नेपाली क्रान्तिको आवश्यकता र मकवानपुरको युवा प्रशिक्षणको महत्व

नेपाली क्रान्तिको आवश्यकता र मकवानपुरको युवा प्रशिक्षणको महत्व

१. विषय प्रवेश
वर्गीय समाजमा कसैले चाहे पनि नचाहे पनि वर्गसंघर्ष कुनै न कुनै रुपमा चलिरहन्छ । उक्त वर्गसंघर्ष कतिपय अवस्थामा मन्द गतिमा अगाडि बढ्छ, कतिपय अवस्थामा उच्चस्तरमा विकसित भएर जान्छ । यो मानव समाज विकासका क्रममा अकाट्य तवरबाट देखिएको र प्रमाणित भएको विषय हो । यतिबेला विश्वमा पुँजीवादको विकसित रुप साम्राज्यवाद हावी छ । राज्यसत्तामा उसैको एकलौटी हालीमुहाली छ । जसका कारण साम्राज्यवादले आफ्नो सत्ताको आयु लम्ब्याउन र समाजमा रहेका मजदुर, किसान, महिलालगायत फरक–फरक देशका सन्दर्भमा काला र गेरा जाति, ब्राह्मण र आदिवासी जनजाति, विकसित भूगोल र अविकसित भूगोलमा रहेका वा बसोबास गर्ने जनसमुदायका बीचमा विभेद तथा राज्यद्वारा नै शोषक–शोषित, शासक–शासितका बीचमा ठूलो खाडल पैदा गर्ने काम गर्दै आएको छ । यही विभेदपूर्ण समाजलाई कायम राख्नु नै पुँजीवाद, साम्राज्यवाद वा सामन्तवाद सत्ताको मुख्य विषय हो ।

जब समाजमा माक्र्सवाद जन्म्यो, त्यसले वर्गसंघर्षलाई उत्कर्षमा पु¥यायो र समाजमा रहेका बहुसंख्यक उत्पीडित जनताको हातमा खासगरी मजदुर र किसानको हातमा राज्यसत्ताको बागडोर सुम्पने काम ग¥यो । वर्गसंघर्षकै बीचबाट माक्र्सवाद–लेनिनवाद–माओवादजस्तो वैज्ञानिक सिद्धानत विचारमा मात्र होइन व्यवहारतः स्थापित भयो, तब पुँजीवादी, साम्राज्यवादी तथा सामन्तवादी शक्तिले आपूmसँग भएको सम्पूर्ण तागत लगाएर दमनको बाटो अवलम्बन गर्दासमेत सर्वहारावर्गका अगाडि घुँडा टेक्न बाध्य भएपछि सर्वहारा वर्गीय आन्दोलनभित्र घुसेका हरिया साँपहरु जसले मालेमावादको खोल ओढेर सामन्तवादको, पुँजीवादको र साम्राज्यवादको सेवा गर्न तल्लीन छन् । तिनीहरुलाई उपयोग गर्न पुग्यो । जसले गर्दा सर्वहारावर्गले आकाश र घर्ती हल्लाउने क्रान्तिद्वारा प्राप्त जनवादी तथा समाजवादी सत्ताले हार्न बाध्य भए । तर पनि क्रान्ति निरन्तर चलिरहेकै छ । किनकि जबसम्म समाजमा वर्ग रहन्छ, शोषण, दमन र उत्पीडन रहन्छ, तबसम्म वर्ग चलिनै रहन्छ ।

