सीमा क्षेत्रमा कडा सुरक्षा जाँच, संयुक्त गस्तीदेखि तालिम प्राप्त कुकुरको प्रयोग

सीमा क्षेत्रमा कडा सुरक्षा जाँच, संयुक्त गस्तीदेखि तालिम प्राप्त कुकुरको प्रयोग

कपिलवस्तु, १९ मंसिर । निष्पक्ष र भयरहित वातावरणमा बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्न सुरक्षा जाँच कडा गरिएको छ । ३ दिन यता ग्रामीण र सहरी बस्तीका ठाउँठाउँमा आकस्मिक चेक थालिएको छ ।

त्यस्तै पूर्व–पश्चिम र सहायक मार्गहरु पनि ‘सरप्राईज चेकिङ गरिएको छ । सीमानाका कृष्णनगर, मर्यादपुर र चाकरचौडामा तालीम प्राप्त कुकुर प्रयोग गरेर जाँच गरिएको छ । सहायक निरिक्षकको कमाण्डमा टोली नै खटाएर कुकुरले सुरक्षा चेक गर्ने गरिएको छ ।

भारतबाट आउने व्यक्ति र सावरीसाधानलाई विषेश जाँच गरिएको छ । त्यस्तै सीमाका ठाउँठाउँमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती गरिरहेका छन् । चुनाव लक्षित गरी भारतीय सुरक्षाकर्मीले पनि सीमा क्षेत्रमा चेक कडा गरेका छन् ।

चोक, बजार र संवदेनशिल ठाउँमा विषेश सुरक्षा सतर्कता अपनाइएको छ । सुरक्षा जोखिम रहेका ठाउँमा सादा पोसाकमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी पनि परिचालन गरिएको छ ।

चुनावलाई नै लक्षित गरी म्यादी, नेपाल र सशस्त्र प्रहरी र नेपाली सेना गरी ५ हजार ३४१ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समिति संयोजक तथा प्रजिअ मदन भुजेलले बताए ।

निर्वाचनमा २ हजार ४ सय ७४ म्यादी प्रहरी, १ हजार २ सय ७ नेपाल प्रहरी र ८ सय १० सशस्त्र प्रहरी परिचालन भएका छन् । बाहिरी घेरामा ८ सय ५० नेपाली सेना पनि परिचालन गरिएको छ । मतदानस्थल र केन्द्रको पहिलो घेरामा म्यादी र नेपाल प्रहरी तथा दोस्रो घेरामा सशस्त्र खटिने छन् । त्यस्तै तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन् ।

‘निर्वाचनलाई भयरहित र स्वच्छ बनाउन सुरक्षा व्यवस्था कसिलो बनाएका छौं,’ प्रजिअ भुजेलले भने, ‘मतदातालाई निधक्क भएर मतदान गर्ने वातावरण बनाएका छौं ।’ यस्तै जिल्लाका १ सय ५३ मतदानस्थललाई अतिसंवेदनशील, ६५ संवेदनशील र १५ सामान्यमा वर्गिकरण गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।