काठमाडौं, ३ माघ । खर्च अभावमा पाँचौं दृष्टिविहीन विश्वकप क्रिकेट खेल्नका लागि बस र रेल हुँदै पाकिस्तान पुगेको नेपाली टोलीका लागि नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस)ले टिकटको व्यवस्था गरिदिएको छ । एनसीएसएसले सञ्चालन गरेको ‘जाँदा रेलमा आउँदा प्लेनमा’ नारासहितको अभियानबाट उठेको रकमले नेपाली टोलीका लागि टिकट काटिएको अध्यक्ष भानु सिग्देलले जानकारी दिए ।

अध्यक्ष सिग्देलका अनुसार खेलाडी र अफिसियल गरी २२ जनाका लागि टिकट काटिएको छ । एनसीएसएसको अनुरोधमा ३० प्रतिशत सहुलियतमा फ्लाई दुबई एअरलाइन्सको टिकट काटिएको हो । त्यसका लागि तीन लाख १९ हजार खर्च भएको अध्यक्ष सिग्देलले जानकारी दिए । उनका अनुसार अभियानबाट मंगलबारसम्म ६ लाख ३२ हजार रकम उठेको छ । अभियानबाट उठेको बाँकी रकम खेलाडी र संघलाई हस्तान्तरण गरिने भएको छ ।

खर्च अभावमा नेपाली टोली बस र रेलको यात्रा गर्दै चार दिनपछि पाकिस्तान पुगेको थियो । पाकिस्तान र दुबईमा आयोजना गरेको विश्वकपमा नेपाल एक खेल जित्दै घर फर्कने भएको छ । भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासँग पराजित भएको नेपालले सोमबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा अस्टे«लियालाई पराजित गरेको थियो ।

नेपालले आयोजक पाकिस्तान र बंगलादेशसँग पाकिस्तानमा खेलेको थियो भने भारत, श्रीलंका र अस्टे«लियासँग दुबईमा खेलेको थियो । प्रतियोगिताको दौरान बस्ने, खाने र पाकिस्तानबाट दुबईसम्म जान आयोजकको सहयोग पाएको नेपाली टोलीलाई दुबईबाट स्वदेश फर्कन फेरि खर्च अभाव थियो । एनसीएसएसको अभियानबाट प्लेन टिकट सम्भव भएपछि त्यसको समस्या समाधान भएको छ । नेपाली टोली प्रतियोगिता समाप्त भएपछि जनवरी २१ मा स्वदेश फर्कनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर