एक अर्वको लागतमा पोखरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने

एक अर्वको लागतमा पोखरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने

काठमाडौं, ८ । एक अर्व रुपैयाँको लागतमा पोखरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने भएको छ । उक्त रंगशाला निर्माणको लागि राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार ग्लोवल टेण्डर आह्वान गरेको छ । १० महिनाभित्रै काम सक्ने लक्ष्यका साथ परिषद्ले टेण्डर आह्वान गरेको हो ।

परिषद्ले १३ औं सागलाई मध्यनजर गर्दै पोखरा रंगशाला स्तरोन्नतिको तयारी थालेको हो । रंगशालामा ट्रयाक एण्ड फिल्ड, शौचालय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रुम, कन्फरेन्स कक्ष निर्माण हुनेछ । यो सँगै फुटबल मैदान फिफाले तोकेको मापदण्ड अनुसार बन्नेछ ।

रंगशालामा २० हजार दर्शक अट्ने क्षमताको हुनुपर्ने प्रकाशित सूचनामा उल्लेख छ । रंगशालामा आधुनिक फ्लड लाइटसहित स्कोर वोर्ड, डिस्प्ले वोर्डसमेत राखिने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । उनका अनुसार मंसिर २ गतेसम्म टेण्डर खरिदका लागि अन्तिम समय दिएको छ ।

रंगशाला निर्माणका लागि १ अर्व रुपैयाँ लगानी हुनेछ । पौडेलले भने, ‘स्टेडियम तयार भए सन् २०१९ को मार्चमा नेपालमा आयोजना हुने दक्षिण एशियाली खेलकुदका धेरै खेलहरु पोखरामा हुनेछ । हामी त्यसैको टार्गेट पूरा गर्ने अपेक्षामा छौं । स्टेडियम पोखराको खेल विकासमा कोशेढुंगा सावित हुनेछ ।’

पूर्वाधार निर्माणले गति नलिँदा पोखराले खेलका अवसर गुमाउने गरेको छ । भएका पूर्वाधारको पनि उचित स्यहारसम्भार हुन सकेको छैन ।

४ सय १७ रोपनी क्षेत्रफलमा फैलिएको पोखरा रंगशालामा २०३९ र ४० सालमा फुटबल मैदान र प्यारापिट बनेको थियो तर, त्यसपछि अहिलेसम्म कुनै पनि पूर्वाधार निर्माण गरिएको छैन ।

करिब ३४ वर्षपछि अहिले एउटा बहुउद्देश्यीय भवन बनिरहेको छ । त्यसबाहेक बनाउने भनिएका अन्य पूर्वाधारले गति लिएका छैन । सबै कागजी प्रक्रियामै सीमित रहेका छन् ।

पोखरामा २०३९ र ४० सालमा तयार भएको फुटबल मैदान र प्यारापिट अहिले निकै पुरानो र जीर्ण बनेको छ । भिआइपी प्यारापिट त झनै नाजुक अवस्थामा छ ।

भूकम्पले चिरा पारेको भिआइपी प्यारापिट मर्मतको पर्खाइमा छ । भूकम्पपछि कमजोर प्यारापिटमा दर्शक राखेर दुई वर्षसम्म फुटबलका ठूला प्रतियोगिता सम्पन्न भइसकेका छन् । तर भौतिक संरचनाको कुनै मर्मत सम्भारतर्फ सम्वन्धित निकायको ध्यान नै पुगेको छैन ।

हालको प्यारापिटमा १८ सय र भिआइपी प्यारापिटमा ५ सय दर्शक बस्ने क्षमता छ । पोखरामा फुटबलका राष्ट्रियस्तरका प्रतियोगिता हुँदा प्यारापिटमा नअटेपछि दर्शक भुइँमा बसेर फुटबल हेर्न बाध्य छन् ।