एक–एक गोल गरे । ४६ औँ मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । तर ६३ औं मिनेटमा जेम्स रोड्रिग्वेजको गोलमा वायर्न बराबरी गर्न सफल भयो ।
रियलको घरेलु मैदानमा वार्यन हावी भए पनि हार टार्न भने सकेन । बलमाथि ६० प्रतिशत नियन्त्रण जमाएको वायर्नले रियलको पोष्टमा लगातार आक्रमण गरेको थियो । तर, रियलका गोलरक्षक केइलोर नावासले बललाई जाली चुम्नबाट जोगाए र बायर्न सेमिफाइनलमै रोकिन बाध्य भयो ।
सेमिफाइनलको दोस्रो लेगमा बुधबार राति लिभरपुल र रोमाबीच प्रतिस्पर्धा हुनेछ । विजेताले फाइनलमा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो लेगमा लिभरपुलले रोमालाई ५–२ ले हराएको थियो । अब फाइनल खेल मे २६ मा युक्रेनको किएभमा हुनेछ ।