काठमाडौं, वैशाख १२ । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको सेमिफाइनलको पहिलो लेगमा लिभरपुल विजयी भएको छ । घरेलु मैदान एन्फिल्डमा लिभरपुलले इटालीको एएस रोमालाई ५–२ ले हराएको हो ।
यो जितसँगै लिभरपुलले आफु फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । यसअघि बार्सिलोनालाई क्वाटरफाइनलबाटै घर फर्काएको रोमा भने दोस्रो लेगको खेल खेल्नुअघि दबावमा परेको छ ।
लिभरपुललाई जिताउन मोहम्मद सलाह र रोबर्टो फिरमिनोले २÷२ गोल गरे । साडियो मानेले १ गोल थपे । रोमाका लागि एडिन जेको र डिएगो पेरोटीले १÷१ गोल गरेका थिए ।
सन् २००७ मा लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । यो सिजनमा पनि फाइनलमा पुग्ने बलियो सम्भाबना कायम राख्नुमा सलाहको भूमिका महत्वपूर्ण छ ।
दुई दिनअघि मात्रै पीएफए वर्ष खेलाडी अवार्ड जितेका सलाहले रोमाविरुद्धको खेलमा दुई गोल मात्रै गरेनन् थप दुई गोलका लागि सहयोग पनि गरे ।
३५ र ४५ औं मिनेटमा गोल गरेका सलाहले ५६ औं मिनेटमा साडिओ माने र ६१ औं मिनेटमा रोबर्टो फिरमिनोलाई गोल गर्ने वातावरण तयार पारे । फिरमिनोले ६८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ५–० को अवस्थामा र्पुयाएका थिए ।
यो सिजनको सुरुमा रोमाबाट आएका सलाहले लिभरपुलका लागि अहिलेसम्म ४३ गोल गरिसकेका छन् । खेलको अन्तिम समयतिर भने रोमाले दुई गोल फर्कायो । ८१ औं मिनेटमा एडिन जेकोले र ८५ औं मिनेटमा पाएको पेनाल्टीमा डिएगो पेरोटीले गोल गरे ।