काठमाडौं, वैशाख १३ । पछिल्ला चार महिनामा मात्र नेपालले भारतबाट कुल विद्युत् आपूर्तिमध्ये ४८ प्रतिशत आयात गरेको छ । मंसिर, पुस, माघ र फागुनमा २०७७.९४ गिगावाट आवर विद्युत् खपत भएकोमा नेपाल विद्युत् प्राधिकरणले भारतबाटमात्र ९९७.८२ गिगावाट आवर विद्युत् आयात गरेको हो । उक्त विद्युत रकमको हिसाबले चार महिनामामात्र करिब ८ अर्ब २५ करोड रुपैयाँ बराबरको आयात भएको छ । चार महिनाको अवधिमा कुल आपूर्तिमध्ये नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका आयोजनाको हिस्सा ५५८.५६ गिगावाटआवर र निजी क्षेत्रको ५२१.५० गिगावाट छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको दोस्रो चौमासिक समीक्षामा प्रस्तुत गरेको तथ्यांकअनुसार, माघ र फागुन महिनामा भने कुल आपूर्ति विद्युत्मध्ये ५६ प्रतिशत बराबर भारतबाट आयात भएको छ । विद्युत् प्राधिकरणको भारप्रेषण केन्द्र (एलडीसी) ले मन्त्रालयमा उपलब्ध गराएको विवरणअनुसार माघमा कुल आपूर्ति ५३१.४६ गिगावाट आवर रहेकोमा भारतबाट आयात मात्र २९५.६६ गिगावाट आवर भएको थियो, जुन ५५.६३ प्रतिशत हो ।
त्यसैगरी, फागुनमा कुल आपूर्ति ५२३.४५ गिगावाट रहेकोमा भारतबाट आयात मात्र २९६.६६ गिगावाट आवर भएको थियो । जुन ५६.६७ प्रतिशत हो । त्यसैगरी मंसिरमा ४९०.१६ गिगावाटआवर कुल आपूर्तिमध्ये १४६.२९ गिगावाटआवर र पुसमा ५३२.८५ गिगावाट आवरमध्ये २५९.२२ गिगावाटआवर भारतबाट आयात भएको थियो । मध्यावधी समीक्षामा ऊर्जा मन्त्रालयका सहसचिव प्रवीण अर्यालले प्रस्तुत गरेको साविकको ऊर्जा मन्त्रालयलाई चालू वर्षमा ७० अर्ब ५६ करोड ५९ लाख बराबरको बजेट रहेको र त्योमध्ये दोस्रो चौमासिकमा २३ अर्ब ७७ करोड ७ लाख बजेट रहेकोमा भौतिकतर्फ ३९.४५ र वित्तीयतर्फ ८४.०३ प्रतिशत खर्च भएको छ ।
मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागको भौतिक प्रगतितर्फ ५०.७ प्रतिशत र वित्तीय प्रगतितर्फ २३.१८ प्रतिशत तथा प्राधिकरणतर्फ भौतिक प्रगति ५४.३ प्रतिशत र वित्तीय प्रगति ५०.८४ प्रतिशत भएको छ । यसमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको भौतिक प्रगति २४.५ प्रतिशत र वित्तीय प्रगति ४७.६८ प्रतिशत छ । ऊर्जा मन्त्रालयअन्तर्गत पहिलो प्राथमिकताका ३७, दोस्रो प्राथमिकताका ३ र तेस्रो प्राथमिकताका २ गरी ४२ आयोजना तथा कार्यक्रम रहेकोमा भौतिक प्रगतितर्फ क्रमशः ८० प्रतिशत माथिका ६, ५० देखि ८० प्रतिशतसम्मका १३ र ५० प्रतिशतभन्दा कमका २३ आयोजना छन् ।