‘रक्सी, मासु र पैसाले भोट किनबेच गर्ने दलालहरु सक्रिय भएका छन्’

‘रक्सी, मासु र पैसाले भोट किनबेच गर्ने दलालहरु सक्रिय भएका छन्’

सिन्धुलीमा मुख्यतः त्रिकोणात्मक प्रतिस्पर्धा जस्तो देखिन्छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, र पुरानो संसदीय दलहरुको लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धन वीचको प्रतिस्पर्धाको स्थिति छ । अहिलेको अवस्था जनताले देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाललाई नै एउटा वैकल्पिक शक्तिको रुपमा स्वागत गर्ने, सहयोग गर्ने गरेका छन् । त्यसका बावजुद पनि केही अप्ठ्याराहरु पनि छन् जसलाई सहजतामा बदल्न सक्ने हो भने हाम्रो स्थिति थप मजबुत बनाएर जान सक्ने स्थिति छ ।

हामीले अहिलेको संविधान, गणतन्त्र र संघीयताले जनताको सेवामा खासै काम गर्न सक्दैन, नयाँ परिवर्तनको अनुभूति गराइरहेको छैन त्यसैले साँचो अर्थमा जनताको सेवामा, पक्षमा हुने संविधान, गणतन्त्र र संघीयता एवं नयाँ परिवर्तनको लागि नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न गोलबन्द हुन आवश्यक हुने मुख्य एजेण्डा बोकेर यो प्रतिक्रियावादी राज्य व्यवस्थाको भण्डाफोर गर्दै जनताका बीचमा गइरहेका छौं । भेटघाट, घरदैलो, कोणसभा गर्दै जनतासँग अन्तक्र्रिया, छलफल हुँदा पटक पटक आन्दोलन पछि धोका पाउँदै आइरहेको स्थिति र फेरि पुरानै व्यवस्थालाई टालटुल पारेर नयाँ बनाएर ल्याउने चीजलाई जनताको बीचमा चिर्नको लागि अलि मेहिनत गर्नु परिरहेको छ, त्यसका वीचमा पनि हाम्रो मोर्चा र पार्टीलाई जनताले राम्रो रेस्पोन्स गरिरहेको हामीले पायौं ।

बिगतमा जस्तै यस पटकको चुनाव पनि संसदवादी पार्टीहरूले खोक्रो चुनावी भाषणको बाढी ल्याउने काम गरेका छन् । चुनाव जितेर गए पछि पाँच बर्ष सम्म जनताको घर दैलो टेक्न नआउने पार्टीका नेताहरूले फेरि जनतालाई पुराना र नया रंगिन सपना देखाउदैछन् । जनताले यस्ता कुरामा विस्वास नगरे पछि सधैं जस्तै पैसा बाँड्ने, रक्सी र मासुको भोज ख्वाएर मतदातालाई किनबेच गर्ने तरिका अपनाएका छन् । जनताका बिचमा विगतको जस्तै भोट किनबेच गर्ने दलालहरु सक्रिय भएका छन् । यसको सुरुवात भइसकेको छ ।

देशलाई समृद्धि दिन, प्रजातान्त्रिक प्रणाली अपनाउने र समाजवादी ब्यवस्था ल्याउने कबोल गर्ने पार्टीहरूले यस्ता घृणित काम गरिरहेका छन् । पटकपटक यसरी नै ठगिएका हामी जनताले पटकपटक तिनैलाई आफ्नो अमुल्य मत दिएर हाम्रा भावि सन्ततिलाई अन्धकार भविष्य तर्फ धकेल्ने गल्ती गर्नु हुँदैन । म विकट ग्रामीण तथा अब्यबस्थित अर्ध सहरीकरण भएको कमलाखोंचको दुधौली, डकाहा, हर्षाही, भलुवाही र भिमान लगायतका क्षेत्रमा बसोबास गर्ने सोझासिधा जनतालाई एकजुट भएर यस्ता झुठ, बेईमानी र जनमत खरिदबिक्रीको राजनीति गर्ने प्रवृत्तिका पार्टीहरुलाई बहिष्कार गर्दै देश र जनतालाई नयाँ जनवादी गणतन्त्रको दिशानिर्देश गर्ने नेकपा (क्रान्तिकारी माओवादी)को राजनैतिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुलाई मुठ्ठी चिन्हमा मतदान गरि अत्यधिक बहुमतले बिजयी गराउन अपील गर्न चाहन्छु । (कुराकानीमा आधारित)