
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले एमाले र माकेहरु कम्युनिष्ट साइनबोर्ड झुण्ड्याएका पश्चगामी शक्ति भएको बताउनु भएको छ । “पुरानो, प्रतिगामी, प्रतिक्रियावादी संसदीय व्यवस्थालाई मान्ने र त्यही सत्तामोहमा चुर्लुम्म डुब्नेहरु कम्युनिष्ट हुन सक्दैनन् र तिनीहरु वाम पनि होइनन् ।” बिहीबार विहान ‘रेडियो नागरिक’सँग कुराकानी गर्दै महासचिव किरणले भन्नुभयो, “नेपालमा कम्युनिष्ट आन्दोलन अगाडि बढ्दै जाँदा विचलनहरु देखापर्दै गए । जनताको हक, हित, अधिकार, मूल्य र आदर्शको राजनीतिलाई छाडेर प्रतिक्रियावादी व्यवस्था र सत्ताप्रतिमोह देखाउने अवसरवादी प्रवृत्तिहरु देखा पर्दै आए । कम्युनिष्ट आन्दोलनभित्रको यो दक्षिणपन्थी अवसरवादी तथा पश्चगामी धाराका विरुद्ध क्रान्तिकारी धाराले संघर्ष अगाडि बढाउँदै आएको छ । अहिले त्यो क्रान्तिकारी धाराको नेतृत्व हाम्रो पार्टीले गर्दै आएको छ ।”
संसदीय व्यवस्थाका विरुद्ध दशवर्ष जनयुद्ध लडेका प्रचण्ड, बाबुराम, बादलहरु सैद्धान्तिक तथा वैचारिक रुपमा विचलित हुँदै घुमिफिरी पुरानै संसदीय व्यवस्थालाई स्वीकार गर्न पुगेको सन्दर्भ उल्लेख गर्दै महासचिव किरणले देशमा राजनीतिक क्रान्ति नभएकोले आफ्नो पार्टी नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको बताउनु भयो ।
प्रचण्ड, किरण, बादलतर्फ इङ्गित गर्दै महासचिव किरणले भन्नुभयो, “उहाँहरुमा निराशा देखियो । हामी क्रान्तिकारी आशावादले समृद्ध छौं । व्यवस्था, सत्ता र संविधान पुरानै छ । जनताका समस्याहरु ज्युँका त्युँ छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु अझ जटिल बन्दै गएका छन् । त्यसको समाधानका लागि नेपालमा नयाँ जनवादी क्रान्ति हुनै पर्छ, गर्नैपर्छ । अरु कुनै विकल्प छैन ।”
“पार्टीको रहर र इच्छाले मात्रै क्रान्ति हुँदैन । क्रान्ति पार्टीका नेता कार्यकर्ताहरुले मात्र गर्ने होइन । देश र जनताको सहभागितामा गरिने हो । त्यसका लागि पार्टीलाई जनतासँग घनिष्ट रुपले जोडेर लैजानुपर्छ । जनतासँग नजोडिएको पार्टीको कुनै अर्थ छैन ।” महासचिव किरणले भन्नुभयो, “पार्टीलाई जनतासँग जोड्न नै हाम्रो पार्टीले देशभक्त जनगणतान्त्रिक मोर्चामार्फत् स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने नीति लिएका हौं ।”
कम्युनिष्ट तथा वाम शक्तिलाई विश्वास गर्ने र त्यसका पक्षधर जनता अत्यधिक भएकोले कम्युनिष्ट साइनबोर्ड झुण्ड्याएर एमाले–माकेहरुले जनतामा भ्रमको खेती गरिरहेको चर्चा गर्दै हासचिव किरणले त्यस्ता भ्रम चिर्न, प्रतिक्रियावादी व्यवस्था, सत्ता र संविधानको भण्डाफोर गर्दै जनतामा संगठन विस्तारको आधार तयार पार्न निर्वाचन उपयोगको नीति लिएको दावी गर्नुभयो ।
आर्थिक समृद्धिको एकहोरो रटान लगाइरहेका संसदवादी पार्टी र नेताहरुलाई पनि कडा जवाफ दिंदै महासचिव किरणले भन्नुभयो, “मुलुकको आर्थिक समृद्धिको लागि राजनीतिक क्रान्ति पूरा हुन जरुरी छ । त्यो अहिले बाँकी नै छ । त्यही कारण अहिले प्राकृतिक स्रोतसाधन र मानवीय स्रोधसाधनलाई देश र जनताको हितमामा प्रयोग गर्न नसकिएको हो । आर्थिक समृद्धिका लागि भारतसँग गरिएका सन् ५० लगायत सबै असमान सन्धि सम्झौताको खारेजी गरिनु पर्दछ । विदेशी लगानीमा मात्रै जोड दिएर र सम्पूर्ण जलस्रोत भारतलाई जिम्मा लगाएर देशको आर्थिक समृद्धि हुन सक्दैन । बरु पराधिनता बढेर जान्छ । अहिले त्यही भइरहेको छ ।”
नेता तथा शासकहरुमा विकसित भएर गएको राष्ट्रिय लम्पसारवादी, आत्मसमर्पणवादी प्रवृत्ति हावी रहेसम्म मुलुकको आर्थिक समृद्धि सम्भव नभएको पनि महासचिवले दावी गर्नुभएको छ । र, त्यसका लागि नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको दोहो¥याउनु भयो ।





























