काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारहरुले “मुठ्ठी” चिन्हमा मतदान गर्नुहुने मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । देजमोका उम्मेदवारहरुले चौतर्फी कथित वाम र लोकतान्त्रिक गठबन्धनको घेराबन्दीका बीच देजमोका उम्मेदवारहरुलाई मतदान गर्ने मतदाताहरुप्रति आ–आफ्ना फेसबुक पेजमा स्टाटस लेख्दै हार्दिक आभार व्यक्त गरेका हुन् ।

पार्टी तथा मोर्चाको निर्वाचनको क्रान्तिकारी उपयोगको नीति अनुसार चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुले निर्वाचन उपयोगको कार्यनीतिबाट पार्टी तथा मोर्चालाई देशव्यापी रुपमा स्थापित गराउन सफल भएको, जनतासँगको सम्बन्ध सुदृढ पार्ने अवसर मिलेको, जनतामा क्रान्तिकारी शक्तिप्रति रहेको भ्रम चिर्न सफल भएको, संगठन निर्माणको आधार तयार भएको र पार्टी तथा मोर्चालाई वैकल्पिक शक्तिको रुपमा स्थापित गराउन सफल भएको उम्मेदवारहरुले दावी गरेका छन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल नयाँ संगठन हुनु, पार्टीको चुनाव चिन्हको बारेमा मतदाता अनभिज्ञ रहनु, चरम आर्थिक अभावका कारण भएका संगठनहरुलाई पनि व्यवस्थित रुपमा परिचालन गर्न नसक्नु, प्रचार प्रसार तथा भण्डाफोर अभियानलाई आर्थिक अभावकै कारण अझ व्यापक बनाउन नसक्नु र मुख्यतः जसरी पनि निर्वाचन जित्नेभन्दा पनि प्रतिक्रियावादी संसदीय व्यवस्था, सत्ता र संविधानको भण्डाफोर गर्ने र नयाँ जनवादी क्रान्तिको पक्षमा जनमत संगठित गर्ने उद्देश्यलाई केन्द्रमा राखेर निर्वाचनको उपयोग गरिएकोले मोर्चाका उम्मेदवारहरुको पक्षमा खसेको मत थोरै भए पनि त्यसलाई कम आँक्न नहुने उम्मेदवारहरुको बुझाइ रहेको छ । थोरै मत भएपनि त्यसको गुणात्मकतालाई बुझ्नु पर्ने उनीहरुको तर्क छ ।

संसदवादी दलहरुले सत्ता र पैसाको चरम दुरुपयोग गरी जनमतको ब्लोकमेलिङ गरेको पनि देजमोका उम्मेदवारहरुको आरोप छ । करोडौं खर्चेर संसदवादीका उम्मेदवारहरुले निर्वाचन जिते पनि मुलुकका सामु राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायतका समस्याहरु अझ विकराल भएर जाने र ती समस्याहरु समाधानका लागि देशक्त, जनगणतान्त्रिक शक्ति र क्रान्तिकारी शक्तिहरु मिलेर नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्न क्रान्तिको तयारीमा जुट्नुपर्ने निष्कर्ष पनि देजमोका उम्मेदवारहरुको रहेको देखिन्छ ।

गोरखा–२ बाट प्रतिनिधिसभाको उम्मेदवार नारायण अधिकारी आफ्नो फेसबुक स्टाटसमा लेख्छन्, “पाँच बज्यो चुनावी कार्यनीति पनि सकियो । अब नयाँ जनवादी क्रान्तिको आम कार्यदिशा लिएका राजनैतिक शक्तिहरु मिलेर अगाडि बढ्ने योजना कार्यान्वयनमा जुटौं !’

नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मार्चा, नेपालको तर्फबाट प्रत्यक्ष र समानुपातिक तर्फ ५ सय २८ जना उम्मेदवार बनेका थिए । समानुपातिक र प्रत्यक्षतर्फको मतगणना जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर