पार्टी प्रकाशन लुट्ने प्रहरीमाथि कारबाही गर्न क्रान्तिकारी माओवादीको माग

पार्टी प्रकाशन लुट्ने प्रहरीमाथि कारबाही गर्न क्रान्तिकारी माओवादीको माग

पोखरा । नेकपा (क्रान्तिकारी माओवादी)का कास्की सचिव हेमन्तले एक प्रेस वक्तव्य जारी गर्दै आफ्नो परिचय दिंदा दिंदै र लाइसेन्स, विलबुक लगायत कागजात देखाउँदा देखाउँदै पनि पार्टीका पोखरा लेखनाथ वडा नं. ३३ का सचिव राजकुमार सुनारमाथि सुरक्षा जाँचको नाममा अभद्र व्यवहार गरेको र पार्टी प्रकाशनहरु लुटेर लगेको भन्दै कानुनी राज्यको धज्जी उडाउने ट्राफिक प्रहरीमाथि कारबाही गर्न माग गर्नुभएको छ ।

वक्तव्यमा जनाइएको छ, “०७४ चैत्र साँझ करिब ८ बजे पृथ्वीराजमार्ग अन्तर्गत मिलन चलचित्र भवन पावरहाउस लेखनाथ नजिक प्रहरी चेकपोष्ट परिसरमा ट्राफिकसहितका प्रहरीहरुले तनहुँबाट पोखरा आउँदै गरेका नेकपा (क्रान्तिकारी माओवादी)का पोखरा लेखनाथ वडा नं. ३३ का सचिव क.राजकुमार सुनारसहित चढेको ग ७ प ९५८३ नम्बरको मोटरसाइकल चेकजाँचकाा नाममा आवश्यक काजजातहरु देखाउँदा देखाउँदै पनि तँ कुन पार्टीको हो ? नेताका नाम र नम्बर बताउन दबाब दिंदै निज सुनारसँग गरेका चैत्र १२ मा प्रकाशित वर्गदृष्टि साप्ताहिक पत्रिका, युवा मोर्चालगायतका रसिद प्याड, पार्टी प्रकाशन र अन्य महत्वपूर्ण कागजातहरु खोसी एक हजार समेतको जबर्जस्ती रसिद काट्ने कार्य भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”

वक्तव्यमा लुटिएका पार्टी प्रकाशन लगायतका सामग्री अबिलम्ब फिर्ता गरी कानुनी राज्यको अनुभूति दिलाउन र सुरक्षा जाँचका नाममा कानुनी राज्यको धज्जी उडाउने प्रहरीलाई कारबाही गर्न माग गरिएको छ ।