लहान । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको तर्फबाट समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्यका उम्मेदवार शम्भू साहलाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहाको गोलबजारबाट शुक्रबार दिउसो साहलाई गिरफ्तार गरी प्रहरीले गोलबजार प्रहरी चौकीमा राखेको क्रान्तिकारी माओवादीका २ नं. प्रदेश संयोजक कृष्णदेव सिंह दनुवारले जानकारी दिएका छन् । साहको पक्राउबारे प्रहरीसँग बुझ्दा माथिको आदेशमा पक्राउ गरिएको भने पनि कारण भने खुलाउन नमानेको नेता दनुवारले बताए । उनका अनुसार साहको गिरफ्तारीका बारेमा क्रान्तिकारी माओवादीका बरिष्ठ नेता तथा देजमोका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले समेत बुझ्न खोज्दा माथिको आदेशभन्दै साहलाई थुनामुक्त गर्न प्रहरीले मानेको छैन ।
जनयुद्धकालदेखि नै माओवादी आन्दोलनमा सक्रिय साह यसअघि देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको तर्फबाट गोलबजार नगरपालिकाको उपमेयर पदका उम्मेदवार बनेका थिए । उनलाई हाल मोर्चाले समानुपातिक तर्फ प्रतिनिधिसभाको सदस्यमा उम्मेदवार बनाएको छ ।