काठमाण्डौ,७ पुस – बुद्व एयरले वार्षिक २५ लाख पर्यटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको माध्यमबाट नेपाल भित्र्याउने लक्ष्यसहित गृहकार्य थालेको छ ।
यस कार्यलाई सफलता पूर्वक सञ्चालनमा ल्याउनका लागि बुद्व एयरले पोखरा तथा त्यस वरपरका सरोकारवालाहरुसँग थप सहकार्य तथा अध्ययन गरी आफ्नो समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भी–रक एण्ड कम्पनी प्रालि सँग सम्झौता गरेको छ ।
सम्झौता–पत्रमा बुद्ध एयरका तर्फबाट प्रवन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेत र भी–रक एण्ड कम्पनीका तर्फबाट अध्यक्ष राधेश पन्तले हस्ताक्षर गरेका छन् । भी–रक एण्ड कम्पनी पूर्वाधार विकास, वित्तीय सेवा, रणनीति व्यवस्थापन र नेतृत्व विकासमा परामर्शदाताको रुपमा केन्द्रित रहेर काम गर्दै आएको छ ।
पोखरा विमानस्थल निर्माण तथा सञ्चालनपछि हुनसक्ने परिवर्तन तथा विकास सम्भावनाका कार्यहरुको अध्ययनका लागि भी–रक एण्ड कम्पनीले खोज अनुसन्धान तथा सहयोगीको भूमिका निभाउने बताइएको छ ।
बुद्ध एयरले गरेको अध्ययन अनुसन्धान अनुसार पोखरा अन्तर्राष्टिय विमानस्थलको निर्माण पछि २५ लाख पर्यटक नेपाल भित्रिने देखाएको छ । यसरी भित्रिने पर्यटकहरु केवल पोखरा र अन्नपूर्ण क्षेत्रमा मात्र सीमित हुने छैनन्, उनीहरु समग्र प्रदेश नं ४ तथा देशका अन्य क्षेत्रहरुमा पनि जान सके थप बाटो खोल्न सक्ने बताइएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भ्रमणमा आउने पर्यटकले दश लाख नेपालीलाई दिगो रोजगारिको व्यवस्था गर्न सकिने बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले बताउनुभयो । अहिलेको तथ्यांक अनुसार ३ लाख पर्यटकले वार्षिक पोखरा र अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्ने गरेका छन् ।