विश्वको एउटा मानचित्रमा रहेको हाम्रो देश नेपाल पनि त्यसबाट अछुतो रहन सक्ने अवस्था हुँदैन थियो र भएन पनि । स–साना कविलाई राज्यको समाप्ति सँगै उडाएको एकीकृत र केन्द्रीकृत राज्यमा पनि लामो समयदेखि सामन्तवादी राजतन्त्रात्मक सत्ताको हालीमुहाली रहँदै आएको कुरा स्पष्ट नै छ । जसको चपेटामा समाजका बहुसंख्यक किसान, मजदुर, महिला, दलित, आदिवासी÷जनजाति, मधेसी, मुस्लिम र पिछडिएका क्षेत्रका जनता पर्दै आए । एउटा सानो हिस्साले राज्यसत्ता आफ्नो हातमा लिएर समाजको ठूलो हिस्साका जनतालाई शोषण, दमन र उत्पीडन गरेर आफ्नो सत्तालाई बलियो बनाए । तर पनि जनताले कतिपय समय स्वतःस्पूmर्त रुपमा कतिपय बेला योजनाबद्ध तवरबाट संघर्ष नगरेका होइनन् । जीवनको कुर्बानी नगरेका पनि होइनन् । कथित पुँजीवादको खोल ओढेको आपूmलाई प्रजातान्त्रिक शक्ति भन्न रुचाउने नेपाली कांग्रेस तथा माक्र्सवादको खोल ओढेका नेकपा (एमाले)ले २००७ सालदेखि २०४६ सालसम्मका आन्दोलनहरुमा नेपाली जनतालाई ढाँट्यो र आन्दोलनको उद्देश्यमाथि कुठाराघात ग¥यो । धोका दियो र सर्वहारावर्गको हातमा सत्ता आउन दिएन र सामन्तवाद पुँजीवाद तथा साम्राज्यवादको अगाडि घुँडा टेकेर उसैको सेवा गर्न पुग्यो ।

दश वर्षको जनयुद्ध र त्यसको जगमा विकसित भएको ०६२÷६३ सालको जनआन्दोलनले सामन्तवादको नेतृत्व गर्ने राजतन्त्रात्मक एकीकृत र केन्द्रीकृत सत्तालाई ढाल्न त सफल भयो तर विडम्बना के भईदियो भने न त सामन्तवादका सबै प्रकारका अवशेषहरुलाई समाप्त बनाउन पायो न त साम्राज्यवाद हाम्रो सन्दर्भमा भारतीय विस्तारवादलाई परास्त गरेर राज्यसत्ताको बागडोर सर्वहारावर्गका हातमा अथवा मजदुर, किसानका हातमा आउन सक्यो । तर यतिबेलाको राज्यसत्ता दलाल नोकरशाही पुँजीवाद तथा सामन्तवादको गठजोड प्रतिक्रियावादको हातमा निहित हुन पुग्यो । जसका कारण उत्पीडनमा परेका जनताको जीवनमा कुनै फेरबदल आउने कुरा त परै जाओस् राष्ट्रिय स्वाधीनता विगतको भन्दा झनै कमजोर बन्न पुग्यो । दुःखको कुरा त यो रह्यो कि हिजोको नेपाली कांग्रेस, नेकपा (एमाले) भन्दा गएगुज्रेको गद्दारका रुपमा दशवर्षको जनयुद्धको मुख्य नेतृत्व गर्दै आएको प्रचण्ड, बाबुराम र बादलहरु बन्न पुगे । एकसाथ जनविरोधी संविधान बनाएर साम्राज्यवाद, विस्तारवादलाई सेवा गर्ने मात्र होइन दलाल नोकरशाही पुँजीवाद र सामन्तवादलाई बलियो बनाउन टुप्पीदेखि पैतालासम्मको तागत लगाई रहेका छन् । माक्र्सवादको खोल ओढेर घोर दक्षिणपन्थी बाटो हुँदै निर्वाचनका क्रममा जनतालाई भ्रम दिन बनाइएको कथित वाम गठबन्धन पार्टी एकतासम्म पुग्दा प्रतिक्रियावादमा पतनको दिशामा द्रूत गतिमा अगाडि बढिरहेको छ । जसले गर्दा उत्पीडित जनतामा एक प्रकारको अन्योलता, अविश्वास पलायनता र पर्ख र हेरको अवस्थामा पु¥याइदिएको छ । वर्तमान अवस्थाको यस प्रकारको धोकाधडीका बीचबाट पैदा भएको निराशा, अविश्वास र अकर्मण्यताजस्ता विषयहरुलाई तोड्दै क्रान्तिलाई अगाडि बढाउने जिम्मेवारी यतिबेला क्रान्तिकारीको काँधमा आएको छ ।

