तीन महिने सांगठानिक अभियानको आवश्यकता र महत्व

प्रकाशित मिति : २०७४ माघ ८

- प्रेम सुवेदी

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को केहि समय पहिले सम्पन्न दोस्रो केन्द्रीय समितिको बैठकले वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै यतिबेला मुख्य गरेर संगठन निर्माण र जनपरिचालनका लागि तीन महिने अभियान संचालन गर्ने कुरामा मुख्य जोड दिएको छ । पार्टीको पारित प्रस्तावमा भनिएको छ, “यो बेला हामीले सांगठनिक कामलाई विशेष महत्व दिनु पर्दछ । संगठनको अभावमा पार्टीका कुनै पनि काम अगाडि बढ्न सक्दैन । तसर्थ, हामीले विशेष जोड दिनु पर्ने अहिलेको प्रमुख काम हो– संगठन, संगठन र संगठन ।” पार्टीको यो निर्णयलाई कार्यान्वयन गर्न तथा जनताका बीचमा पार्टीको नीतिलाई लैजान सबै तहका पार्टी समिति तथा पार्टी सदस्यहरुले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।

पार्टीको संगठनात्मक अवस्थालाई ध्यान दिएर नै उपरोक्त निर्णय लिएको कुरा सबै कार्यकर्ताहरुमा अवगत नै छ । तसर्थ, यतिवेला पार्टीको सम्पूर्ण शक्ति संगठन निर्माण तथा जनपरिचालन अभियानलाई सफल पार्न जबस–मोर्चाहरुको निर्माण, पार्टी सुदृढीकरण र संघर्षका आधार तयार पार्ने योजनाका साथ चलायमान हुनु पर्दछ । जबसम्म संगठन व्यवस्थित र जनआधारित बन्दैन, तबसम्म पार्टीले निर्णायक संघर्षको भूमिका निर्वाह गर्न सक्दैन । त्यसैले यतिबेलाको प्राथमिकता संगठनको निर्माण र जनपरिचालन नै हो । निश्चय नै संगठनमा रहेका अन्तरविरोधको पहिचान गर्दै संगठनलाई वर्गसंघर्ष तथा राजनैतिक आन्दोलनसँंग एकाकार गर्ने कुरामा ध्यान दिनु पर्दछ । ती आन्दोलनको नेतृत्व स्वतःस्पूmर्त रुपमा हुन नसक्ने कुरालाई आत्मसात गर्दै पार्टीलाई भौतिक शक्तिको रुपमा विकास गर्नु अहिलेको आवश्यकता हो ।

संगठनको महत्वमाथि प्रकाश पार्दै लेनिनले भनेका छन्, “सत्ता प्राप्त गर्ने संघर्षमा सर्वहारा वर्गसित संगठन सिवाय अर्को कुनै हतियार छैन । पुँजीवादी जगतमा अराजक होडबाजीको शासनबाट छिन्नभिन्न रहेको पुँजीको निमित्त बाध्य भएर गरिने मेहनतबाट थिचिएको बेहद् अभाव बर्बरता र पतनको गहिरो खाल्डोमा जाकिएको सर्वहारा वर्गले तब मात्र एउटा अजेय शक्ति बन्न सक्छ र अनिवार्य रुपमा बन्नेछ, जब माक्र्सवादका सिद्धान्तहरुको आधारमा हुने त्यसको विचारधारात्मक एकतालाई संगठनको भौतिक एकताद्वारा दरिलो बनाइने छ । यस संगठनले लाखौं लाख श्रमिकहरुलाई मजदुरवर्गको सेनामा एकगढ पार्ने छ ।”

लेनिनका यी भनाईले संगठनको महत्व तथा संगठनको भौतिक शक्तिको कति आवश्यक छ भन्ने कुरालाई राम्ररी उद्घाटित गरेको छ । जबसम्म पार्टीले संगठनको भौतिक शक्ति प्राप्त गर्न सक्दैन, तबसम्म राज्यसत्ता प्राप्तिको आन्दोलनले आफ्नो अभिभारा पुरा गर्न सक्दैनन् ।

आज दक्षिणपन्थी संशोधनवादी शक्तिहले कम्युनिष्ट आन्दोलनको नाममा फैलाएको भ्रमलाई भण्डाफोर गर्न तथा क्रान्तिकारी शक्तिलाई गोलबन्द गर्न वैचारिक राजनैतिक तथा संगठनात्मक हिसाबले पार्टीलाई अब्बल बनाउनु पर्ने आवश्यकता बढेर गएको छ । त्यो आवश्यकतालाई पुरा गर्नका लागि हाम्रो पार्टीको यो अभियानको ऐतिहासिक महत्व छ । पार्टी कार्यकर्ताहरुले त्यो आवश्यकतालाई बोध गर्दै पार्टीको अभियान सफल पार्नु पर्नेछ ।

सामान्य रुपमा यो अभियान नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को आन्तरिक विषय जस्तो देखिए पनि यसको महत्व त्यतिमा मात्रैमा सीमित छैन । आजको कम्युनिष्ट आन्दोलनको वैचारिक केन्द्र नै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) भएको पृष्ठभूमिमा यसलाई आन्तरिक विषयको अर्थमा मात्र बुझ्नु हँुदैन । तसर्थ क्रान्तिकारी शक्ति तथा जनतालाई गोलबन्द गर्ने उद्देश्यका साथ यतिबेला संगठन निर्माण र जनपरिचालन अभियानमा केन्द्रीत हुन जरुरी छ ।