कानुनको धज्जी उडाउँदै वायुसेवा निगम

कानुनको धज्जी उडाउँदै वायुसेवा निगम

काठमाडौं, ७ पुस । नेपाल वायु सेवा निगमका क्याप्टेन रमेशचन्द्र उपाध्यायलाई विदेशबाट जहाज अवतरण गर्नासाथ प्रहरीले पक्राउ र्गयो । उनको साथबाट केही थान नाडी घडी बरामद भयो । लगत्तै घडी तस्करीको आरोपमा निगमले उनलाई जागिरबाट बर्खास्त र्गयो । यो करिव ४ दशक अघिको घटना हो ।

तीन दशकअघि क्याप्टेन कमलकृष्ण श्रेष्ठ दुबईबाट जहाज लिएर काठमाडौं आउनासाथ प्रहरीको फन्दामा परे । उनको साथमा केही ग्राम सुन भेटियो । त्यसपछि सुन तस्करीको आरोपमा उनलाई पनि जागिरबाट बर्खास्त गरियो ।

साढे दुई दशकअघि विदेशबाट जहाज लिएर आएका क्याप्टेन लक्ष्मणलाल दास प्रधानको साथबाट २० हजार अमेरिकी डलर बराबद भयो । लगत्तै निगम व्यवस्थापन समितिले विदेशी मुद्रा तस्करीको आरोपमा उनलाई जागिरबाट बर्खास्त र्गयो ।

त्यसपछि एयर होस्टेज पुष्पलता त्रिखत्री, तुलसा बस्नेतलगायतको साथबाट पनि केही थान घडी भेटिएपछि घडी तस्करीको आरोपमा उनीहरूलाई पनि जागिरबाट बर्खास्त गरियो ।

निगमको ऐन–कानुन यथावत छ । तर, त्यसबेला पाइलट र एयरहोस्टेजलाई ठाउँका ठाउँ कारबाही गर्ने निगम अहिले यस्तै प्रकृतिका घटनामा कारबाही गर्न धेरै उदार देखिएको छ ।

२०७३ चैत २८ गते दुबई उडान भर्न लाग्दा निगमका वरिष्ठ क्याप्टेन सुवर्ण अवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । नियमित ड्युटीअनुसार जहाज कमान्ड गरेर दुबई जान लागेका अवालेको ब्याग राति करिव साढे ११ बजे विमानस्थलका सुरक्षाकर्मीले खानतलासी गरे । ब्यागबाट ९३ हजार ६ सय अमेरिकी डलर बरामद भएपछि उनलाई पक्राउ गरिएको हो । कानुनअनुसार १ व्यक्तिले १ हजार ५ सय अमेरिकी डलर मात्र साथमा लिएर विदेश जान पाउँछन् । उड्डयन नियमअनुसार चालकदलका सदस्यले आफूले पाउने भत्ताबाहेक एक पैसा पनि साथमा लिएर जान पाउँदैनन् ।

उनै क्याप्टेन अवालेलाई निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारको जोडबलमा सरकारले उडान लाइसेन्स अध्यावधिक गर्ने तालिममा पठाउने अनुमति दिएको छ । अवाले आज राति ११ बजे निगमकै जहाजबाट करिव २ साताको लागि मलेसिया हुँदै सिंगापुर जाँदैछन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।