
काठमाडौं, १२ पुस । पारस खड्काको कप्तानी रहेको विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपीएल)को फाइनलमा प्रवेश गरेको छ ।बुधबार भएको पहिलो क्वालिफायर्समा भैरहवा ग्लाडिएर्सलाई ८ विकेटले पराजित गर्दै विराटनगरले फाइनलमा स्थान बनाएको हो । विराटनगरको जितमा बाबर हायतले अर्धशतक प्रहार गरे । यस्तै कप्तान पारस खड्काले नटआउट ४२ रनको योगदान गरे ।
लिग चरणमा सबै ५ खेल जितेर अपराजित बन्दै विराटनगरले १० अंक जोडेको थियो । लिग चरणमा विराटनगरले भैरहवालाई ३५ रनले पराजित गरेको थियो ।
विराटनगरसँग पहिलो क्वालिफायरमा हारेपनि भैरहवाले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । बुधबार पोखरा र ललितपुरबीच हुने एलिमिनेटरको विजेतासँग भैरहवाले बिहीबार फाइनल प्रवेशका लागि खेल्नेछ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२७ रन बनाएको थियो । भैरहवाका लागि पुनित मेहराले ४९ तथा आसिफ शेखले ४६ रन बनाए ।
२७ रन बनाउँदा ४ विकेट गुमाएको भैरहवाका लागि पुनित र आरिफले पाँचौ विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । बलिङमा विराटनगरका करण केसी र सहान अदिसा अप्पुहामीले २÷२ विकेट लिए ।
जवाफमा १२८ रनको लक्ष्य पछ्याएको विराटनगरले पहिलो ओभरमै आसिफ शेखलाई शुन्यमा गुमाएको थियो । तर बाबर हायतले दोस्रो विकेटका लागि अंशुमन राथसँग ७४ रनको साझदारी गर्दै जिततर्फ डोर्होयाएका थिए । ४४ बल खेलेका हायतले ४ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ६२ रन बनाए ।
यस्तै कप्तान पारस खड्काले २४ बल खेल्दै २ चौका र ४ छक्काको मद्दतमा नटआउट ४२ रन बनाए । पारस र अंशुमनले तेस्रो विकेटका लागि ५६ रनको साझेदारी गरे । अंशुमन २६ रनमा नटआउट रहे ।