काठमाडौं, चैत १५ । नेपाल विद्युत् प्राधिकरणले ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत् भारतबाट विद्युत् आयात गर्न १५ महीनाको विद्युत् खरीद सम्झौता (पीपीए) गरेको छ । बुधवार भारतको नयाँ दिल्लीमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतीय पक्षबीच उक्त सम्झौता भएको हो । सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)का प्रमुख कार्यकारी अधिकृत अरुण कुमार गर्गले हस्ताक्षर गरेका हुन् ।
विद्युत् आयात नविकरणका लागि वार्ता गर्न घिसिङ नेतृत्वको टोली सोमवारै नयाँ दिल्ली पुगेको थियो । जसअनुसार आगामी अप्रिलदेखि लागु हुने गरी १५ महीनामा आयात गरिने विद्युत् परिमाण र मूल्य निर्धारण गरिएको छ । अब उक्त प्रसारण लाइनबाट सन् २०१९ को जुनसम्म १२० मेगावाट (मेवा) विद्युत् आयात सुनिश्चित भएको प्राधिकरणका प्रवक्ता एवम् विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले जानकारी दिए । गत डिसेम्बर २७ मा नविकरण भएको पीपीएको म्याद यही १७ चैत (३१ मार्च)मा सकिँदैछ ।
नयाँ सम्झौतामा पुरानो दरभन्दा प्रतियुनिट ६० पैसाले मूल्य वृद्धि भएको छ । वार्ताबाट विद्युत् खरीद दर स्थिर राख्न खोजिए पनि केही मात्रामा भने बढेको प्रवक्ता अधिकारीले बताए । ‘हामीले अहिले दिइरहेको दरमा विद्युत् दिन वार्तामा अडान राख्यौं,’ उनले भने, ‘भारतीय बजारमा विद्युत्को मूल्य बढेकाले अहिलेको मूल्यमा विद्युत् दिनै नसकिने भन्दै पहिलो ६ महीना र त्यसपछिको ९ महीनाका लागि अलग गरी दर निर्धारण गरिएको छ ।’ पहिलो ६ महीनाका लागि प्रति युनिट भारू ३ रुपैयाँ ९८ पैसा (६.३६ रुपैयाँ) र बाँकी ९ महीनाका लागि उक्त मूल्यमा ५ प्रतिशत वृद्धि हुने गरी सम्झौता गरिएको छ ।’ यसअनुसार, नेपालले उक्त विन्दुबाट ल्याउने विद्युत्का लागि अक्टोबर २०१८ बाट प्रति युनिट भारू ४ रुपैयाँ १७९ पैसा (६.६८ रुपैयाँ) तिर्नु पर्नेछ । हाल उक्त प्रसारण लाइनबाट नेपालले प्रति युनिट भारू ३ रुपैयाँ ६० पैसामा विद्युत् खरीद गर्दै आएको छ । प्राधिकरणले एनभीभीएनसँग शुरूमा पीपीए दर प्रति युनिट भारू ३ रुपैयाँ ४४ पैसा (५.५० रुपैयाँ) रहेको थियो । यसअघि पनि भारतीय बजारमा विद्युत् मूल्य वृद्धि भएपछि आयात दर बढेर प्रति युनिट भारू ३ रुपैयाँ ६० पैसा पुगेको थियो ।
भारतमै मूल्य बढेको
एनभीभीएले भारतीय सर्वोच्च अदालतले वातावरण प्रदुषण कम गर्न न्यूनस्तरको इन्धन पेट्रोलीयम कोक (पेट कोक) र फर्नेस आयलमा प्रतिबन्ध लगाएपछि विद्युत् उत्पादन गर्ने त्यस्ता प्लाण्टहरू बन्द भएका छन् । पेटकोक र कोइला प्रतिस्थापित हुँदा विद्युत् उत्पादनमा प्रयोग हुने इन्धनको मूल्य २४ देखि ३५ प्रतिशत बढी पर्ने, भारतको विद्युत् एक्सचेञ्ज बजारमा विद्युत्को मूल्य महङ्गो रहेको लगायतका कारण देखाउँदै प्राधिकरणले माग गरेको परिमाणअनुसार विद्युत् दिन सकिरहेको थिएन ।
एनभीभीएनले उक्त कारणले गर्दा उक्त प्रसारण लाइनबाट विद्युत्को मूल्य नबढाई दिन नसकिने बताउँदै आएको थियो । भारतको विद्युत् एक्सचेञ्जको औसत ‘मार्केट क्लियरिङ प्राइस’ प्रति युनिट भारू ४ रुपैयाँ १९ पैसा (६.७० रुपैयाँ) छ । भारतले बङ्गलादेशलाई १५ वर्षका लागि प्रतिष्पर्धात्मक वोलपत्रमार्फत् ५ सय मेवा विद्युत् निर्यातका लागि प्रति युनिट ७ दशमलव ७ अमेरिकी सेण्ट पीपीए दर तय गरेको छ । भारत सरकारको बोलपत्र आह्वानसम्बन्धी अनलाइन ‘डीप पोर्टल’मार्फत् अल्पकालीन बोलपत्र गर्दा निर्धारण भएको विद्युत्को मूल्य प्रति युनिट भारू ४ रुपैयाँ २८ पैसादेखि ८ रुपैयाँसम्म पुगेको छ ।
प्राधिकरणले व्यापारिकरूपमा विद्युत् आदान–प्रदान सम्झौता (पावर एक्सेञ्ज) र महाकाली सन्धी अन्तर्गतको बिजुली भारतबाट ल्याइरहेको छ । दुई मुलुकबीचको पावर एक्सचेञ्ज कमिटि (पिइसी)ले तय गरेको मूल्यका आधारमा प्राधिकरणले बिहार, उत्तरप्रदेश र उत्तराखण्डबाट विद्युत् आयात गर्छ । ती विन्दुबाट ११, ३३ र १ सय ३२, केभी प्रसारण लाइनबाट आयात गर्ने विद्युत्को प्रतियुनिट मूल्य भारतीय रुपैयाँ क्रमश ः भारू ६ रुपैयाँ ४५ पैसा (१०.३२ रुपैयाँ), भारू ६ रुपैयाँ (९.६ रुपैयाँ) र भारू ५ रुपैयाँ ५५ पैसा (८.८८ रुपैयाँ) छ । अन्य अन्तरदेशीय प्रसारण लाइनका तुलनात्मक अझै पनि ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनको विद्युत् दर सस्तो छ ।
नेपाल–भारत सचिवस्तरीय विद्युत् व्यापार संयन्त्रको बैठकको निर्णयअनुसार प्राधिकरणले उक्त प्रसारण लाइनमार्फत विद्युत् आयात गरिरहेको छ । प्राधिकरणले, भारत सरकारले तोकेको नोडल एजेन्सी एनभीभीएनसँग विद्युत् खरीद गर्दै आएको छ ।