गुण्डा नाइके मनाङ्गे ‘स्वतन्त्र’को रुपमा एमाले उम्मेद्वार !

गुण्डा नाइके मनाङ्गे ‘स्वतन्त्र’को रुपमा एमाले उम्मेद्वार !

काठमाडौं । स्वतन्त्र उम्मेदवारको रुपमा मनाङ जिल्लाको प्रदेश (ख) मा उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङलाई समर्थन गर्दै एमाले उम्मेदवार खाण्डा लामा गुरुङले मनाङ प्रदेश (ख) बाट उम्मेदवारी फिर्ता लिएपछि ‘स्वतन्त्र’को रुपमा गुण्डा नाइके मनाङ्गेलाई एमालेले उम्मेदवार बनाएको राजनीतिक वृतमा चर्चा छ ।

मनाङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दीपक ढकालले एमाले उम्मेदवार लामाले उमेद्वारी फिर्ता लिएर मनाङ्गेलाई समर्थन गरेको पुष्टि गरे । उम्मेदवारी फिर्ताको समयभित्र खाण्डाले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगी उम्मेदवारी फिर्ताको निवेदन दिएका थिए । एमालेको जिल्ला पार्टीबाट सर्बसम्मत सिफारिस भएका मनाङेको विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उनको नाम काटेपनि घुमाउरो रुपमा मनाङ्गे नै एमालेको उम्मेदवार बन्न पुगेका छन् । एमाले उच्च स्रोतका अनुसार पार्टीकै योजनामा मनाङ्गेलाई स्वतन्त्र रुपमा उम्मेदवारी दिन लगाएको र सहमतिमा नै पार्टीको आधिकारिक उम्मद्वारलाई उम्मदेवारी फिर्ता गर्न लगाएको हो । मनाङ्गेले मनाङका नागरिकले आफूलाई जिताउने भन्दैे स्वतन्त्र उम्मेदवारी दिएका थिए । मनाङ्गेले पार्टीका आधिकारिक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि समर्थकले आफूलाई सघाउने र जित सुनिश्चित हुने दावी गरेका छन् । उनले भने, ‘मेरो पारिवारिक भोट यसै छ । पार्टीका सबै तहतप्काले भोट दिएपछि मेरो जित सुनिश्चित छ ।’

केही साताअघि मात्रै राप्रपा मनाङका सबै सदस्यसहित एमाले प्रवेश गरेका मनाङ्गेले राप्रपा, एमाले र परिवार सबैले सहयोग गर्ने भएकाले आफ्नो जितको विकल्प नभएको दाबी गरेका छन् । प्रदेश वा प्रतिनिधिसभामध्ये एकमा उम्मेदवार बनाउने सर्तमा एमाले प्रवेश गरेका मनाङ्गेलाई एमाले जिल्ला पार्टीले सर्वसम्मत सिफारिश गरेपनि गुण्डा नाइकेलाई उम्मेदवार बनाएको भनेर चौतर्फी आलोचना भएपछि घुमाउरो गरी उनलाई उम्मेदवार बनाउने निष्कर्षमा एमाले नेतृत्व पुगेको स्रोतले दावी ग¥यो ।