
एजेन्सी । अमेजनका संस्थापक जेफ बेजोस १२० अर्ब डलरसहित पृथ्वीको सबैभन्दा धनी व्यक्ति बनेका छन् । फोब्र्सले मंगलबार सार्वजनिक गरेको सूचीअनुसार बेजोस १ सय अर्बभन्दा माथि सम्पत्ति भएका एक मात्र अर्बपति हुन् ।
गत एक वर्षमा अमेजनको सेयरमा ५९ प्रतिशतले वृद्धि भएको फोब्र्सले जनाएको छ, जसका कारण उनको सम्पत्तिमा ३९.२ अर्ब डलर वृद्धि भएको छ ।

माइक्रोसफ्टका बिल गेट्स ९० अर्ब डलरसहित दोस्रो स्थानमा छन् भने वारेन बफेट ८४ अर्ब डलरसहित तेस्रो स्थानमा छन् । फोब्र्सको धनी सूचीको पहिलो तीन स्थानमा अमेरिकी छन् भने चौथो स्थानमा फ्रान्सेली बर्नाड आर्नोल्त ७२ अर्ब डलरसहित छन् ।
पाँचौँ स्थानमा फेसबुकका मार्क जुकरवर्ग ७१ अर्ब डलर, अमान्सियो ओर्टेगा ७० अर्ब डलरसहित छैठौँ, कार्लोस स्लिम हेलु ६७ अर्ब डलरसहित सातौँ, चार्ल्स कोच ६० अर्ब डलरसहित आठौँ, डेविड कोच ६० अर्ब डलरसहित नवौँ र ल्यारी एलिसन ५८.५ अर्ब सहित दशौँ स्थानमा छन् । एसियाका सबैभन्दा धनी व्यक्ति भने चीनका मा हुआतेङ बन्न सफल भएका छन् । उनी ४५.३ अर्बसहित १७ स्थानमा छन् । १९ स्थानमा भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी पर्न सफल भएका छन्, उनको जम्मा सम्पत्ति ४०.१ अर्ब डलर छ । त्यसैगरी अलिबाबाका ज्याक मा ३९ अर्बसहित २० स्थानमा रहन सफल भएका छन् ।
यसवर्षको फोब्र्सको सूचीमा हालसम्मकै बढी २२०८ अर्बपति सूचीकृत भएका छन् । र यो सूचीअनुसार धनी र गरिबबीचको खाडलमा मात्र होइन, धनी–धनीबीचको दूरी पनि बढ्दो छ । फोब्र्समा सूचीकृत सम्पूर्ण अर्बपतिको जम्मा सम्पत्ति ९.१ ट्रिलियन डलर छ भने सबैभन्दा धनी २० जनाको सम्पत्ति १.२ ट्रिलियन डलर पुगेको छ । यी २० जना धनीमध्येका एक प्रतिशत हुन् तर यिनको सम्पत्ति अर्बपतिहरुको जम्मा सम्पत्तिको १३ प्रतिशत हुन आउँछ ।
फोब्र्सको सूचीमा २५९ नयाँ अनुहार आएका छन्, जसमध्ये सबैभन्दा बढी चीनबाट ८९ छन् भने दोस्रो स्थानमा अमेरिकाबाट १८ जना । यससँगै अमेरिकामा अर्बपतिको संख्या ५८५ पुगेको छ भने हङकङ, मकाओ, ताइवानसहित चीनमा ४७६ अर्बपति पुगेका छन् ।
फोब्र्सको सूचीमा ७२ देशका अर्बपति सामेल छन् । नेपालका विनोद चौधरी १.५२ अर्ब डलरसहित १५६१ औँ स्थानमा छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्तिमा भने ५४४ औँ स्थानबाट खस्केर ७६६ औँ स्थानमा पुगेका छन् ।