रोल्पामा वर्षमान पुनलाई कुमार शाहको चुनौती

रोल्पामा वर्षमान पुनलाई कुमार शाहको चुनौती

रोल्पा । नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सचिवालय सदस्य कुमार शाहले प्रतिनिधिसभा निर्वाचनमा रोल्पामा पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’लाई चुनौती दिएका छन् । शाहले आइतबार प्रतिनिधिसभाका लागि आफ्नो मनोनयन दर्ता गराएका छन् । पत्रकार, लेखक तथा अनुवादकको रुपमा समेत स्थापित शाह रोल्पाबाटै शिक्षक पेशा छाडेर माओवादी जनयुद्धमा होमिएका हुन् । राल्पाका जनताबीचमा कुमार शाह स्थापित र प्रिय नाम हो ।

नेपाली कांग्रेसका जिल्ला सभापति अमरसिंह पुनले समेत त्यही पदमा उम्मेदवारी दिएको भएपनि एउटै पृष्ठभूमिबाट आएका हुनाले शाह वर्षमान पुनका लागि चुनौती बनेको माओवादी केन्द्रवृतमा छलफल चल्ने गरेको छ । जेल नेल र यातनाले थिलथिलो शरीर, चरम आर्थिक अभावका बीच उच्च मनोवल र राजनीतिक नैतिक तागतसहित चुनावी मैदानमा उत्रिएका शाह नै जनयुद्धकालीन माओवादीको सच्चा विरासत बोकेको नेताको रुपमा रोल्पाली जनताले हेरेको एक स्थानीय बुद्धिजीविले विश्लेषण गरे । वर्षमान पुनहरुसँगै राजनीतिमा होमिएपनि प्रचण्डका गलत प्रवृत्तिहरुको आलोचक भएका कारण शाहलाई पटक पटक पछाडि पारिएको पनि ती बुद्धिजीविले दावी गरे । उनले भने, “कुमार शाह पनि बर्षमान पुनकै हाराहारीका नेता हुन् ।”

पटक पटक सत्ता र शक्तिको वरिपरि गोलचक्कर मारी नवधनाढ्य वर्गमा रुपान्तरण भएको, वर्गीय मुद्दाहरु परित्याग गरेको र राष्ट्रिय रुपमा आत्मसमर्पण गरेको र संसदीय फोहरी आहालमा चुर्लम्म डुबेको नेताको परिचय बनाएका बर्षमान पुन‘अनन्त’प्रति रोल्पाली जनताको मन चिढिएको नाम नबताउने सर्तमा माओवादी केन्द्रकै एक नेताले बताए । रोल्पामा विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताहरुको पनि उपस्थिति रहकोले ती जनताले पनि तुलनात्मक रुपमा कुमार शाहलाई मत हाल्ने पनि ती नेताको दावी थियो ।

तत्कालीन माओवादी जनयुद्धको उद्गमथलो मानिने रोल्पामा वर्षमान ‘माओवाद’ र ‘जनयुद्ध’ शब्द समेत परित्याग गरेर कथित वामगठबन्धनको तर्फबाट उम्मेदवार बन्न पुगेका छन् । हजारौं रोल्पालीहरुको बलिदानको जगमा निर्माण भएको वर्षमानको वर्तमान वैभव र उनले अँगालेको राजनीतिले उनको आफ्नै इतिहासमाथि भद्दा मजाक गरेको टिप्पणी गर्छन् उनकै समकालीन एक माओवादी नेता, जो अहिले विप्लव नेतृत्वको नेकपामा छन् ।

साम, दाम, दण्ड, भेदको प्रयोग गरेर निर्वाचन जित्ने रणनीतिमा रहेका वर्षमान पुनले कुमार शाहको उम्मेदवारीबाट असहज महसुस गरेको उनी निकट स्रोतले बतायो ।

त्यसैगरी प्रदेशसभाका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता कुलप्रसाद केसी निर्वाचन क्षेत्र क र ख बाट उम्मेदवार बनेका दीपेन्द्र पुनलाई देजमोका उम्मेदवारहरु टिकामन बुढा र मोतीराम बुढाले चुनौती दिएका छन् । उनीहरुले दावी गरेका छन्, “जनयुद्धको सच्चा विरासत बोकेका उत्तराधिकारी हामी हौं । माकेका नेताहरु नक्कली माओवादी हुन्, उनीहरुले हिजोका सबै एजेण्डाहरु छाडिसकेका छन् । र, उनीहरु प्रतिक्रियावादी कित्तामा पुगेका छन् ।” “रोल्पाली जनताको इतिहास भनेको क्रान्तिको इतिहास हो । क्रान्तिकारी पार्टी, विचार र नेतृत्व नै उनीहरुको पहिलो रोजाइमा पर्ने छ ।” उनीहरुले दावी गरे, “‘मुठ्ठी’ चुनाव चिन्हमा मतदान गरेर रोल्पाली जनताले आफ्नै इतिहासप्रति न्याय गर्नेछन् ।”

वर्तमान सत्ता, संसदीय व्यवस्था र संविधानको भण्डाफोर गर्ने, पार्टी तथा मोर्चाको संगठन विस्तार तथा नयाँ जनवादी क्रान्तिको तयारीका लागि आधार तयार पार्ने, प्रतिक्रिवादी, संशोधनवादी तथा अवसरवादीहरुले जनतामा फैलाएको भ्रम चिर्ने उद्देश्य राखेर देजमोले निर्वाचनको क्रान्तिकारी उपायेगको नीति लिएको देजमोका एक केन्द्रीय नेताले बताए । त्यही नीति अनुरुप नेता शाहले उम्मेदवारी दिएका हुन् ।