धनगढी, पुस १२ । ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ गत मङ्सिर २९ गतेदेखि शुरु भएको सुदूरपश्चिम महोत्सव मङ्गलवार सम्पन्न भएको छ । दुई सय ५० व्यापारिक स्टल राखिएको महोत्सवको १२ दिनको अवधिमा रू. १६ करोड बराबरको कारोबार भएको आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जानकारी दिएको छ ।
महोत्सवमा विक्री भएको प्रत्येक टिकटबाट केही रकम जिल्ला दैविप्रकोप उद्धार कोष र शिवपुरी धामको विकासका लागि छुट्याइएको सङ्घका महासचिव रुपेश स्वारले बताए । प्रत्येक टिकटबाट एक रुपैयाँ जिल्ला दैविप्रकोप उद्धार कोषमा र एक रुपैयाँ शिवपुरी धामको विकासका लागि छुट्याउने महासङ्घले निर्णय गरेको महासचिव स्वारले जानकारी दिए ।
सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योेग, व्यापार व्यवसायको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्य सङ्घले हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गर्दै आएको छ ।






























