काठमाडौं, चैत १५ । काठमाडौं माइतीघर मण्डलामा सडकविस्तारका साथै अन्य उत्पीडनको विरुद्ध शान्तिपूर्ण रुपमा धर्ना बसेका नेवाःहरु लगायत आदिवासी जनजातिहरुलाई पानीको फोहोरा हान्ने, लाठीचार्ज गर्ने, टियर ग्याँस हान्ने जस्ता कार्यहरु गर्ने प्रहरी बर्बर दमनको नेवाः राष्ट्रिय मुक्ति मोर्चाले घोर विरोध गरेको छ ।
मोर्चाका ३ नं. प्रदेश संयोजक गोर्की श्रेष्ठले एक व्यक्तव्य जारी गर्दै प्रहरी दमनको विरोध गर्नुभएको हो । व्यक्तव्यमा भनिएको छ, “जनपक्षीय सरकार भनाउँदाहरुले नेवाः साथै आदिवासी जनजातिहरुले आफ्नो भूमिको रक्षाका निम्ति गर्दै आइरहेको जायज मागलाई पूरा गर्नुको सत्ता उल्टै बर्बरता पूर्ण दमनकारी तरीकाले अगाडि बढेको कुराले ०६२÷६३ या निरंकुश शासन फर्केर आएको होकि भन्ने आभाष दिलाएको छ ।”
सरकारको यस किसिमको दमनकारी कदमको परिणामको जिम्मेवारी सरकार आफैले लिनुपर्ने भन्दै मोर्चाले गिरफतार गरिएका सबैजनालाई विना शर्त तत्काल रिहा गर्न र घाइते भएका आन्दोलनकारीहरुलाई निःशुल्क तथा उचित स्वास्थ्य उपचार गर्न माग गरेको छ ।
मोर्चाले यस माग÷अनुरोधलाई बेवास्ता गरी जायज आन्दोलनलाई बल प्रयोग गरी दबाउने कोशिस गरिएमा आन्दोलन अझ सशक्त रुपमा अगाडि बढाइने चेतावनी समेत दिएको छ ।