२. अबको बाटो
कुनै पनि क्रान्ति वा परिवर्तन कसैको मनोगत इच्छाले पनि हुँदैन र कुनै पनि क्रान्तिलाई कसैको मनोगत इच्छा वा सैन्य बलको आडमा वा दमनले रोक्न पनि सक्तैन । युगौदेखि उत्पीडनमा परेका नेपाली जनताका निमित्त आर्थिक, सामाजिकलगायत सबै क्षेत्रमा परिवर्तन चाहिएको छ । जनताले भोगिरहेका शोषण, दमन र उत्पीडनको अन्त भएको अनुभूति चाहेका छन् । समाजमा मानिस भएर बाँच्न चाहेका छन् । पटक–पटक पार्टीका नेताहरुले दिएको धोकाधडी व्यहोर्न पर्दा र दैनिक जीवनमा कुनै पनि बदलाव भएको अनुभूत गर्न नपाउँदा निराश र हतोत्साही बन्न पुगेका हुन् । आजसम्मको नेपालको इतिहासलाई फर्केर हेर्दा परिवर्तनका खातिर नेपाली जनताले मुख्यतः युवाहरुले त्याग, वीरता र वलिदानको कीर्तिमान कायम गरेका छन् । यसप्रकारको साहस, बलिदानको कीर्तिमानको उच्च मूल्यांकनसहित पुनः अन्तिम युद्धका निमित्त मालेमावादको वैचारिक आलोकमा उठेको क्रान्तिकारी पार्टीले उत्साह भर्नु आवश्यक छ ।

२००७ सालदेखि २०६२÷०६३ सालसम्मको जनआन्दोलन मात्र होइन २००८÷००९ सालको बारा, पर्सा, रौतहटदेखि १०÷११ सालको कैलाली कञ्चनपुरसम्मको किसान आन्दोलन । २०३५÷०३६ सालको जुगेडी–जुटपानीदेखि सिन्धुपाल्चोकको पिस्कर, धनकुटाको छिन्ताङसम्मका जुझारु आन्दोलन । लमजुङको पूर्तिघाटदेखि झापाको वर्गसंघर्ष । दशवर्षको विश्व हल्लाउने महान् जनयुद्ध भीषण वर्गसंघर्षका उपलब्धि तथा त्यहाँ उठाइएका मागहरुको कडीलाई जोड्न सक्नु पर्दछ । त्यहाँ भएका कतिपय नकारात्मक घटना परिघटनाबाट गहिरो पाठ सिक्दै त्यहाँबाट जन्मेका वैचारिक विचलनको चिरफार गर्दै अबको नेपाली क्रान्तिको खाका कोर्न पर्दछ । चरम मनोगत र महत्वाकांक्षाजस्ता विषयबाट टाढा रहँदै अत्यन्त ढिलासुस्ती, अकर्मण्यता, अराजकता र घिसेपिटे कार्यशैलीजस्ता गतिविधिबाट पार्टीलाई पचाउँदै चुस्त, दुरुस्त, संगठनात्मक परिपाटीको विकास गर्न आवश्यक छ । दुश्मनले के गर्छ र के भन्छ भनेर होइन, हाम्रो आफ्नो सर्वहारा वर्गीय दायित्व र भूमिका के हो भनेर सोच्न, पाइला चाल्नु आवश्यक छ । क्रान्तिकारीहरुले धैर्यताका साथ साहस गरेको अवस्थामा नेपाली जनता मुख्य त आफ्नो भविष्य र सन्ततिका निमित्त चिन्तित युवाहरु क्रान्तिमा लामबद्ध बन्ने निश्चित छ ।

३. अबको क्रान्तिलाई कसरी बुझ्ने
पहिलो– समाजमा व्याप्त रहेको अन्तरविरोधको समाधान न त संसदीय संविधानले दिन सक्छ न त संसदीय पार्टी वा कथित प्रजातन्त्रवादी भन्नेहरुले नै दिन सक्छन् न त संसदीय व्यवस्थाले नै दिन सक्छ । किनकि यो त विश्वस्तरमा आजसम्म प्रमाणित भएको अवस्था हो । त्यसको एक मात्र वैज्ञानिक समाधान भनेको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिकलगायत विविध क्षेत्रमा पुरानोलाई ध्वंश गरेर नयाँको निर्माण हो । त्यसो गर्न न त यिनीहरु (ने.कां., एमाले र माके) विगतमा तयार भए न त वर्तमान वा भविष्यमा नै तयार हुनेछन् । यिनीहरुको काम भनेको वर्तमान संविधानलाई लागू गर्ने त्यो पनि उल्टो दिशामा संशोधन गरेर । किनकि यिनीहरुको सोच, विचार र चरित्र भनेको दलाल चरित्र हो । आफ्ना मालिकहरु साम्राज्यवाद, विस्तारवादले जे आदेश दिन्छ, यिनीहरुले त्यसैलाई कार्यान्वयन गर्ने हो । त्यसैले यतिबेला भ्रममा परेका जनतालाई भ्रमबाट मुक्त बनाउने दायित्व र कर्तव्य भनेको क्रान्तिकारीहरुको हो । मुख्यतः नेकपा (क्रान्तिकारी माओवादी)को हो । त्यसका लागि व्यापक जनताका बीचमा जाने, छलफल गर्ने, स्पष्ट पार्ने र संगठनका कुनै न कुनै निकायमा आबद्ध गर्ने हो । पार्टीले ल्याएको दुई महिने संगठन निर्माणको अभियानको महत्व यही निर छ ।

