काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रहरी प्रशासनसँग सुरक्षा माग गरेका छन् ।
डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका भण्डारीलाई पराजुलीले ज्यान मार्ने धम्की दिएपछि शान्ति सुरक्षा पाउँ भन्दै बुधबार काठमाडौंकौ जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन् । निवेदन दर्ता गराउन भण्डारीसँगै डा. केसी, अधिवक्ता ओमप्रकाश अर्याल पनि जिप्रका पुगेका थिए ।
प्रधानन्यायाधीश पराजुलीले २६ पुस अन्दाजी ५.३० बजे तथा बिहीबार बिहान अन्दाजी ९.३० बजे फोन गरी ज्यान मार्नेसम्मको धम्की दिएको भण्डारीले जिप्रकामा दिएको निवेदनमा उल्लेख छ ।
माघ १६ गते २ बजेतिर केही मानिस आफ्नो घरमा आएर पुनः धम्की दिएको भन्दै भण्डारीले प्रधानन्यायाधीशबाटै आफ्नो ज्यानमा खतरा भएको निवेदनमा उल्लेख गरेका छन् ।
यसैबीच, त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली अपराधी र ‘हत्यारा’ भएको टिप्पणी गरेका छन् । पछिल्लो समय प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै आएका डा.केसीले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको भन्दै प्रधानन्यायाधीश पराजुली हत्यारा भएको आरोप लगाएका हुन् ।
बुधबार जिल्ला प्रशासन कार्यालयमा डा.भण्डारीको निवेदन दर्ता गराउन पुगेका डा.केसीले जिल्ला प्रशासन कार्यालय परिसरबाटै भने, ‘विद्वान अधिवक्ता सुरेन्द्र भण्डारीलाई त्यो अपराधी, भ्रष्ट, माफिया, डनको नाइके गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको छ । त्यस्तो मान्छे प्रधानन्यायाधीश हुनसक्छ ?’