
काठमाडौं, वैशाख १३ । वार्यन म्युनिकको आफ्नै होममा रियल मड्रिडले वायर्न म्युनिखलाई २–१ ले हराउँदै च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
च्याम्पियन्स लिगमा १५० औं जित निकाल्दै रियल मड्रिड लिगमा यति धेरै जितको रेकर्ड राख्ने पहिलो क्लब पनि बनेको छ । तर च्याम्पियन्स लिगमा लगातार धेरै पटक हारेको रेकर्ड भने वायर्नको नाममा लेखिएको छ । च्याम्पियन्स लिगमा रियल मड्रिडसँग वार्यन यो पटकसँगै ६ पटक हारेको छ ।
बुधबार राति सेमिफाइनलको पहिलो लेगमा रियलको जितमा मार्सेलो र मार्को असेन्सियोले एक–एक गोल गरे । वायर्नका जोसुवा किमिचले गोल गरे ।
खेलमा अग्रता भने घरेलु टोली वार्यनले लिएको थियो । २८ औं मिनेटमा जोसुवाले पहिलो गोल गरेका थिए । तर ४४ औं मिनेटमा रियलले बराबरी गर्न सफल भयो । मार्सेलोले हाफ भली गोल गर्दै रियललाई पहिलो हाफमा १–१ को बराबरीमा ल्याएका हुन् । दोस्रो हाफमा रियलका लागि असेन्सियोले ५७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
च्याम्पियन्स लिगका हरेक खेलमा गोल गरेका क्रिष्टियानो रोनाल्डोले वार्यनविरुद्ध पनि ७१ औं मिनेटमा गोल गरेका थिए । तर रेफ्रीले ह्यान्ड बल भनेर मान्यता दिएनन् । रियलको कमजोर रक्षापंतीको फाइदा उठाउँदै वार्यनले खेलमा गोल गर्ने केही मौका सिर्जना गरेको थियो तर सफल हुन सकेन ।
यो जितसँगै रियलले लगातार तेस्रो सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । वायर्नको यात्रा भने कठिन देखिएको छ । फाइनल पुग्न बायर्नले अब दोस्रो लेगको खेलमा साबिक विजेता रियललाई कम्तिमा २ गोल अन्तरले हराउनुपर्छ । यसअघि सेमिफाइनलकै पहिलो लेगमा लिभरपुलले रोमालाई ५–२ ले हराएको थियो ।