अहिलेसम्मका जनसंघर्ष, जनआन्दोलनका अनुभव मुख्यतः दशवर्षको जनयुद्धको अनुभवसहित अबको क्रान्तिको बाटो भनेको सशस्त्र जनविद्रोह हो भन्ने निष्कर्ष पार्टीले निकालेको छ । त्यो पनि अन्य देशको हुबहु नक्कल होइन हाम्रो आफ्नै नेपाली विशेषताअनुरुप हुनेछ । क्रान्तिमा बल प्रयोग अनिवार्य छ । त्यसका लागि जनता नै मुख्य शक्ति हुन् । हरेक संघर्ष वा आन्दोलनहरुमा युवाहरुको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले यतिबेला युवाहरुलाई व्यापक मात्रामा संगठित गर्नु अहिलेको मुख्य कार्यभार हो । उनीहरुलाई संगठित गर्नु मालेमावादको वैचारिक ज्ञान, चेतना र क्षमताको विकास गर्नु, शारीरिक रुपमा सुसंगठित गर्नु पनि त्यत्तिकै आवश्यकता पर्दछ । किनकि हाम्रा दुश्मनहरुले जनताका विरोधी शक्तिहरुले युवाहरुलाई क्रान्तिबाट विमुख बनाउन, मानसिक रुपमा कमजोर बनाउन व्यापक मात्रामा अफवाह फैलाएर आतंकित पार्ने कूलतमा फसाउन प्रयत्न गर्ने र युवाहरुको ठूलो शक्तिलाई विदेशी भूमिमा गएर आफ्नो रगत, पसिना बेच्न विवश बनाउने कार्य गरिराखेका छन् । करिब एक करोड हाराहारीको युवाशक्ति विदेश पलायन गराएर रेमिट्यान्सको भरमा राज्य चलाइरहेका छन् । यो कुराको बोध युवाहरुलाई राम्रोसँग गराउन जरुरी छ । विदेशमा गएर रगत र पसिना बगाउने क्रममा दैनिक दर्जनौंको लास बाकसमा प्याक भएर आउनपर्ने बाध्यताको अन्त्य सदाका निमित्त गर्न राज्यसत्ता आफ्नो हातमा लिन लड्ने कुराको बोध युवाहरुलाई गराउन नसक्दासम्म क्रान्ति निर्णायक तहमा पुग्न सक्तैन ।

त्यसैले सर्वहारावर्गको पार्टीलाई क्रान्तिकारी बनाउँदै अगाडि बढाउन युवाहरुलाई मुख्यतः समग्र पार्टीलाई जुझारु बनाउन आवश्यक छ । यतिबेलाको आवश्यकता भनेको शासक र शासितका बीचको अन्तरविरोधलाई चर्काउने, पार्टीलाई जुझारु, एकताबद्ध सक्रिय बनाउने र जनसंगठनलाई व्यापक बनाएर मुख्यतः युवा संगठनलाई व्यापक विस्तार गर्न आवश्यक छ । साथै युवाहरुलाई जुझारु बनाउन शारीरिक तालिम तथा वैचारिक रुपमा स्तर उठाउन माक्र्सवादी अध्ययन, अनुसन्धान र प्रशिक्षण दिंदै जानु पर्दछ ।

