बुटबल । देशभक्त जनगणतान्तिक मोर्चा–नेपालका केन्द्रीय सचिव परि संविधानको खारेजी र संसंदीय व्यवस्थाको भण्डाफोर गर्न मोर्चाले चुनावको क्रान्तिकारी उपयोग गरेको बताउनुभएको छ । उहाँले संसदीय व्यवस्थाबाट जनताले मुक्ति नपाउने दावी गर्नुभयो । देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाल, रुपन्देहीले शुक्रबार देबदहको खैरेनी बजारमा आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दै नेता थापाले सो विचार व्यक्त गर्नुभएको हो ।
जनयुद्धको नेतृत्व गरेका माकेका अध्यक्ष प्रचण्ड संसदीय भासमा डुबेको दावी गदैं सत्तामैं पुग्नका लागि दक्षिणपन्थी अवसरवादीसंँग आत्मसमर्पण गरेको आरोप लगाउनुभयो । उहाँले मुलुकमा बनेको दुई गठबन्धनलाई राष्ट्रलाई लुट्न र जनता ठग्न बनेको गठबन्धनको संज्ञा दिनुभयो । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य समेत रहनु भएका थापाले राष्ट्रियता रक्षाका लागि मुठ्ठी चुनाव चिन्हमा मतदान गरेर मोर्चाका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।
कार्यक्रममा रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मोजिव अली, २ का उम्मेदवार दलबहादुर छन्त्याल, प्रदेश सभा उम्मेदवार शंकर केसी, लुम्बिनी रिक्सा व्यवसायी संघ, बुटवलका महासचिव प्रेम थापामगरलगायतले बोल्नुभएको थियो । यसैबीच कार्यक्रममा देजमोका केन्द्रीय सचिव थापाले सम्बोधन गरिरहेको बेला माकेका कार्यकर्ताले पार्टीका अध्यक्ष प्रचण्डमाथि गरिएको आलोचनाको कुरा सुन्न नसकेर आक्रमणको प्रयास गरेका थिए । तर पछि देजमोका कार्यकर्ताले सम्झाएपछि माकेका कार्यकर्ता फर्केको नेता राजु भुजेलले जानकारी दिनुभयो ।