
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले सहिद तथा वेपत्ता योद्धाहरुको सपाना क्रान्तिबाट मात्र साकार हुने कुरा बताउनुभएको छ । दशवर्षे जनयुद्धको प्रक्रियामा ०६० साल मंसिर १४ गते राज्यद्वारा वेपत्त ा पारिएकी योद्धा रेणु दुलालको १४ औं स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव किरणले यस्तो बताउनु भएको हो । । “वेपत्ता रेणु दुलाल स्मरण कार्यक्रम”लाई सम्बोधन गर्दै महासचिव किरणले दशवर्षे जनयुद्ध जुन उद्देश्य राखेर गरिएको थियो, त्यो अझै पूरा नभएको भन्दै दशवर्षे जनयुद्धमा बलिदान गर्ने महान सहिदहरु, वेपत्ता योद्धाहरु र घाइतेयोद्धाहरुको सपना साकार पार्न फेरि पनि नयाँ जनवादी क्रान्ति गर्नुपर्ने कुरा बताउनु भयो ।
विगतमा जनयुद्धको नेतृत्व गरेका नेताहरु प्रचण्ड र वावुराम पटक पटक देशको प्रधानमन्त्री हुँदा, थुप्रै नेताहरु मन्त्री हुँदा र वेपत्ता छानविन आयोग बनाउँदा पनि वेपत्ता योद्धाहरुको स्थिति सार्वजनिक नहुनु विडम्बना भएको चर्चा गर्दै महासचिव किरणले प्रचण्ड बाबुरामहरुले वर्गकित्ता बदलेर प्रतिक्रियावादी कित्तामा गएकाले सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु एकजुट भएर क्रान्तिको प्रक्रियालाई अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
नयाँ जनवादी क्रान्तिको प्रक्रियामा अगाडि बढेर मात्र सहिद र वेपत्ता योद्धाहरुको वास्तविक सम्मान हुने बताउँदै महासचिव किरणले आफ्नो पार्टी नयाँ जनवादी क्रान्तिको तयारीमा अगाडि बढेको पनि उक्त कार्यक्रममा बताउनु भयो ।
वेपत्ता परिवार समाजले चन्द्रागिरी नगरपालिका तिनथानाको मुनाल क्लवमा आयोजना गरिएको उक्त कार्यक्रममा सहिद तथा वेपत्ता परिवार समाजका संयोजक दिनेश शर्मा‘सागर’, वेपत्ता परिवार समाजका अध्यक्ष एकराज भण्डारी, साहित्यकार डा. ऋषिराज बराल, एमालेका स्थानीय प्रतिनिधि तथा वडा अध्यक्ष उत्तम राउत, माओवादी केन्द्रका विनोद न्यौपाने, कांग्रेसका रामपवितम ठाकुर र देजमोका तिनथाना संयोजक गणेश खनाल लगायतले बोल्दै वेपत्ता योद्धाहरुको सपना साकार पार्न आमूल परिवर्तनको आन्दोलनलाई घनिभूत पार्नुपर्ने बताउनु भएको थियो ।
वेपत्ता योद्धा दुलालका बुवा चन्द्र दुलालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पूर्व कार्यालय सदस्य रामसिंह श्रीस, सल्लाहकार सचिव दीर्घराज पाण्डेलगायतका नेताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन वामपन्थी बुद्धिजीवी रामप्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी माओवादीका स्थानीय नेता रामकुमार कार्कीले वेपत्ता योद्धाहरुको स्मृति झल्कने केही संरचना निर्माणका लागि पहल गर्न स्थानीय जनप्रतिनिधिको ध्यानाकर्षण गराउनु भएको थियो ।