४. क्रान्तिमा युवाहरुको भूमिका
विश्वका हरेक देशहरुमा हुँदै आएका क्रान्तिहरुमा युवाहरुको भूमिका अग्रणी रहँदै आएको कुरा सर्वविदित नै छ । माक्र्सवादी आन्दोनलमा मात्र होइन बुर्जुुवा आन्दोलनमा समेत युवाहरुले नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । अझ मालेमावादबाट निर्देशित र प्रशिक्षित सर्वहारावर्गीय आन्दोलन वा क्रान्तिहरुमा युवा मुख्य नहुने कुरै भएन । किन भने बुर्जुवा सत्ताका सबैखाले अवयवहरुलाई ध्वस्त नबनाइकन र सर्वहारावर्गले नयाँ संरचना खडा नगरिकन सर्वहारावर्गको सत्ता न त टिक्न सक्छ न त सर्वहारावर्गको समग्र मुक्ति नै सम्भव छ । मुख्यतः आन्दोलनको अथवा क्रान्तिको नेतृत्व मालेमावादको विचारले गर्दछ तर क्रान्ति बल प्रयोगको भूमिका निकै महत्वपूर्ण हुन्छ । बल प्रयोग मात्र होइन सर्वहारावर्गको मुक्ति र समानताका लागि सर्वहारावर्गको आफ्नै सेनाको जरुरत पर्दछ । पेरिसको मजदुर विद्रोह होस् या रुसी अक्टोवर क्रान्ति होस् । चिनियाँ क्रान्ति होस् या कोरिया, भियतनामका क्रान्ति होऊन् र आखिर सबैमा सर्वहारावर्गले आका क्रान्ति होऊन् र आखिर सबैमा सर्वहारावर्गले आफ्नो सेवा बनाएर नै क्रान्ति सम्पन्न भएका हुन् । यो कुनै लुकेको विषय होइन । बरु कतिपय देशहरुमा व्यवस्थित रुपमा सेना नबन्दा र बनेका ठाउँमा मालेमावादका वैचारिक विचारबाट ठीक तवरबाट प्रशिक्षित हुन नसक्दा क्रान्ति बीचैमा तुहिने र क्रान्तिपश्चात प्रतिक्रान्ति रोक्न नसक्नुजस्ता कमजोरीहरु पनि नभएका होइनन् । अबका दिनमा सर्वहारावर्गले यी सबै पक्षहरुको आँकलन गरेर कदम चाल्न सक्नुपर्छ भन्ने पाठ पनि सिकाएको छ ।

हाम्रो सन्दर्भको कुरा गर्दा दशवर्षको जनयुद्धले सात डिभिजन सेना निर्माण ग¥यो । त्यसमा माक्र्सवाद–लेनिनवाद–माओवादको विचारको महत्वपूर्ण पक्ष थियो । विचारका आधारमा खडा भएको सेनाका कारण दुश्मन सेनाले हजारौं वर्षदेखि प्रशिक्षित भएर आधुनिक हतियारका बलमा दमनमा निस्केका सेनालाई उच्च मनोबलका साथ खाली हात लड्दा पनि हराउन सकेन । बरु तिनै खाली हात लडेका जनमुक्ति सेनाले दुश्मनका सेनालाई धुलो चटाएर आधुनिक हतियार कब्जा मात्र होइन उनीहरुलाई ब्यारेकभित्रै कैद बनाउन सफल भएको थियो । यो त रह्यो हाम्रो आफ्नै अनुभव । त्यसमा केही नकारात्मक शिक्षा पनि छन् । जब प्रचण्डजस्ता मुख्य लिडरले क्रान्तिलाई धोका दिए । वैचारिक रुपमा विचलन भए तर जीवनको बाजी लगाएर दुश्मनका विरद्ध लडेको सेनाका मुख्य कमाण्डरहरु सर्वहारावर्गका पक्षमा क्रान्तिका पक्षमा मालेमावादको विचारको रक्षाको पक्षमा उभिन सकेनन् । यो नकारात्मक पक्षको पनि काफी मात्रामा समीक्षाको आवश्यकता छ ।

मालेमावादको वैज्ञानिक विचारको अडान रहँदासम्म दुश्मनका विरुद्ध लडेर यो देशको ८०% भूभाग कब्जा गरेर विश्वका सामु क्रान्तिकारी पहिचान बनाएको सकारात्मक पक्ष तथा विचारको विचलनपश्चात क्रान्तिकारी विचारको रक्षाका खातिर एक शब्द बोल्न नसकेको नकारात्मक पक्षलाई समेत ध्यानमा राख्दै आगामी दिनमा क्रान्तिकारीहरुले ठीक तवरबाट भूमिका निर्वाह गर्न आवश्यक छ । त्यो के हो भने क्रान्तिसँगै प्रतिक्रान्तिलाई रोक्ने हतियार तयार पार्नु हो । मुख्यतः युवा शक्तिलाई मालेमावादको वैचारिक ज्ञान, सिद्धान्तबाट लैस गराउन माक्र्सवाद स्कुलिङलाई व्यवस्थित तवरबाट सञ्चालन गराउनुका साथै आम युवाहरुलाई आफ्नो वर्गको मुक्तिका खातिर रेडिकल तवरबाट संघर्षमा लामबद्ध हुने वातावरण तयार पार्नु हो ।

