काठमाडौं आउँदै आईसीसीको टोली, यी विषयमा हुनेछ छलफल

काठमाडौं आउँदै आईसीसीको टोली, यी विषयमा हुनेछ छलफल

काठमाडौं, १२ माघ । नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन फुकुवाको विषयमा छलफल गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को टोली नेपाल आउने भएको छ ।

आईसीसीले एक विज्ञप्ती जारी गर्दै उपाध्यक्ष इमरान ख्वाजा सहितको टोली नेपाल आउन लागेको जानकारी दिएको हो । क्यानको निलम्बन फुकुवाको विषयमा लागि नेपालमा हुने छलफलमा अन्तिम उपायको खोजी हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आईसीसी प्रतिनिधी मण्डलले आउँदो आइतबार आईसीसीले गठन गरेको सल्लाहकार समूहका सदस्यहरु, क्यानका निर्वाचित समितीका पदाधिकारी र सरकारी अधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको जनाएको छ । यस पटकको भ्रमण क्यानमाथीको निलम्बन फुकुवा तथा क्यानको सदस्यता पुर्नवहालीमा केन्द्रीत हुने विज्ञप्तीमा जनाइएको छ ।

आईसीसीले गत वर्ष वैशाख १३ गते नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको थियो । क्यानको निलम्बन फुकुवा गर्न र संशोधनसहित नयाँ विधान बनाउन आईसीसीले ८ सदस्यीय सल्लाहकार समिति बनाएको थियो ।

उक्त समितीले तयार पारेको विधानलाई निर्वाचित क्यानको विशेष अधिबेशनले संशोधन सहित पारित गरि आईसीसीलाई बुझाएको थियो । उक्त संशोधनसहितको विधानमा आफूहरुको ध्यानाकर्षण भएको आईसीसीले जनाएको थियो ।

त्यहीबीच निर्वाचित क्यानले देशका विभिन्न जिल्लाको अधिबेशन गरेपछि आफूहरुको स्वीकृतिबिना अधिबेशन गराएको भन्दै त्यो अमान्य रहेको आईसीसीले जनाएको थियो । सोहीबीच आईसीसीले क्यान पुनर्वहालीका लागि डिसेम्बर २२ सम्म सन्तोषजनक कारणहरु पठाउन निर्वाचन क्यानलाई समयसिमा तोकेको थियो ।

फेब्रुअरीमा हुने आईसीसीको बोर्ड बैठकमा जवाफहरु सहित छलफल गरिने र चित्त बुझ्दो जवाफ नआएमा क्यानको सदस्यता खारेज गर्नेसम्मको चेतावनी दिएको आईसीसीको प्रतिनिधिमण्डल काठमाडौं आउन लागेको हो ।

ख्वाजाले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘क्यानको निलम्बन पछि आईसीसीले नेपालको क्रिकेटलाई निरन्तरता दिन टोली छनोट, व्यवस्थापन, सञ्चालन तथा आर्थिक रेखदेख जस्ता काम गर्दै आएको छ । बोर्डको निर्णयले खेलाडीलाई सजाय दिन नहुने निर्णय गर्दै आईसीसीका प्रतियोगिताहरुमा उनीहरुलाई निरन्तर खेल्न दिइरहेको छ ।’

ख्वाजाले विज्ञप्तिमा थप भनेका छन्, ‘सल्लाहकार समितीले क्यानको पुर्वबहालीका लागि विधान संशोधनमा उल्लेखनीय भूमिका खेलेको छ तर क्यानले उक्त प्रस्ताव गरिएको बिधानलाई पारित गरेन् । यसबाहेक पनि अन्य विषयहरुमा छलफल गर्नुपर्ने देखिन्छ । हामीलाई आशा छ, क्यान, सल्लाहकार समिती र सरकारी प्रतिनिधीहरुसँगको छलफलपछि क्यानको पुर्नवहालीको निकास निस्कनेछ ।’