देजमोका उम्मेदवारलाई भोट माग्दै क्रान्तिकारी माओवादीका महासचिव वैद्य चितवनमा

देजमोका उम्मेदवारलाई भोट माग्दै क्रान्तिकारी माओवादीका महासचिव वैद्य चितवनमा

चितवन । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुलाई भोट माग्न चितवन पुग्नुभएको छ । शुक्रबार चितवन पुग्नुभएका महासचिव किरणले शुक्रबारै चितवनको २ नं. निर्वाचन क्षेत्रको चौविसकोटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभयो । क्रान्तिकारी माओवादीको केन्द्रीय कार्यालयले जनाए अनुसार महासचिव किरण लगातार तीन दिन चितवनमा रहेर देजमोका उम्मेदवारहरुलाई भोट माग्नु हुनेछ र जिल्लाका विभिन्न ठाउँमा आयोजित चुनावी सभाहरुलाई सम्बोधन गर्नुका साथै घरदैलो र जनभेटभाटमा पनि सरिक हुनुहुनेछ ।

‘राज्यसत्तामा पुरानै शक्ति छ, परिवर्तन भएको छैन’ ‘यो संसदीय व्यवस्था ढल्छ, ढाल्नुपर्छ’

शुक्रबार चितवनको चौविसकोटीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै महासचिव किरणले दशवर्षे महान जनयुद्धपछि पनि मुलुकमा कुनै परिवर्तन नआएको र राज्यसत्तामा पुरानै शक्ति रहेको बताउनु भएको छ । प्रचण्ड र बाबुरामहरुले क्रान्ति सम्पन्न भइसकेको तर्क गर्ने गरेको तर्फ इङ्गित गर्दै महासचिव किरणले “महान जनयुद्ध संसदीय व्यवस्थाको पुनस्र्थापनाका लागि गरिएको थिएन, झण्डै १४ हजार पार्टीका नेता कार्यकर्ता र जनताको रगत संसदीय व्यवस्थाको ठाउँमा संसदीय व्यवस्था ल्याउन बगेको होइन, थिएन ।” भन्नुभयो, “क्रान्ति भनेको पुरानो प्रतिक्रियावादी शासकहरुको हातमा रहेको शासन सर्वहारा, मजदुर किसानदेखि राष्ट्रिय पुँजीपतिवर्गसम्मको जनताको हातमा पुग्नु हो । खोइ जनताको हातमा छ शासन ? आज मन्त्रीपरिषद्मा को छ ? तिनै कांग्रेस, एमालेहरु छन् । उनीहरु हिजो जनयुद्धमाथि दमन गर्ने शक्ति होइनन् ? तिनीहरु पुराना शक्ति होइनन् ? अनि कहाँ भयो क्रान्ति ? कहाँ भयो परिवर्तन ? के भयो परिवर्तन ? परिवर्तन विल्कूल भएको छैन । यो संसदीय व्यवस्थाका विरुद्ध नयाँ ढंगले क्रान्तिको प्रक्रिया अगाडि बढाउनु पर्छ । संसदीय व्यवस्था ढल्छ, ढाल्नुपर्छ ।”

महासचिव किरणले प्रचण्ड बाबुरामले क्रान्तिप्रति विश्वासघात गरेका कारण क्रान्तिले गम्भीर धक्का खान पुगेको चर्चा गर्दै परिवर्तनको प्रक्रियालाई बीचैमा अबरुद्ध पारेर उनीहरुले जनयुद्धमा बगेको रगतमाथि होली खेलेको टिप्पणी गर्नुभयो ।

राणा शासनका विरुद्ध बन्दुक उठाउँदा कांग्रेस, पञ्चायती व्यवस्थाका विरुद्ध झापा विद्रोह गर्दाताकाको एमाले र जनयुद्ध सुरुगर्दाताकाको माओवादी संख्यात्मक रुपले सानो पार्टी रहेको चर्चा गर्दै महासचिव किरणले अहिले हामी पनि संख्यात्मक हिसाबले सानो भएपनि क्रान्तिको प्रक्रियामा ठूलो हुँदै जाने र संसदीय व्यवस्थालाई अवश्य ढालिछाड्ने दावी गर्नुभयो । र, भन्नुभयो, “अहिले जस्तै ०४७ सालमा पनि हामीले यसरी नै भाषण गर्दा मान्छेहरुले पत्याउँदैन थे । दशवर्षे जनयुद्ध त भयो नि त । धोका र गद्दारी भयो । त्यो कुरा छोड्नस् ।”

अहिले सत्ता र पैसाको दुरुपयोग गरेर जनतामा गठबन्धनका दलहरुले आतंक खडा गरेको चर्चा गर्दै महासचिव किरणले गठबन्धन लोकतान्त्रिक र वाम भनेपनि वाम र लोकतान्त्रिकको नाममा भ्रम मात्रै छरेको बताउनु भयो र भन्नुभयो, “यी दुवै गठबन्धन न लोकतान्त्रिक हुन्, न वाम, दुवै प्रतिक्रियावादी गठबन्धन हुन् । जनता भ्रममा पर्नुहुन्न ।”

कार्यक्रममा देजमोका उम्मेदवारहरु, क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरु र स्थानीय जनताको बाक्लो उपस्थिति रहेको थियो ।