५. हेटौडा युवा प्रशिक्षणको महत्व
प्रतिक्रियावादी वर्गका पार्टीहरु त विगतका दिनदेखि नै सर्वहारावर्गको आन्दोलन तथा क्रान्तिलाई समाप्त बनाएर आफ्नो बुर्जुवा सत्ता टिकाउन हरतरहको दमन गर्न तल्लीन छँदै थिए । पछिल्लो समयमा माओवादी केन्द्रले समेत त्यही बाटो अवलम्बन गरेपछि विचारधाराका दृष्टिले शासक हुँदाहुँदै पनि प्रतिक्रियावादी शक्ति तथा प्रतिक्रियावादमा पतन हुँदै गएको यथास्थितिवादी शक्तिहरुको व्यापक भ्रमका कारण नेपालको सर्वहारावर्गीय आन्दोलन तत्कालका दृष्टिले कमजोर बन्न पुग्यो । कमजोर बनेको उक्त आन्दोलन मजबुत बनाउँदै लगेर नेपालको सर्वहारा वर्गीय आन्दोलनलाई निर्णायक बिन्दुमा पु¥याउने जिम्मा क्रान्तिकारीहरुको काँधमा आएको छ यही अभिभारा पूरा गर्ने क्रममा नेकपा (क्रान्तिकारी माओवादी)ले ३ महिने संगठन निर्माण तथा जनपरिचालन अभियान सञ्चालन गर्दैआएको छ ।

पार्टी केन्द्रको यही निर्णय र निर्देशन मुताबिक ३ नं. प्रदेशको पार्टी निर्णय तथा क्रान्तिकारी युवा लिग ३ नं. प्रदेशको आयोजनामा २०७४ साल फागुन २८–२ चैतसम्म ५ दिने वैचारिक, राजनीतिक, सांगठनिक तथा शारीरिक प्रशिक्षणको उद्घाटन मकवापनुर जिल्लाको हेटौडा उपमहानगरपालिका हर्नामादीको गुम्बा डाडामा पार्टीका महासचिव क.किरणले उद्घाटन गर्नुभयो । ३ नं. प्रदेशको विभिन्न जिल्लाबाट आएका युवाहरुले शारीरिक तालिम गर्दैगर्दा प्रतिक्रियावादी दलाल सत्ताको खड्ग ओली सरकारको योजना तथा बादलको ठाडो निर्देशनमा प्रहरी तालिम रोक्नका निमित्त दमनमा उत्रियो । तर हर्नामादीका जनताको साथ सहयोग र उच्च मनोबलसहित प्रशिक्षणमा सहभागी युवाहरुको प्रतिकारपश्चात राज्यसत्ताका भाट प्रहरीहरु पछि हट्न बाध्य भए । दलाल सरकारको ठाडो निर्देशन दमन गर्ने भएता पनि तल्लो तहका प्रहरी दमन गर्ने मनस्थितिमा थिएनन् भन्ने कुरा पनि सहजै बुझ्न सकिन्थ्यो । राज्यको दमनका बाबजुद युवाहरुको ५ दिने तालिम तथा प्रशिक्षण सानदार तथा भव्यरुपमा सम्पन्न भयो ।

युवाहरुको उक्त तालिमले पार्टीको निर्णयलाई तदारुकताका साथ कार्यान्वयन गर्ने मात्र होइन जनवादी क्रान्तिलाई पूरा गर्दै समाजवाद, साम्यवादमा पुग्ने लक्ष्य पूरा गर्न युवाहरु हामी तयार छौं भन्ने एउटा सन्देश प्रवाह गर्नसमेत सफल भएको छ । दुश्मनका सबैखाले हर्कतहरुलाई चिर्दै अगाडि बढ्न सकिन्छ भन्ने आँट र अठोट पनि उक्त प्रशिक्षणले देखाएको छ । यसले आन्तरिक पंक्तिमा समेत सकारात्मक र नकारात्मक प्रवृत्तिहरुलाई सतहमा आउन बाध्य पारेको छ । समग्रमा भन्नुपर्दा युवाहरुमा एक प्रकारको ऊर्जा पैदा भएको छ । यस प्रकारको प्रशिक्षण जिल्ला–जिल्ला तहसम्म र अझ स्थानीय तहसम्म विकास गर्दै लैजान आवश्यक छ ।

जनताका दुश्मनहरुले उक्त प्रशिक्षण कार्यक्रमलाई रोक्न खोज्नु दमन गर्नु भनेको क्रान्तिकारीहरुले ठीकै गर्दै छौ भन्ने पनि हो । त्यति मात्र होइन मकवानपुर जिल्लाका आम परिवर्तनकामी जनतामा वास्तविक उत्साह छाएको पाइयो । त्यसको प्रत्यक्ष उदाहरण भनेको भ्रमवश माकेमा रहेर हर्नामादीको इञ्चार्ज शिवको भूमिका निर्वाह गरिरहेका इमान्दार क्रान्तिकारीहरुको तत्काल पार्टी प्रवेश मात्र होइन अन्य इमान्दारहरुको ठूलो पंक्ति हाम्रो पार्टीमा आउँन आतुर हुनेदेखि हर्नामादीका जनतामा हाम्रो पार्टीप्रति देखिएको सकारात्मक भावले वास्तवमा जनयुद्धका क्रममा जनताले गरेको सहयोग, समर्थन र मायाको झल्को आउँथ्यो । यसरी हेर्दा पार्टीलाई युवापंक्तिलाई रेडिकल बनाउने सन्देश युवाहरुको हेटौडा प्रशिक्षणले दिएको छ ।

व्यवस्थापकीय हिसाबले मकवानपुर जिल्ला पार्टीले खेलेको भूमिका अत्यन्तै सराहनीय रहेको पाइयो । जिल्लाका साथीहरुको व्यवस्थापनमा खटाइका हिसाबले मात्र होइन जनपरिचालन गरेर मेसमा आवश्यक वस्तु जुटाउने कुरामा समेत कुशलतापूर्वक कार्यन्वयन गर्नुले उदासिनता र अकर्मण्यताले नराम्रोसँग गाँजेको आन्तरिक पंक्तिका निमित्त विचारमा मात्र होइन व्यवहारतह नै गलत साबित गरेर मकवानपुरले देखाएको अनुकूल भएको छ । अन्य जिल्लाहरुले त्यसबाट सिक्ने कोसिस गर्नुपर्छ भने मकवापुर स्वयंले त्यसबाट घमण्ड होइन, आफ्नो विचार र व्यवहारलाई अझै विकसित गर्न लाग्न जरुरी छ ।

६. अन्तमा
पार्टीको ३ नं. प्रदेश तथा क्रान्तिकारी युवा लिग ३ नं. प्रदेशले सम्पन्न गरेको युवाहरुको प्रशिक्षणले पारेकोे सकारात्मक प्रथालाई आत्मसात गदै आगामी दिनमा दुश्मनले खडा गरेका चुनौतीका पहाडहरुलाई छिचोल्न अझै ठूला ठूला दमन, धरपकड, डरत्रास र भागदौडको सामना गर्न मात्र होइन गम्भीर प्रकारका सुझाव, सल्लाह, तुच्छ प्रकारका गालीगलौजदेखि गम्भीर प्रकारका आलोचनाको सामना गर्दै अगाडि बढ्नुपर्छ भन्ने मानसिकता बनाउन पनि त्यत्तिकै आवश्यक छ । अहिलेको आवश्यकता पूरा गर्न वैचारिक, राजनीतिक, सांगठनिक र संघर्षमा गुणात्मक विकास गर्नैपर्दछ । एउटा क्रान्तिकारी पार्टीको सदस्य जोकोहीले आन्दोलनदेखि, आलोचनादेखि, आन्दोलनका क्रममा हुने कमीकमजोरीदेखि भागेर वा डरएर क्रान्तिकारीहुन सकिंदैन । दुश्मनले गर्ने दमनदेखि भागेर पनि क्रान्तिकारी हुन सकिंदैन । त्यसैले इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्न सबै क्रान्तिकारी युवाहरुलाई वैचारिक रुपमा खार्दै दुश्मनका विरुद्ध लड्न सक्ने आँट, हिम्मत र साहस गरौं । मकवानपुरमा भएको पाँच दिन प्रशिक्षणको महत्व यसैमा छ । नेपाली क्रान्तिको आजको आवश्यकता यनी नै हो ।